s

‘पेन्सन पाइएन’

प्रकाश अधिकारी
 
भारतले भूपू गोर्खा सेनाको पेन्सनसमेत रोकेको छ। बर्सेनि चैत र असोजमा क्याम्पमार्फत् पेन्सन वितरण गरिन्थ्यो। यसपल्ट तराईमधेसमा जारी आन्दोलनले असुरक्षा बढेको कारण देखाउँदै भारतले आफ्ना पूर्वसैनिकलाई पेन्सन रोकेको हो। 
 
पेन्सन वितरण नहुँदा भूपू भारतीय सैनिक र तिनका परिवारमा निराशा छाएको छ। सल्लेरीकी सरूपा सिंहले पेन्सन पर्खंदापर्खंदै दसैं सकिएको बताइन्। उनले पतिको निधनपछि आधा पेन्सन पाउँदै आएकी थिइन्। सदरमुकाम निवासी अवकाशप्राप्त भारतीय सैनिक कर्णबहादुर चन्दले पेन्सन नपाउँदा आफूहरूको दसैं खल्लो पीडा सुनाए। ‘पेन्सनकै भरमा चाडपर्व मनाउने र वर्षभरिको ऋण तिर्नुपर्ने हाम्रो बाध्यता हुन्छ। पेन्सन पाइएला भनेको पाइएन,’ कर्णबहादुरले भने, तिहारअघि पनि पाउने छाँट छैन। गुजारा चलाउन समस्या हुनेभो।’ सरूपा र कर्णबहादुरजस्ता सयौं परिवार पेन्सनकै पर्खाइमा गुजारा चलाइरहेका छन्। 
 
सन् १९४७ अघि बेलायती साम्राज्य, १९६२ मा चीन र १९७१ ताका पाकिस्तानसँगको युद्धमा भारतीय सेनाका रूपमा सयौं नेपाली लडे। पाकिस्तानसँग सीमा विवाद रहेको कास्मिरको कारगिल क्षेत्रमा अहिले पनि भारतीय सेनाको गोर्खा रेजिमेन्ट अग्रमोर्चामा लड्दै आएका छन्। भारतका लागि ठूलो योगदान दिएकाहरूले यतिबेला समयमै पेन्सन नपाउँदा आफूहरूको चित्त दुखेको चन्दले बताए। दैलेखकै नाउलीकी पम्फा सिंहको पीडा पनि कम छैन।
 
उनका पतिले १७ वर्ष भारतीय सेनामा बिताए। अनि, उतैबाट बेपत्ता भएको ठीक १४ पूरा भयो। ‘बल्लतल्ल आधा पेन्सन पाउन थालेकी थिएँ। त्यही पनि रोकियो। ऋण तिर्नै समस्या भैसक्यो,’ पम्फाले भनिन्, ‘अब कहिले दिन्छ भन्ने खबर आएको छैन। हिउँदमा पनि पाइएलाजस्तो छैन।’ झन्डै २० करोड रूपैयाँको कारोबार हुने व्यवसायीको अनुमान छ। यसपल्ट पेन्सन वितरण नहुँदा व्यापारमा सिधा असर असर परेको सुनचाँदी व्यवसायी कुलबहादुर विकले बताए। ‘यस वर्ष जताबाट पनि व्यापार ओरालो लागेको छ,’ विकले भने।
 
भारतीय दूतावासले सुर्खेत वीरेन्द्रनगरस्थित क्याम्पबाट पेन्सन वितरण गर्छ। पेन्सन पाउनेमध्ये अधिकांश दैलेखका पूर्वसैनिक छन्। 
  
Published on: 27 October 2015 | Kantipur
 

Back to list

;