s

पूर्वकमलरीसँग स्वीस सुन्दरी

मिस अर्थ स्विटजरल्यान्डलाई नेपालसँग जोड्ने नाता के हुन सक्‍ला? पक्‍कै पनि त्यहाँका आल्प्स र यहाँका पहाडहरूमा मात्र उनले समानता देखेकी होइनन्। उनलाई पूर्वकमलरीहरूको कथाले नेपालसम्म ल्याइपुर्‍याएको छ, जुन उनकै देशको इतिहास पनि हो। ६ दिन लामो यात्रा निम्ति सोमबार त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलमा अवतरण भएलगत्तै मिस अर्थ स्विटजरल्यान्ड जोवा स्टस्पुर्क मध्यपश्चिमका नेपालगन्ज र धनगढीमा हान्निइन्। त्यहाँ तिनै पूर्वकमलरीहरूसँग बिताएर शुक्रबार राजधानी काठमाडौं फर्कंदै गर्दा नेपालका अन्य दृश्य हेर्ने समय सकिइसकेको थियो।

‘कमलरीको कथाले मलाई छोयो’, उनले राजधानीको एउटा अत्याधुनिक रेस्टुराँमा अन्नपूर्णसँग भनिन्, ‘५० वर्षअघि हामीकहाँ पनि यस्तै समस्या थियो।’ स्विटजरल्यान्डमै पनि धेरैका निम्ति ५० वर्षअघिको यो कथा अनौठो लाग्दो छ। ‘धेरैले पत्याउँदैनन्,’ आफ्ना विस्फारित नेत्र घुमाउँदै यी सुन्दरीले भनिन्, ‘तर, यो इतिहासकै कारण मैले आफूलाई नेपालसँग जोडिएको अनुभव गरेकी छु। त्यसैले पनि म यहाँ पूर्वकमलरीकै लागि आएकी हुँ।’

स्विटजरल्यान्डमा मिस अर्थ पृथ्वीको वातावरणीय संरक्षण क्षेत्रमा मात्र संलग्‍न हुने गरी सुन्दरी प्रतियोगिता आयोजना हुने गर्छ। त्यसैकारण २०१३ का निम्ति छानिएकी यी सुन्दरीले आफूलाई छोएको पूर्वकमलरीको कथाकै कारण उनीहरूलाई भेट्न आएकी हुन्। यो भ्रमणको व्यवस्था भने प्‍लान इन्टरनेसनल स्विटजरल्यान्ड र नेपालले ‘किनकि म बालिका हुँ’ नामको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत गरेका हुन्।

आफ्नो रुचि अनुरूप जोवा कमलरीहरूसँगै घुमिन्, तिनीहरूसँगै मिलेर खाना खाइन्। थारू समुदायको ढकेरी यति धेरै मन पर्‍यो कि उनलाई धेरै नखान आयोजक संस्थाका प्रतिनिधिले रोक्‍नुपरेको थियो। फर्कने बेलामा पूर्व कमलरीहरूले उनले ढाकीलगायतका उपहार दिए। तर, साथमा उनीसँग तिनका गहना लगाएर खिचेका तस्बिरसमेत छन्।

जोवालाई यो भ्रमणले नेपालप्रति थप उत्सुक बनाएको छ। अझ तिनी पूर्व कमलरीहरूले आफूलाई रूपान्तरण गर्दै आएको अवस्थाप्रति धेरै खुसी भएको बताइन्। फर्कने बेलामा उनीहरूले तिनलाई छोड्नै मानेनन्। उनी चढेको गाडीमा तिनले फूल बर्साएका थिए। यो सुनाउँदै गर्दा उनी केही भावुक पनि भइन्।

पूर्वकमलरीहरू रहेको दाङको लाजाजुनी बालिका आवासमा उनीहरूसँग बिताएका क्षणको जोवाले सम्झना गरिन्। ‘हामीले आफ्ना कथा एकअर्कालाई सुनायौं’, उनले भनिन्, ‘हामीले हाम्रा भविष्यका सपना पनि सुनायौं।’

उनीहरूले जोवालाई आफ्ना प्रेमी छन् कि? भनेर पनि सोधे। उनी पनि के कम आफ्नो आइफोनबाट केटा साथीको तस्बिर देखाइदिइन्। पूर्वकमलरीहरू खुसीले नाचे: ‘आहा कति राम्रो।’

पूर्वकमलरीसँगको यो सान्निध्यले उनलाई तीन वर्षभित्र फेरि नेपाल ल्याउने भएको छ। ‘म यी बालिकाहरू कस्ता भए भनेर फेरि भेट्न चाहन्छु’, उनले भनिन्, ‘हामीले यहाँ रोपेका बिरुवा पनि तीन वर्षमा निकै बढिसकेका हुनेछन्।’ 

Published on: 14 September 2013 | Annapurna Post

Back to list

;