s

प्रविधि रोजे रोजगारी

सिन्धुपाल्चोकका रमेश पौडेल र उदित गौतमले सात वर्षअघि एकैपटक एसएलसी पास गरे। एसएलसीपछि रमेशले सिटिइभिटीअन्तर्गतको सिभिल इन्जिनियरिङ पढे। तीन वर्षे कोर्स पूरा गरेलगत्तै उनी ओभरसियरका रूपमा काम गर्न थाले।

सँगै एकै विद्यालयबाट एसएलसी पास गरेका उदितले भने मानविकी संकाय रोजे। ब्याचलर सक्दा पनि बेरोजगार नै भएपछि उनी केही महिनाअघि मात्र खाडी मुलुक कतार उडेका छन्। कतार पुगेका उदितले फेसबुक च्याटमार्फत दुखेसो पोखे, ‘बेलामा प्राविधिक विषय नरोज्दा बिदेसिनुपर्योए।' बिदेसिनुअघि कुनै पनि सीपमूलक तालिम नलिएकाले थप दुःख पाएको उनले गुनासो गरे। भर्खर एसएलसी उत्तीर्णलाई उनी प्राविधिक शिक्षा रोज्न सल्लाह दिन्छन्।

काभ्रेका सीता सापकोटा र नीतु पोखरेलले पनि पाँच वर्षअघि एकै विद्यालयबाट एसएलसी पास गरेका हुन्। सीताले नर्सिङ अध्ययन गरिन् भने नितुले कमर्स। सीता अहिले राजधानीको एक अस्पतालमा रोजगार छिन्, नीतु भने जागिरको खोजीमा भौंतारिइरहेकी छन्। तीनवर्षे प्रवीणता प्रमाणपत्र अध्ययनलगत्तै अस्पतालमा जागिर पाएकी सीता पनि एसएलसी उत्तीर्ण गरेर विषय छनोटको अन्योलमा रहेका विद्यार्थीलाई प्राविधिक विषय रोज्न सुझाउँछिन्।

रमेश र सीता मात्र होइन, छोटो अवधिमै दक्ष बनेर जागिर पाउने भएपछि पछिल्ला वर्ष यस्तो शिक्षा रोज्नेको भिड बाक्लिँदैछ। उदित र नीतुजस्तै शैक्षिक बेरोजगारी चुलिँदै गएकाले विद्यार्थीसहित अभिभावकको नजर पछिल्ला वर्षमा प्राविधिक शिक्षातिर केन्द्रित देखिँदैछ।

गत साता एसएलसी परिणाम सार्वजनिक भएपछि उच्च शिक्षा अध्ययनका लागि झन्डै २ लाख विद्यार्थी तयारी अवस्थामा छन्। यी मध्ये कतिले त आफ्नो रोजाइको विषय र कलेज रोजेर भर्ना भइसकेका छन् भने कति अझै अन्योलमा छन्। नेपालमा पछिल्ला वर्षहरुमा उच्च शिक्षा अध्ययन गरेर पनि बेरोजगारीको संख्या बढिरहेको समयमा भर्खरै परीक्षा पास गरेका विद्यार्थी के पढ्ने र कहाँ पढ्ने भन्ने अन्योलमा रहनु स्वाभाविक नै हो।

अवसरको कमी तथा आय–आर्जन गर्न गाह्रो हुँदै गएको आजको अवस्थामा साधारण शिक्षाको तुलनामा व्यावसायिक शिक्षाको महत्व बढ्दै गएको शिक्षाविदहरुको भनाइ छ। सहजै रोजगारी पाइने र सीप पनि सिकिइने भएकाले पछिल्लो समय विद्यार्थीहरुमा प्राविधिक विषयप्रति रुचि बढ्दै गएको शिक्षाविद प्राडा. विद्यानाथ कोइरालाको भनाइ छ। ‘नेपालका अन्य शैक्षिक कार्यक्रम गरिखाने जनशक्ति उत्पादन गर्ने खालका भएनन्,' उनले भने, ‘त्यसकारण प्राविधिक शिक्षामा भए अधिकांशले रोजगारी पाउने सम्भावना भएकाले यतातिर ध्यान खिचिएको हो।'

नेपालमा राजनीतिक अस्थिरताका कारण विकासको गति कछुवा तालमा घिसि्ररहेको छ। यस्तो अवस्थामा रोजगारीका ठुल–ठूला अवसर सिर्जना हुनसकेका छैनन्। तर यस्तो भन्दैमा अवसर पनि छैन भनेर निराश हुनुपर्ने अवस्था पनि छैन। हातमा सीप छ भने जहाँ पनि बिकिन्छ। त्यसले मानिसलाई सजिलै आत्मनिर्भर बनाउँछ। पढाइलगत्तै आत्मनिर्भर बन्न सक्ने सीप कहाँबाट आउँछ त? उत्तर सहज छ, प्राविधिक शिक्षाबाट।

नेपालको शिक्षालाई विज्ञहरूले गरिखाने र बोलिखाने शिक्षामा बाँडेका छन्। बोलिखाने शिक्षाको प्रमाणपत्र दराजमा थन्किन थालेकाले धेरैको ध्यान गरिखाने शिक्षा अर्थात् प्राविधिकतर्फ बढेको शिक्षाविद कोइरालाले बताए। साधारण शिक्षाको तुलनामा प्राविधिक शिक्षा पढेका अधिकांश विद्यार्थीले पढाइ सकेलगत्तै रोजगारीको अवसर सहजै प्राप्त गरेको र उत्पादनमूलक क्षेत्रमा सहभागिता बढेको भन्दै सरकारले पनि गत वर्षदेखि नै विद्यालय तहमा पनि प्राविधिक शिक्षाको पढाइ सुरु गरेको छ।

सिटिइभिटीका सदस्य–सचिव डा. रामहरि लामिछानेका अनुसार जोकोही राम्रो जागिरको खोजीमा हुने र श्रमबजारमा प्राविधिककै खाँचो बढी हुने भएकाले बर्सेनि विद्यार्थीको संख्या बढ्दै गएको छ। ‘साधारण शिक्षाले शैक्षिक बेरोजगारी मात्र थुपार्दै गएको छ,' उनले भने, ‘तर प्राविधिक शिक्षाले रोजगारीका साथै नयाँ उत्पादनमूलक कामको आविष्कारसमेत गरेको छ। त्यसकारण विद्यार्थीको मात्र होइन, अभिभावकको रुचि पनि प्राविधिकतर्फ नै बढि रहेको छ।' उनले सबैको रोजाइमा पर्दै गएको प्राविधिक शिक्षालाई आम नागरिकको पहुँचमा पुर्यारउन शुल्कमा कमी ल्याउनुपर्ने बताए।

विज्ञहरुका अनुसार प्राविधिक शिक्षाको रोजगारी दर ९० प्रतिशतभन्दा माथि छ। जबकि साधारणतर्फ बेरोजगारीको दर ९० प्रतिशतकै हाराहारी छ। नेपालमा प्राविधिक शिक्षाको इतिहास धेरै लामो छैन। २०४५ सालमा सरकारी स्तरमा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले सिटिइभिटी स्थापना भएको हो र यो नै औपचारिक प्राविधिक शिक्षा प्रदान गर्ने पहिलो संस्था हो। पछिल्लो समयमा आएर प्राविधिक शिक्षा दिने निजी संस्थाको संख्या उत्तिकै बढ्दै गएको छ। गीत, संगीत, फेसन डिजाइन, फाइन आर्ट, शिल्पकला जस्ता विषय मात्र होइन, अहिले विश्वमै लोकप्रिय आइटी प्रविधिले प्राविधिक शिक्षाको महत्वलाई अझ बढाएको छ।

यसका साथै त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य, वन र कृषि विषयमा अध्यापन थालेपछि विश्वविद्यालय तहमा प्राविधिक शिक्षाको औपचारिक सुरुआत भएको मानिन्छ। अहिले त्रिविबाहेक पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयले पनि इन्जिनियरिङ, स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा प्राविधिक शिक्षा दिने गरेका छन्।

नेपालबाट प्रतिदिन सरदर २ हजार युवा रोजगारीका लागि बिदेसिने गरेको सरकारी तथ्यांक छ। तीमध्ये अधिकांशमा कुनै सीप छैन। वैदेशिक रोजगारीमा जाने अधिकांश साधारण शिक्षा अध्ययनपछि बेरोजगारीको समस्या खेपेका कारण बिदेसिन बाध्य भएको पाइन्छ। खासगरी साधारण शिक्षा र प्राविधिक शिक्षा लिएका बीच कामको प्रकृति तथा पारिश्रमिकमा पनि निकै भिन्नता देखिने हुनाले पनि यसको माग भएको बताइन्छ।

शिक्षाविद डा. कोइराला नेपालमै प्राविधिक शिक्षाको विस्तार गर्ने हो भने सीपबिना बिदेसिने युवाको संख्यामा उल्लेख्य कमी आउने बताउँछन्। ‘प्राविधिक शिक्षाको यति धेरै माग छ तर पनि सरकारले यसलाई विस्तार गर्न सकेको छैन,' उनले भने, ‘साधारण शिक्षालयहरुसँगै सहकार्य गरेर सुलभ रुपमा प्राविधिक शिक्षा विस्तार गर्ने हो भने शैक्षिक बेरोजगारी समस्या धेरै समाधान हुने थियो।'

सिटिइभिटीका अनुसार बढ्दो माग सम्बोधन गर्न सिटिइभिटीले देशका ७५ एसएलसी उत्तीर्णहरुका लागि १५ महिने (एलएलसी सरह) र प्रवीणता प्रमाणपत्र तह सरहको तीनवर्षे डिप्लो र एसएलसी फेल भएकाका लागि टी–एसएलसी नामक २९ महिने कोर्स सञ्चालन गर्दै आएको छ। सिटिइभिटीअन्तर्गत २१ आंगिक शिक्षालयमा झन्डै ३ सय प्रवीणता प्रमाणपत्र तहका, ७३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र ५ सयवटा छोटा अवधिका सेन्टर सञ्चालनमा छन्।

सिटिइभिटीले टी–एसएलसीअन्तर्गत स्वास्थ्यतर्फ सिएमए, अनमी, ओरल हाइजिन, ल्याब टेक्निसियन, आम्ची, आयुर्वेद र अकुपन्चर तालिम दिन्छ। टी–एसएलसीअन्तर्गत इन्जिनियरिङतर्फ मेकानिकल, मेकानिकल सर्भे, सिभिल, जुनियर कम्प्युटर हार्डवेयर, अटोमेकानिक्स, रेफ्रिजेरेटर एन्ड एयर कन्डिसनिङ र सेनिटरी इलेक्टोनिक्समा पढाइ हुन्छ। कृषितर्फ जेटिए, प्लान्ट साइन्स, टेक्स्टायलसाथै होटल व्यवस्थापन, सोसियल मोबिलाइजेसन, अफिस व्यवस्थापन र उद्यमशीलता विषयमा पढाइ हुन्छ।

त्यसैगरी डिप्लोमा (प्रवीणता प्रमाणपत्र) तहमा स्वास्थ्यतर्फ सामान्य चिकित्सा, नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी, डेन्टल साइन्स, फार्मेसी, आर्युवेद र नेत्ररोग विषयमा पनि यो तहको अध्ययन गर्ने अवसर छ। सिटिइभिटीका अनुसार इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिक्स, इलेक्ट्रोनिक्स, मेकानिकल, अटोमेकानिकल, आर्किटेक्चर, कम्प्युटर, सर्भे र सूचनाप्राविधि विषयमा पनि तीन वर्षे प्रवीणता प्रमाणपत्र तह पढाइको अवसर छ। कृषितर्फ प्लान्ट साइन्स, एनिमल साइन्स, फुड एन्ड डेरी टेक्नोलोजी, डिप्लोमा इन फरेस्ट्री, होटल म्यानेजमेन्टको पढाइको अवसर छ।

सिटिइभिटीअन्तर्गत आंगिक र सम्बन्धनप्राप्तसमेत गरी करिब एक सय कलेजमा नर्सिङ, २५ कलेजमा फार्मेसी, ४७ मा सामान्य चिकित्सा, ३१ वटामा सिभिल इन्जिनियरिङ र ५ वटामा आर्किटेक्ट विषय पढाइ हुन्छ। अन्य विविध विषयमा समेत गरी सिटिइभिटीअन्तर्गत आगिंक र सम्बन्धनप्राप्त कलेजसमेत गरी तीन वर्षे डिप्लोमा तहको अध्ययनका लागि झन्डै १३ हजार क्षमता छ।

एसएलसी फेल भएकामध्ये झण्डै २ हजार ५ सयका लागि प्राविधिक एसएलसी कोटा उपलब्ध छ। झन्डै १२ हजारका लागि १५ महिने तालिमको अवसर छ। तीबाहेक अध्ययनको सीमा नरहेको छोटो अवधिको तालिम पाएर प्रत्येक वर्ष १५ हजारभन्दा बढी जनशक्ति तयार हुन्छ। औपचारिक शिक्षा नभएपछि प्लम्बिङ, कार्पेन्टिङजस्ता विषयका तालिमको माग विदेश जान चाहने युवामाझ बढी लोकप्रिय छ। सिटिइभिटीअन्तर्गतका यी विषयहरु अध्ययन गर्न ४० हजारदेखि ४ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ।

Published on: 19 June 2014 | Nagarik

Back to list

;