s

परदेशको सिप आफ्नै माटोमा

काखकी बिरामी छोरीलाई २ सय रुपैयाँको औषधि किन्न नसक्दा एउटा बाबुले अनुभूति गर्ने अपमानबोध होस् वा गाउँघरमा सधैं मजदुरी गरेर हिँड्दा पाइने सास्ती; यस्ता पीडाबाट मुक्ति पाउने माध्यम भएको छ— वैदेशिक रोजगारी।
मेहनतपूर्वक काम गरे थोरै समयमा राम्रो आर्थिक हैसियत बनाउन सकिन्छ भन्ने प्रमाण दिने माध्यम पनि भएको छ यो । झापामा केही यस्ता पात्र भेटिए, जसलाई वैदेशिक रोजगारीले आर्थिक भरथेगमात्रै दिएन, जीवनप्रतिको विश्वास बलियो बनाइदियो । एक हिसाबले उनीहरूको आर्थिक अवस्था नै कायापलट भयो ।
 
कुनै बेला गाउँघरमा कसैले घरको काम लगाउनुप¥यो भने सबैभन्दा पहिले झापा बाहुनडाँगी–३ दोकानडाँडाका ४८ वर्षीय देवनारायण दनुवारलाई सम्झिन्थे । दिनभरि काम गरेबापत आउने हाजिराले उनको परिवार चल्थ्यो । रूख ढाल्ने, दाउरा चिर्ने, खेतका अन्य काम गर्ने सबै गर्नुपथ्र्यो । घामपानी, गर्मीजाडो हरबखत अर्काको काममा नजोतिए परिवारको छाक टार्ने कुरा नसोचे पनि हुन्थ्यो ।
 
गाउँले र छिमेकीले सम्झिन त अहिले पनि उनलाई त्यसैगरी सम्झिन्छन् । तर, १० वर्षअघिसम्म मजदुरीमा लगाउन सम्झिने छिमेकीले यति बेला उनलाई सरसापटी माग्नका लागि सम्झिन्छन् । भरअभरमा सहयोग गर्ने बानी भएका उनलाई सम्झेर आउने छिमेकी हम्मेसी रित्तो हात फर्कंदैनन् । 'आफूसँग १०÷२० हजार रकम नटुटाई राख्नैपर्छ,' देवनरायण भन्छन्, 'छरछिमेकी सरसापटका लागि आउँछन् । सकेको सहयोग गरेरै पठाउँछु ।'
 
१० वर्षअघिसम्म उनले ज–जसका घरमा मजदुरी गरे आज उनीहरूलाई नै सहयोग गर्ने आर्थिक हैसियत उनले कसरी बनाए त ?
 
'विदेशमा गएर काम गरेँ, त्यहाँ कमाएको पैसाले ट्र्याक्टर किनेको छु,' उनले सुनाए 'त्यहीँबाट अहिलेको अवस्था सम्भव भएको हो ।' २०६२ सालमा मलेसिया जानुअघिसम्म उनले अर्काको राँगागाडी खेपे । मासिक ९ सय रुपैयाँमा हलिया पनि बसे । मजदुरीले आर्जेको त्यही थोरै रकमले परिवार चलाउन सधैं टुमटुम हुन्थ्यो । शैक्षिक र आर्थिक दुवै रूपमा पिछडिएको समुदायका देवनारायणलाई घर चलाउन पनि अग्रिम ऋण चाहिने अवस्था थियो ।
 
मलेसियामा ९ वर्ष मेसिनरी हेल्परका रूपमा काम गरेको पैसा जोगाएरै सुरुमा पक्की घर बनाएका उनले त्यसपछि ट्र्याक्टर किन्ने निश्चय गरे । 'सबैभन्दा पहिला बस्नलाई छाना त चाहियो,' उनले भने, 'त्यसपछि परिवारको नियमित आम्दानीको स्रोतका रूपमा ट्र्याक्टर किनेँ ।' पत्नी, २ छोरा, २ छोरीसहित ६ जनाको परिवारमा एक जना छोरीको बिहे भइसकेको छ । जेठा छोराले ट्र्याक्टरको काममा बाबुलाई सघाइरहेका छन् । कान्छा रोजगारीका लागि मलेसिया छन् । 'सामान ढुवानी गर्ने, जोत्ने कामले ट्र्याटरलाई भ्याइनभ्याई छ,' देवनारायण भन्छन्, 'कम्तीमा ५०÷६० हजार महिनाको आम्दानी कतै जाँदैन ।'
 
कमजोर आर्थिक हैसियत र शैक्षिक तथा सामाजिक अवसरबाट वञ्चितीकरणमा परेका सीमान्त समुदायका युवाहरूले वैदेशिक रोजगारीको आडमा बलियो आर्थिक हैसियत बनाएका छन् । केही वर्षअघिसम्म २ सय रुपैयाँको औषधि पनि बाँकी नपाएर अपमान खेपेकाहरूले ४÷५ वर्षभित्रै लोभलाग्दो प्रगति गरेका छन् ।
 
झापा ज्यामिरगढी–२ होपना बस्तीका बब्लु पाहान एक वर्षकी छोरी बिरामी भएपछि उपचारका लागि काँकडभिट्टा गएका थिए । गोजीमा भएको अलिअलि पैसा डाक्टरको फि र रगत, पिसाबको जाँचमै सकियो । औषधि किन्न पैसा पुगेन । 'अहिले जाँच फि र ल्याब खर्च तिर्छु, औषधिको पैसा पछि ल्याएर तिर्छु भन्दा पसले मानेनन्,' त्यति बेला बिरामी छोरी च्यापेर बसेकी उनकी पत्नीले आँखाबाट आँसु खसाएको उनी कहिल्यै भुल्दैनन्, 'जसोतसो पैसा जुटाएर छोरीको उपचार गरेँ, तर ज्यादै नराम्रो लागिरह्यो ।' त्यसपछि घडेरी बन्धकी राखेर उनी बिदेसिए । अहिले उनको परिवार खुसी छ ।
 
लगातार ६ वर्ष कतार बसेर फर्केका उनले यहीबीचमा पुरानो झुप्रो भत्काएर पक्की घर बनाए । छोराछोरीलाई निजी स्कुलमा पढाउने हैसियत बनाएका छन् । 'अब असोज २३ गते फेरि जाँदै छु,' २ महिने बिदामा आएका उनले भने, 'पहिले पैसा नहुँदा मैले ठाउँठाउँमा अपमान सहेको छु । त्यही ईखले पनि मलाई गरिखान मद्दत गरेको छ ।' अब केही वर्ष बसेर यतै आई व्यापार गर्ने उनको धोको छ । मासिक आम्दानी हुने ५० हजारभन्दा बढी रकमले सानो परिवारको राम्रो भरथेग भइरहेको छ, उनलाई । 'अहिले नानीहरूको फि तिर्न र दबाई गर्न अरूसँग माग्नु पर्दैन,' उनले आत्मविश्वासपूर्वक भने, 'पहिला चिया बगानमा मजदुरी गर्ने मेरी श्रीमतीले अहिले मजदुरी गर्नुपरेको छैन । नानीहरूको हेरचाह गर्न पाएकी छन् ।'
 
परदेशको सिको
 
वैदेशिक रोजगारीको सकारात्मक चर्चा हुँदा रेमिट्यान्सको मात्रै र नकारात्मक चर्चा हुँदा सयौं विषय सरर आउँछन् । परिवार बिथोलिएकादेखि जिउज्यानकै असुरक्षाको कुरा पनि चर्चामा आउँछ । वैदेशिक रोजगारीबारे सकारात्मक कम तर नकारात्मक धेरै विषयबारे ठूला बहस पनि समाजमा प्रशस्त भएका छन् । यसका सकारात्मक पाटो अरू पनि छन्, जसले नेपाली समाजलाई समृद्ध बनाउन परोक्ष रूपमै भए पनि सघाइरहेको छ ।
 
जस्तो कि श्रमको महŒव र मेहनतमा विश्वासी हुन पनि नेपाली तन्नेरीलाई विदेशी भूमिले सिकाइरहेको छ । गाउँघरमा सानोतिनो काममा आँखा नलागेर विदेश हानिएका र गाउँघरमा गरिखाँदैन भन्ने छवि बनाएका धेरै तन्नेरी छोटो समयको विदेश बसाइपछि बदलिएर फर्केका मात्रै छैनन्, उतैको प्रेरणाले उद्यमी पनि बनेका छन् ।
 
झापा दुहागढीका ३५ वर्षीय पुष्कल तामाङ त्यस्तै एक प्रतिनिधि हुन्, जसले विदेशबाट फर्केपछि मात्रै आफ्नो खेतबारीको महŒव बुझे । कुनै बेला खेतीपाती राम्ररी गर्ने आमाबाबुको आग्रह लत्याएर उनले ठेक्कापट्टाको बाटो रोजे । 'घरमा झगडा गरेरै भए पनि बैंकमा जमिन राखेर पैसा निकालेँ अनि ठेक्कामा पैसा हालेँ,' उनले ७ वर्षअघिको घटना सम्झिए, 'तर, पैसा डुब्यो । तैपनि खेतीमा मन गएन । अनि व्यापारमा ऋण गरेर पैसा हालँे, त्यहाँ पनि डुब्यो ।' सबैतिर असफल हुँदा आफू झन्डै डिप्रेसनमा गएको उनको भोगाइ छ । केही नलागेपछि खाडीतिर गएका उनी २ वर्ष मलेसिया बसेर फर्किए । 'त्यहाँ गएर पनि गतिलो काम पाइएन । खेतीमै मजदुरी गरियो,' उनी सुनाउँछन् । छुट्टीमा घर आउँदा नै उनले सोचिसकेका रहेछन्— त्यहाँ गर्ने मेहनत आफ्नै खेतमा गर्ने । ३÷४ वर्षमै उनको परिवारको आर्थिक हैसियत फेरिएको छ । यत्ति कुरा थाहा पाउन उनलाई मलेसियामा २ वर्ष घोटिनुप¥यो ।'
 
मेचीनगर–७ का हेद्लु मेचे एक त्यस्तै पात्र हुन्, जसले खाडीको बसाइबाट पैसामात्रै चिनेनन्, त्यसको आर्जनका लागि खर्चिनुपर्ने श्रमको महŒव पनि बुझे । ७ वर्षअघि मिठो सपना बुनेर दुबई हानिएका उनी अहिले फर्केर आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् । 'यत्तिको मेहेनती हुन र कामको महŒव मलाई विदेशले सिकायो,' हेद्लु भन्छन् ।
 
Published on: 31 October 2015 | Nagarik
 

Back to list

;