s

पहिलो विश्वयुद्ध हाम्रा लागि के थियो ?

झलक सुवेदी

प्रथम विश्वयुद्धको सय वर्ष पूरा भएको छ । सन् १९१४ को २८ जुलाईमा सुरु भएको यो युद्ध १९१८ को ११ नोभेम्बरमा अन्त्य भएको थियो । नेपाल कुनै पक्षमा प्रत्यक्ष नलागे पनि नेपाली युवाहरूले बि्रटिस सेनाका तर्फबाट यो युद्ध लडेका थिए । त्यो युद्ध र त्यसको नेपाली समाजमा परेका तत्कालीन असरहरू बहुआयामिक थिए ।

पछिल्लो कालमा दोस्रो विश्वयुद्धको बढी उल्लेख हुने गरे पनि पहिलो विश्वयुद्ध संसारलाई बदल्ने ठूलो घटना थियो । दुई सय वर्षअघिदेखि पश्चिमले विकास गरेको व्यापारिक पुँजीवादसँगै बजारको खोजी तीव्र भयो । आफ्ना सामान बेच्न बजार खोज्ने र त्यहाँका कच्चा पदार्थ र प्राकृतिक सम्पदा सस्तोमा प्रयोग गर्ने होडले गर्दा शक्तिशाली देशहरूले आफ्नो सेना र उपनिवेश बढाउन थाले । सन् १८५० मा औद्योगिक क्रान्ति सम्पन्न भएपछि मानिसले गर्ने धेरै काम मेसिनले गर्न थाले । मेसिनले उत्पादन थालेपछि सस्तोमा धेरै सामग्रीको उत्पादन हुन थाल्यो । यसको परिणामस्वरूप पुँजीवादी देशहरूका बीच बजार कब्जाको युद्ध सुरु भयो । यसको चरमका रूपमा पहिलो विश्वयुद्ध भएको हो ।

यो युद्धका केही ठोस परिणामहरू देखिए । जस्तो युद्धपछिको भर्सेलिजको सन्धिले जर्मनीलाई दण्डित गर्‍यो । विजेता देशहरूले भूभाग बाँडफाँड गरेजस्तो भयो । जर्मनीले केही भूभाग गुमायो । यसभन्दा बढी उनीहरूले अपमानित महसुस गरे । विश्वयुद्धले पूरै युरोपको नक्सा बदलिदियो । यो युद्धसम्म संसारको केन्द्र युरोप नै थियो । अझै बेलायत महाशक्ति थियो । युद्धपछि जर्मनीमा विकसित भएको अराजकता र बढेको महँगीले हिटलरलाई जन्मायो । हिटलर वैधानिक रूपमा निर्वाचित भएर आएका थिए । उनले जर्मनहरूमा अपमानको बदला लिन उकासे । सन् १९१८ मा सकिएको पहिलो विश्वयुद्धले नै सन् १९३९ मा दोस्रो विश्वयुद्ध जन्मायो ।

पहिलो विश्वयुद्ध नभएको भए संसारको नक्सा अर्कै हुन्थ्यो होला । स्वतन्त्रताका लागि लडेका देशहरू स्वतन्त्र त हुन्थे होला तर नक्सा अर्कै हुन सक्थ्यो । रुसमा लेनिनको अक्टोबर क्रान्ति सफल हुन सक्ने थिएन होला । किनभने, विश्वयुद्धले कमजोर नबनाएको भए जारले त्यो क्रान्तिलाई दबाइदिन सक्थे । युद्धमा आफ्नो स्रोत र शक्ति गुमाएकाले कम्युनिस्टहरूले उनलाई जित्न सके । रुसमा अक्टोबर क्रान्ति नभएको भए सायद संसारमा यसरी कम्युनिस्ट विचार फैलिन्थेन होला । सोभियत संघ नभएको भए चीनमा माओले क्रान्ति गर्न सक्ने थिएनन् । माओले नगरेको भए नेपालमा पनि माओवादी र मालेको सशस्त्र आन्दोलन हुने थिएन कि ! विचार कुनै न कुनै रूपमा आइपुग्थ्यो वा रहन्थ्यो होला तर यसै रूपमा हुन्थेन होला ।

रूप फेरिएको युद्ध

यो विश्वयुद्धमा नेपाललाई जोड्नअघि म अहिलेको अवस्थाको अलिकति तुलना गर्न चाहन्छु । अहिलेको विश्वव्यापी अर्थतन्त्रको अवस्था हेर्दा पहिलो विश्वयुद्धको जस्तो स्थिति अहिले पनि विद्यमान छ । जस्तो त्यो बेला बेलायतजस्तो अहिले अमेरिका महाशक्ति छ । तर, यसलाई टक्कर दिने गरी चीनले केही गर्‍यो भने अमेरिका त्यसको प्रतिस्पर्धामा उत्रिइहाल्नुपर्ने छ । कुनै ग्रहमा चीनले यान पठायो भने अमेरिकाले पनि पठाउनु पर्‍यो । चीनले कुनै नयाँ प्रविधि ल्यायो भने अमेरिकाले पनि ल्याउनु पर्‍यो । यसमै उसको स्रोत साधन खर्च हुन्छ ।

दोस्रो कुरा पहिला सोझै लडाइँ हुन्थ्यो, सैनिकहरू बन्दुक लिएर लड्थे । अहिले लडाइँहरू अरू स्वरूपमा हुन्छन् । यसको उदाहरणका रूपमा अफ्रिकामा चीनले बढाएको उपस्थितिलाई लिन सकिन्छ । अफ्रिकामा पूर्वाधार विकास, बाटो, कलेज र प्राकृतिक सम्पदामा चीनले ठूलो लगानी गरेको छ । नाइजेरियाको ग्यासमा चीनले लगानी गरेको छ । तान्जानियामा हजारौं एकड जमिन लिएर चिनियाँहरूले खेती गरिरहेका छन् । पोहोर चीनले बेइजिङमा सबैजसो अफ्रिकी देशका नेतालाई बोलाएर सम्मेलन गर्‍यो । यसको काउन्टरमा अमेरिका अघि सर्न थालेको छ । केहीअघि अमेरिकाले पनि अफ्रिकी नेता बोलाएर यस्तै सम्मेलन गर्‍यो ।

अहिले दक्षिण अमेरिकामा पनि चीन पुगिरहेको छ । मेक्सिकोसँग हालै उसले ठूलो लगानीको सहमति गरेको छ । यसले अमेरिकालाई अझै चनाखो बनाएको छ । यता, अमेरिकाको उपस्थिति एसिया प्यासिफिकमा बढी छ । जापान, फिलिपिन्स, अस्टे्रलियाजस्ता ठाउँमा उसका फौज छन् । ठूलो संख्यामा अमेरिकी सैनिक संसारभर खटिएका छन् । जहाँ फौज छ त्यहाँ एक किसिमको युद्ध हुन्छ । युद्ध हुन गोलाबारी नै हुनु पर्दैन । हतियारबन्द सैनिकले ठूला आँखाले हेर्दा पनि त्यसको संकेत हुन्छ । अमेरिकाले यसरी चीनलाई हेरिरहेको छ ।

हालै चीनको अगुवाइमा १ खर्ब डलर पुँजी भएको इन्फाइन्स्ट्रचर डेभलपमेन्ट बैंक खोलियो । यसमा पनि राजनीति छ । यसअघि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुई ठूला वित्तीय संस्था थिए । विश्व बैंकमा अमेरिकी वर्चस्व छ । यसको कार्यकारी प्रमुख अमेरिकी नै हुन्छन् भने मुद्रा कोषको प्रमुख युरोपेली हुने चलन छ । यी दुवैलाई अमेरिकी बजारशास्त्र र बजार विस्तारका 'टुल्स' मानिन्छन् । अहिलेको विश्वव्यापी अर्थतन्त्रका यी खेलाडी हुन् । यसलाई टक्कर दिन चीनले रुस, भारत, ब्राजिल र दक्षिण अफ्रिकाजस्ता उदीयमान अर्थतन्त्रलाई साथ लिएर अघि बढिरहेको देखिन्छ । यसैले पहिलेजस्तो विश्वयुद्ध नभए पनि एक किसिमको प्रतिद्वन्द्विता र सुसुप्त युद्ध विश्वमा अहिले पनि कायम छ ।

विश्वयुद्धमा नेपाल

पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगले जोडिन्छ । एउटा बि्रटिस गोर्खा सैनिकका माध्यमबाट अर्को नेपाली राज्यकै संलग्नताबाट । आउने सन् २०१५ को अपि्रल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुग्छ । यसको अर्थ प्रथम विश्वयुद्ध हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए ।

प्रथम विश्वयुद्धअघि भएका चीन, इजिप्ट, क्रिमिया र अफगानिस्तानका लडाइँमा नेपालीले लडेका थिए । अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए । अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा बलभद्र कुँवर मारिएका थिए । विश्वयुद्ध हुनुभन्दा केहीअघि बेलायतले आफ्नो सेनामा गोर्खा रेजिमेन्ट थपेको थियो । त्यतिबेला अनुमानित २ लाख नेपाली युवाहरू बेलायती सेनामा थिए भन्ने मानिन्छ । यो संख्या भनेको तत्कालीन पहाडी जनसंख्याको २० प्रतिशत हो । त्यसबेला नेपालको जनसंख्या नै ५४ लाख थियो ।

यो युद्धमा करिब ३० हजार नेपाली मारिएको अनुमान गरिन्छ । गेसोको अनुमान भने ६० हजारको छ । कति मानिसहरू युद्धपछि नेपाल फर्किएनन् । पहिलो र दोस्रो विश्वयुद्धको बीचमा नेपालको जनसंख्या घटेको तथ्यांकले देखाउँछ ।

यसबाहेक विश्वयुद्धका बेला भारतमा रहेको बेलायत सरकारको सेवामा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १६ हजार नेपाली सेना भारत पठाएका थिए । यिनले त्यहाँका रेजिमेन्टमा सुरक्षा दिन्थे र त्यहाँ पहिलेदेखि भएका सैनिक युद्धमा जान्थे । त्यो बेला नेपाल सरकारले केही सय थान राइफल पनि बेलायत सरकारलाई सहयोगमा दिएको थियो । तत्कालीन कम्पनी रुपैयाँ र नेपाली महेन्द्र मल्ली गरेर करिब १ करोड रुपैयाँ पनि राणा सरकारले बेलायतलाई सहयोग दिएको थियो । बि्रटिस गोर्खामा भर्ना हुने एक जवान बराबर बेलायतले नेपाल सरकारलाई एउटा राइफल दिन्थ्यो । त्यही जम्मा गर्दा नेपाल सरकार राइफलमा धनी भएको थियो ।

त्यस बेला केही कैदीलाई पनि राणाहरूले बेलायती सेनामा भर्ना गराएको मानिन्छ । एकजना ४० वर्षका बाबुले गोरखपुरनेरको कुनाघाटमा भर्ती गराउन आफ्नो १६ वर्षको छोरालाई लिएर गएछन् । ब्रिटिसले बाबुछोरालाई नै भर्ती गरिदियो । युद्धका लागि उनीहरूलाई सिपाही चाहिएको थियो । यसैले नेपालका कति पहाडी गाउँबस्ती खाली हुनेगरी युवालाई भर्तीमा पठाइयो ।

'घर जलाएर खरानी' भनेजस्तो यसले नेपाललाई केही फाइदा पनि गर्यो । युद्ध सकिएको पाँच वर्षपछि सन् १९२३ मा बेलायतले नेपाललाई युद्धमा सघाएको गुन फर्कायो । बेलायतले नेपाललाई सार्वभौम मुलुक मानेर शान्ति तथा मैत्री सन्धि गर्‍यो । वर्षको ५-१० लाख सहयोग पनि गर्यो । त्यो पैसा राणा र पछि पञ्चायतका शासकहरूले आफ्नो खल्तीमा हाले । पछि डीएफआईडी र ब्रिटिस वेलफेयरजस्ता बाटोबाट पैसा आएपछि यो बन्द भयो ।

अर्थतन्त्रमा प्रभाव

यो युद्धले नेपाली समाज र अर्थतन्त्रमा पनि प्रभाव पार्‍यो । युद्धमा मर्नेका घरमा पनि दुई/चार पैसा आयो । युद्ध सकिएपछि १ लाख जवानहरू फिर्ता आए । उनीहरूलाई खेतालालाई जसरी युद्ध अवधिभरको ज्याला दिएर फिर्ता गरिएको थियो । सरदार भीमबहादुर पाँडेको अनुमानअनुसार तिनले १३ करोड कम्पनी रुपैयाँ नेपाल ल्याएका थिए । त्यतिबेला नेपालमा बजेट बनाउने चलन थिएन । यदि हुन्थ्यो भने त्यो रकम वाषिर्क बजेट बराबर हुने थियो । अहिले वाषिर्क ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । १८ खर्बको जिडिपीका तुलनामा यो २५ प्रतिशत हो ।

यसका साथै युद्धबाट फर्किएका सैनिकले केही नयाँ बस्तीहरू बसाले । नेपालमा तास, चुरोट, ससाना भट्टी र रक्सीको बढी चलन यसै बेलापछि बढेको मानिन्छ । गाउँघरका केटीहरू लाहुरेसँग भाग्ने क्रम पनि चल्यो । ज्यालादारी गर्ने भरियाले पैसा पाउन थाले । युद्धमा मान्छे मारेर वा धेरै मानिस मरेर देखेर आएका हुनाले यिनले अलग किसिमको दृष्टिकोण पनि समाजमा ल्याए । नयाँ खाले खेलहरू पनि ल्याए ।

गाउँमा जग्गाको भाउ बढ्यो । सन् १९२३ देखि नेपालमा जग्गाको किनबेच सजिलो भएको हो । जापानी सामान पनि आउन थाले । राडीपाखी, घरबुना जस्ता स्थानीय उद्योगलाई यसले नकारात्मक प्रभाव पार्‍यो । बन्दीपुरे भाडा, गहनाका व्यापार यसैबेलापछि ओरालो लागेको भनिन्छ । पहाडमा पुरुष कम भएकाले यसले अन्तरजातीय र अन्तर सांस्कृतिक विवाह पनि हुन थाल्यो । यस्ता धेरै कुराले गर्दा समाज अलि खुला हुन थाल्यो । परम्परागत मुल्य पद्धतिमा लाहुरेहरूले प्रश्न गरे । अंग्रेज साहेबको जीवनबाट उनीहरूले केही कुरा सिकेका थिए । उनीहरू कसरी खान्छन्, केलाई ठीक भन्छन् भन्ने जस्ता कुरालाई उनीहरूले एक किसिमको मानक बनाए । भारतबाट फर्केका केही लाहुरेहरू राजनीतिमा पनि सक्रिय भए । कति नेपालीहरू नेपाल बाहिरै घरजम गरेर बसे । देहरादूनदेखि धर्मशाला र भाक्सुजस्ता ठाउँसम्म उनीहरू बसे । यसले नेपाल बाहिर नेपाली जातिलाई फैल्याउने काम गर्‍यो ।

अहिले आएर हेर्दा लाग्छ, नेपालले यो युद्धबाट अझै कुनै पाठ सिकेको छैन । युद्धमा नेपालको कुनै शत्रु थिएन । हामी युद्धमा सहभागी हुनुपर्ने कुनै कारण थिएन । तैपनि नेपाल युद्धमा गयो । नेपालको ध्यान बि्रटिस साम्राज्यसँग जोगिएर आफ्नो अलग अस्तित्व कायम गर्नेमा हुनुपर्ने थियो तर शासकहरूले आफ्नो शासन सत्ता जोगाउन देशलाई युद्धमा होमिदिए । विदेशीको सेवा गर्ने उनीहरूको दलाली गर्ने काम गरे । देशमै उद्योग धन्दाको विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा जनशक्ति विदेश निर्यात गरेर ढुक्क हुने चलन अहिले पनि कायम छ । वीर गोरखाली भनेर विदेशी सेनामा भर्ती हुने कुरालाई एउटा अवसरका रूपमा व्याख्या गरियो । यति भए पनि नेपालको खासगरी पश्चिम पहाडको चित्र बनाउँदा लाहुरे बिनाको कुनै चित्र बन्दैन । ती लाहुरे पहिले ब्रिटिसका थिए अहिले अरबका होलान् ।

विश्वयुद्ध सुरु हुनुअघि सन् १९११ मा तत्कालीन बेलायती सम्राट जर्ज पञ्चम नेपाल भ्रमणमा आएका थिए । त्यो बेला उनको सत्कार र सिकारको व्यवस्थापनमा ठूलो होहल्ला भएको थियो । अहिले मोदीका नाममा त्यस्तै भइरहेको छ । यसरी हेर्दा लाग्छ, हामी अहिले पनि कुनै विदेशी शक्तिलाई रिझाउने उद्योगमा लागिरहेका छौं । त्यो प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन ।

(ब्रिटिस गोर्खा सैनिकबारे 'बेलायती साम्राज्यका नेपाली मोहरा' पुस्तकका लेखक सुवेदीसँग यज्ञशले गरेको वार्तामा आधारित ।)

Published on: 15 November 2014 | Kantipur

Back to list

;