s

कतारमा ५५ नेपाली भोकभोकै

काठमाडौँ — अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो ।

उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद क्युबिदा कम्पनीलाई ताकेता गरे पनि सुनुवाइ भएको छैन ।

‘हिजो बेलुकासम्म जसोतसो मिलाएर आधा चामल र आधा खबुज मिलाएर खाएका थियौं । अब खाने केही छैन, क्याम्पमा अलपत्र छौं, खबुज किन्ने पैसासमेत छैन,’ जाजरकोटका कृष्ण विकले शुक्रबार कान्तिपुरसँग भने, ‘दूतावासमा कुरा गर्दा म्यानपावर देखाइन्छ । म्यानपावरले गर्छु भन्छ तर खाना पठाउँदैन ।’

दूतावासले रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीलाई तत्काल खानाको व्यवस्था गर्न अनुरोध गरेको थियो । ‘कम्पनीको व्यवस्थापक दूतावासमा आएर नै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो,’ श्रम सहचारी कृष्ण पौडेलले भने, ‘तर व्यवहारमा मानेका छैनन् ।’ अल नासेर म्यानपावरलाई २ लाख ३० हजार रुपैयाँ तिरेर कृष्ण विक वेटरको काम गर्न गत नोभेम्बर १० मा कतार पुगेका थिए । ‘अहिलेसम्म कतारी आवासीय परिचयपत्र (आईडी) दिएको छैन । आईडी नभए अस्पतालसमेत जान पाइँदैन । न बैंकको एटीएम दिएको छ न त तलब र खाना नै,’ उनले कान्तिपुरसँग भने, ‘एक सहयोगीले दाल र चामल दिएको थियो, त्यो पनि सकियो ।’

कम्पनीले कामदारको अवस्थाबारे चासो दिएको छैन । तलब नपाएपछि उनीहरूले अप्रिल १ देखि काम छाडेका छन् । ‘हामीसँग खाना छैन, खाना नदिएपछि काम गर्न नसकेको हो । तलब दिए ड्युटी जान्छौं,’ सल्यानका भरत योगीले भने ।

अक्टोबर १५ मा कतार पुगेकी पार्वती कुँवरले कम्पनीसँग तलब माग्दा उल्टो धम्की दिइएको बताइन् । ‘तलब माग्दा भोलि–भोलि भन्दाभन्दै ६ महिना पुर्‍यायो । अहिले त पैसा माग्यो कि कामदारविरुद्ध उजुरी गर्छु भनेर उल्टो हामीलाई धम्क्याउँछ । प्रहरी लगाइदिन्छौं भन्छ,’ उनले भनिन्, ‘यहाँ आफन्त हुनेलाई जसोतसो सजिलो छ । खानाका लागि पैसा खोज्न सक्छन् । आफन्त नहुनेको बिजोग छ ।’उनले अक्टोबर १६ देखि अप्रिल १ सम्म अलबिदा पार्कमा क्लिनरको काम गर्दा १२ सय ३१ रियाल मात्र तलब पाएको बताइन् ।

‘कसैले त यो पनि पाएको छैन । पैसा हातमा दिन्छ, हस्ताक्षर गराउँछ । बैंकबाट दिँदैन । पहिला आउँदा दुई सय दियो । त्यसमा काम गर्दै गयो । फेरि दुई सय दियो । आधी महिनाको ६ सय दियो,’ उनले भनिन् । उनीहरूले समस्या समाधान गर्न नेपाली दूतावास र कतारको श्रम अदालतमा उजुरी दर्ता गरेका छन् । कतारका श्रम काउन्सेलर टीकामणि न्यौपानेले समस्या समाधानका लागि रोजगारदाता कम्पनी र पठाउने म्यानपावरबीच दूतावासले पहल गरिरहेको बताए । म्यानपावरका सञ्चालक रौतहटका दिनेशकुमार राय हुन् ।

कम्पनीमा दुई वर्षदेखि कार्यरत कामदारलाई पनि आईडी कार्ड दिइएको छैन । गुल्मीका खिमबहादुर ओलीले २० महिना काम गर्दा पनि कम्पनीले आईडी कार्ड नदिएको बताए । ‘यो ठूलो कम्पनी हो । कम्तीमा तीन सय नेपाली कामदार छन् । साइडअनुसार तलब र सेवासुविधा फरक छ । म क्लिनर भनेर आएको हो । खाना र पानीसमेत नदिई ड्युटी गर्न पठाएको छ । कुनै बेला क्याम्पमा पानी छैन । कहिले बिजुली छैन । हामी कति सहेर बस्नु ?,’ ओलीले भने ।

उनले आईडी नहुँदा घर जानसमेत नपाएको बताए । ‘विमानस्थलमा ब्लक छ । जरिवाना नतिरी विमानस्थलको कालोसूची हट्दैन । टिकट काटेर जान पाइएको छैन । आफैं टिकट काट्न पैसा पनि छैन,’ उनले भने, ‘टिकट काट्न ६–७ सय रियाल लाग्छ । हामीसँग खबुज खानेसमेत पैसा छैन ।’

Published on: 15 April 2024 | Kantipur

Link

Back to list

;