s

प्रवासी स्रष्टाका अनुभव

सुनिन्छ, कामको खोजीमा प्रवास भासिएपछि नेपालीहरू गुमनाम हुन्छन् । फिल्म निर्देशन अध्ययनका लागि एक वर्ष अमेरिका बसेर आएका राजेन्द्र सलभको अनुभव भने भिन्न छ । 'मैले त प्रवासमा नेपालीहरू परिचय बनाउँदै गरेको पो पाएँ,' हालैको अपराह्न एउटा स्रष्टा भेलामा सलभले अमेरिका अनुभव सुनाए, 'काममा व्यस्त भए पनि उनीहरू आफ्ना मुलुक, संस्कृति, भाषा र थातथलो सम्झेर कथा, कविता र उपन्यास लेख्छन् र प्रवासमै त्यसको प्रवर्द्धनमा जुट्छन् ।'

अमेरिका नफर्किने गरी मुलुक फिरेका उनीसँगै इजरायलबाट आएकी साहित्यकार मनु लोहारुङ, चार वर्षदेखि अमेरिकामै बसोबास गर्दै आएकी साहित्यकार निलम कार्की निहारिका पनि थिइन् । प्रवासका नेपाली स्रष्टाहरूको अनुभव सुन्ने-सुनाउने मेसो मिलाएका थिए साहित्यकार विश्वविमोहन श्रेष्ठले, श्रीओम श्रेष्ठ रोदन, डा. रवीन्द्र समीर, किशोर पहाडी, विमल भौकाजी, मदन दीपविम, प्रतिभा विवश राई, शेरसिंह भाट लगायत झन्डै तीन दर्जन स्रष्टामाझ मुनु र निलमले आ-आफ्ना अनुभव सुनाए । 'इजरायलमा म मात्रै हैन,' संखुवासभाबाट झन्डै पाँचबर्ष अघि इजरायल पुगेकी मनुले भनिन्, 'अन्य थुप्रै नेपालीहरू पनि प्रवासबाटै आफूलाई साहित्यकर्मीको रूपमा उभ्याउन खोजिरहेका छन् । अनेक स्रष्टा जमघट र गोष्ठीहरू हुन्छन् ।'

इजरायलमा प्रायः नेपाली महिलाहरू घरेलु कामका लागि जाने भएकाले नेपालकै जस्तो घरायसी चटारो र तनावबीच साहित्य सिर्जनामा लाग्नुपर्ने स्थिति रहेको पनि उनले खुलाइन् । 'आफ्नो देश र संस्कृति भनेको जहाँ गए पनि भुल्न नसकिने रहेछ,' मनुले भनिन्, 'छुट्टीका दिन नेपालीबीच भेटघाट गरेर कुराकानी हुँदा पनि गाउँघरतिरकै कुनै मेला र जात्रामा भेट भएको जस्तै लाग्छ ।' लामो समयपछि मुलुक फिरेकी उनले आउँदो शुक्रबार इजरायलमै छँदा लेखिएको कविता संग्रह सार्वजनिक गर्दै छिन् र त्यसपछि उनी पुनः इजरायल नै फर्किनेछिन् । 'किरात मिथकहरू समेटिएर कृति तयार पारेकी छु,' उनले भनिन्, 'मुलुकभन्दा टाढा रहेर आफ्नो संस्कृतिको जरा सम्भि“mदा साँच्चिकै रमाइलो नोस्टाल्जिया महुसुस हुँदो रहेछ ।'

चार वर्षअघि अमेरिका पुगेकी निलम पनि त्यत्तिकै बसेकी छैनन् । एटलान्टामा डाक्टर श्रीमान्सँग बस्दै आएकी उनी पेसाले चाहिँ स्वार्थकर्म संलग्न छिन्, सलभका अनुसार अमेरिकाका अनेक साहित्यिक संघ-संस्थामा उनको क्रियाशीलता लोभलाग्दो हुन्छ । उनकै संयोजकत्वमा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले आगामी जुलाई १ तारिखमा अमेरिकाको भर्जिनियामा तीनदिने अन्तर्राष्ट्रिय नेपाली नारी साहित्यकारहरूको सम्मेलन गर्दै छ, जहाँ नारी स्रष्टा र तिनका रचनामाथि विभिन्न विद्धान्हरूले गरेको समालोचनाहरूको कृति 'नारी स्रष्टा: चिन्तना र सिर्जना' समेत सार्वजनिक गर्दै छिन् निलम । 'प्रवासमा नेपाली स्रष्टा काम र दाममा मात्रै केन्दि्रत छैनन्,' उनले भनिन्, 'नेपाली भाषा-साहित्य र संस्कृति प्रर्वद्धन अभियानमा संगठित रूपमै लागिपरेका छन् ।'

Published on: 21 June 2011 | Kantipur

Back to list

;