s

कतारमा ६ सय नेपाली हडतालमा

न्यून तलबमा कार्यरत नेपालीसहित ७ सय कामदार कतारमा दुई दिनदेखि हडतालमा उत्रेका छन् । तिनमा झन्डै छ सय नेपाली छन् । कतारस्थित नेपाली दूतावासका अनुसार उनीहरूले तलब वृद्धिको माग राखेका हुन् । 'कामदारका माग तलब बढाउनुपर्छ भन्नेछ,' श्रम सहचारी लीलानाथ दाहालले कान्तिपुरलाई भने ।

ती कामदारले न्यूनतम ६ सय रियालमा काम गर्दै आएका छन् । नेपाल सरकारले तोकेबमोजिम ९ सय रियाल हुनुपर्ने उनीहरूको माग छ । '६ सय रियाल निकै कम भयो । यसले दैनिक खाना खान ठीकै हुन्छ', बर्दियाका नरेन्द्र थापा मगरले भने ।

ती कामदार शनिबारदेखि श्रमिक शिविरमै बसेका छन् । उनीहरू कतार फ्रिल्यान्स ट्रेडिङ एन्ड कन्ट्रक्टिङ र कतार मिडिलिस्ट कम्पनीमा कार्यरत छन् । कामदारले नेपाल सरकारले तोकिएको तलब दिन नसक्ने भए देश पठाइदिन माग राखेका छन् । कम्पनीले कामदारले माग गरेबमोजिम तलब बढाउन नसक्ने बताएको छ । 'हामी एकैपटक कामदारको तलब बढाउन सक्तैनौं,' कम्पनीका म्यानेजर हमिद खानको भनाइ उद्धृत गर्दै श्रम सहचारी दाहालले भने, 'बरु कामदार स्वदेश पठाउन तयार छौं ।'

Published on: 24 November 2014 | Kantipur

Back to list

;