s

कतारमा फेरिएको दसैं माहोल

पोखराका रेशम बस्नेत सेतो दौरा सुरुवाल, कोट र खुकुरी अंकित भाद्गाउँले टोपीमा देखा परे । निधारमा रातो टिका र कानमा पहेँलो जमरा लगाएर कतारको दफना क्षेत्रमा हिँड्दा फर्केर नहेर्ने कमै थिए । 'फि नेपाली (नेपाली हो)', एउटा अरबीले ल्याण्डक्रुजरबाट टाउको निकाल्दै सोधे, 'जेन मुदिर (एकदमै राम्रो छ हाकिम)।' उनी सहित एकछिन रातै निधार र जमरा लगाएको एक हुल टोली सडकमा निस्कदा धेरैको आँखा लोभियो। शुक्रबार बिहानदेखि साँझसम्म कतारको विभिन्न भागमा यस्ता दृश्य देखेर नौलो मान्नेहरु धेरै थिए ।
 
'यसपाली त गजबै भयो,' चितवनकी सुस्मिता भुसालले भनिन, 'जहाँ गएपनि टिका लगाएको नेपाली मात्रै भेटिन्छन् ।' कामदार बस्ने सनैयातिर जाँदा कोठाकोठामा आफुभन्दा जेष्ठ व्यक्तिको हातबाट टिका ग्रहण गरिरहेका नेपाली थुप्रै भेटिए । पार्कतिर पुग्दा समुहमा एकले अर्कालाई टिका लगाइदिँदै थिए । दोहाका कार्निसको ढुंगाहरु नेपालीले नै भरिएका थिए । 'हामीले ढुंगामा चढेर टिका लगायौं । साथीभाईबीच शुभकामना आदनप्रदान गरौं,' कतार एयरवेजमा कार्यरत सन्तोष दंगालले भने, 'एकदमै रमाइयो भयो ।' समुद्री किनारमा लामबद्ध भएर टिका लगाइदिनेहरुको भीड त्यस्तै थियो । 'हामीले आफ्ना साथीभाई मिलेर सुमद्री किनारमा बसेर टिका लगाइदिन पाउँदाको क्षण ज्यादै रमाइलो भयो,' केदार बानियाँले भने । 
 
फेरिएको महोल २२ बर्षअघि कतारमा कार्यरत बस्नेत पहिला यस्ता महोल नबनेको बताउँछन् । 'त्यतिखेर नेपालीको बहुल्यता पनि कम थियो । जति थिएँ, उनीहरु टिका लगाएर बाहिर निस्किदैन थ्यो', उनले भने,'निस्कुनपरे पनि निधार पुछेर बाहिर निस्कन्थे ।' अहिले आफ्नो पहिचान देखाउन नेपालीहरु टिका लगाएर मात्रै निस्कदैनन् । सार्बजनिक स्थलमा बसेर सामुहिक रुपमा टिका ग्रहण गर्छन् । 'हामी अरु देशका नागरीकलाई देखाउने तहमा पुगेका छौं', उनले भने,'यसले गर्दा हामीलाई गौरब लाग्छ ।' दाङका श्याम डंगी सबैले एक अर्काको सस्कतिलाई आत्मसम्मान गरेकोले महोल बन्दै गएको बताउछन् । 'कतारमै सयभन्दा बढी देशका नागरीक बस्छन् । सबैका आआफ्नो चाडपर्ब हुन्छन् । नेपाली इदमा पनि खुलेर मनाउछ । दसैं तिहार, छठका साथै जनजातीका सबै पर्बहरु धुमधामका साथ मनाउने गछौं', उनले भने,'फेरी कतारमा मात्रै नभएर अरु खाडी देशमा पनि एक अर्काको धर्ममा सम्मान हुन थालेको छ । साउदीमा त धेरै साथीहरुले टिका जमारा लगाएर दसैंं मनाएको स्थिति बन्यो ।' कतारमा कामदार मात्रै छैनन् । परिवारसहित बस्ने नेपालीको सख्या उल्लेख बढेको छ ।
 
 क्रियाशील जिल्लागत संघसंस्थाहरु बढेको बढ्यै छ । आफ्ना परिवारका सदस्य, गाँउघरका अधिकांश साथीहरु यतै भेटिन थालेको छ । 'गाउँ घर जस्तै लाग्न थालिसक्यो', खोटाङका केदार बाँनियाँले भने, 'भए भरका इष्टभित्र यतै छन् । घर गाउले पनि यतै भेटिन थालेको छ । अब त घर भन्दा यतै चाडपर्व रमाइलो लाग्न थालेको छ ।' पहुँचमा बिस्तार कतारमा पहिला जस्तो 'लेबर' मात्रै छैन् । कम्पनीका ब्यबस्थापकीय क्षेत्रमा नेपालीको बर्चस्व दरिलोसँग बढिसकेको छ । नेपाली ब्यबसायीहरु पनि बढिरहेका छन् । 'कुनै न कुनै कम्पनीको माथिल्लो तहमा नेपाली भेटिएकै हुन्छन्', एक कम्पनीमा म्यानेजर पदमा कार्यरत फिदिमका राजन श्रेष्ठले भने, 'उनीहरुले नेपालीको मुख्य चाडपर्वबारे कम्पनीलाई जानकारी दिने हुँदा बाताबरण सहज हुने गर्छ ।' 
 
अधिकांसले दसैं मनाउन क्याम्प क्याम्पमा दसैं पठाइदिएको हुन्छ । कतिले बिदा नै दिएको हुन्छ । 'हामीले एक दिन बिदा लिएर बिजयदशमी मनाउन पायौं', पोखराका लालबहादुर परियारले भने,'बिदा माग्ने बित्तिकै केही नभनी दियो ।' त्यसो त नेपाली ब्यबसायीले पनि आफ्ना कामदारसँग दसैं मनाउदा क्षण थप रमाइलो बन्यो । 'बर्षमा एक दिन आफ्ना कामदारसँग दसैंं मनाउन पाउदा दुबै पक्षबीच झन एकता बलियो भयो', ब्यबसायी टिकाराम भण्डारीले भने । 
 
देशभन्दा थोरै भिन्न भएपनि आफुले यसपाली फरक रुपमा दसैं मनाएको प्रति सुर्खेतका दिपेन्द्रकुमार शाही मख्ख थिए । 'परिवार सम्झेर दुख मात्रै गरेर हुदैन रहेछ । परिस्थिति र ठाँउ अनुसार भिज्नु पर्दोरहेछ', शाहीले भने,'घर गइएको भए गाँउको सबैभन्दा ठुला मान्यजनबाट लगाइन्थ्यो । बच्चा, परिवार, आफन्तको बीचमा जमिन्थ्यो । कतारमा पनि धेरै सहकर्मी थिए । सबैको एउटा अबस्था हो । एकले अर्कालाई नजिकका मित्र ठानेर रमाइलो भयो । यस्तो महोल अर्को बर्ष पनि आओस् ।'
 
Published on: 26 October 2015 | Kantipur
 

Back to list

;