s

राष्ट्रपति पौडेल र कतारी राजा थानीबीच उच्चस्तरीय वार्ता, विपिनको रिहाइदेखि श्रमिकको सुरक्षा र नेपालमा लगानीसम्मका विषयमा छलफल

राष्ट्रपति पौडेलसँगको भेटमा कतारी राजा थानीले भने–नेपालमा लगानी गर्न कतार इच्छुक छ, तयार छ । जलविद्युत्, खेलकुद, कृषि, खाद्य प्रविधि र सुरक्षामा हाम्रो रुचि छ । म नेपाललाई सहयोग गर्न, नेपाल घुम्न र सम्बन्ध सुदृढ गर्न आएको हुँ । तपाईंहरूलाई थप सहयोगको वचन दिन आएको हुँ ।

आज प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता
भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम

कतारी राजा शेख तमिम बिन हमाद अल थानी राजकीय भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडौं आइपुगेका छन् । साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भएको द्विपक्षीय वार्तामा उनले नेपाललाई सहयोग र सम्बन्ध थप सुदृढ गर्न आएको बताए । कतारले नेपालको जलविद्युत्, कृषि र खाद्य प्रविधिमा लगानी गर्न चाहेको उनको भनाइ छ ।

‘सम्बन्ध अझ प्रगाढ गर्न म आएको हुँ । हामी पुरानो मित्र नेपालसँग आर्थिक–सामाजिक सहकार्य अझ वृद्धि गर्न चाहन्छौँ,’ कतारका राजा थानीलाई उद्धृत गर्दै राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले भने । राष्ट्रपति पौडेलले कतारसँगको सम्बन्ध नेपालको उच्च प्राथमिकतामा रहेको बताए । फिलिपिन्स र बंगलादेशको राजकीय भ्रमण सकेर थानी नेपाल आएका हुन् ।

राष्ट्रपति पौडेलले कतारले छोटो समयमा शिक्षा, पूर्वाधार, स्वास्थ्यलगायतमा गरेको प्रगतिको प्रशंसा गरे । कतारी विकासको लाभ नेपालले पनि लिन चाहेको राष्ट्रपतिको भनाइ थियो । जसमा कतारी राजा थानीको जवाफ थियो, ‘नेपालमा लगानी गर्न कतार इच्छुक छ, तयार छ । जलविद्युत्, खेलकुद, कृषि, खाद्य प्रविधि र सुरक्षामा हाम्रो रुचि छ । म नेपाललाई सहयोग गर्न, नेपाल घुम्न र सम्बन्ध सुदृढ गर्न आएको हुँ । तपाईंहरूलाई थप सहयोगको वचन दिन आएको हुँ ।’ द्विपक्षीय सहयोग, लगानी तथा सहकार्यका विषयमा बुधबार प्रधानमन्त्री प्रचण्डसँग विस्तृतमा छलफल गर्ने कतारी राजाको भनाइ थियो । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्तामा राष्ट्रपति पौडेलले भने, ‘कतारको पूर्वाधार विकासमा नेपालीको योगदान छ । यो भन्न पाउँदा हामी खुसी छौँ ।’ राजा थानीले जवाफ दिए, ‘नेपालीहरूको योगदान त्यसमा मात्र होइन, कोरोना महामारीका वेला पनि उनीहरूले हामीलाई ठूलो मद्दत गरे ।’ फिफा विश्वकप २०२२ आयोजनाका लागि रंगशाला निर्माणमा नेपाली कामदारहरूको ठूलो योगदान रहेको भन्दै थानीले प्रशंसा गरे ।

‘विपिन जोशीको रिहाइका लागि पहल गर्छौँ’

राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टाइनमा हमास विद्रोही समूहको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन राजा थानीसँग आग्रह गरे । कतारले शान्तिका लागि निर्वाह गरेको भूमिकाको पृष्ठभूमि उल्लेख गर्दै उनले यस्तो आग्रह गरेका थिए । राजा थानीले ‘प्रयास गर्ने’ आश्वासन दिएका छन् ।

‘राष्ट्रपतिज्यूले विश्वशान्तिका लागि कतारले गरेको प्रयासको सराहना गर्दै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभयो । जवाफमा राजाले हमासको नियन्त्रणमा रहेकाहरूको रिहाइसहित शान्तिका लागि प्रयास गरिरहेको भन्नुभयो । जोशीको रिहाइका लागि पनि प्रयास गर्ने उहाँको आश्वासन थियो,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेले भने ।

जलवायु परिवर्तनबारे राष्ट्रपतिको चासो

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण पृथ्वी नै असुरक्षित भएको भन्दै यसको जोखिम न्यूनीकरणका लागि नेपालले कतारसँग मिलेर काम चाहेको बताएका थिए । ‘यसमा विशेष गरी ठूला देशहरूले चासो दिनुपर्‍यो । सगरमाथासहित हाम्रा हिमालको हिउँ पग्लेको छ । हिउँ सुरक्षित कसरी गर्न सकिन्छ भन्नेमा पनि सोचौँ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृृत गर्दै उनका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेले भने, ‘जलवायु परिवर्तनबाट नेपालले मार खेपिरहेको छ । हिमालहरू खैरो भएका छन् र समुद्री सतह माथि उठेको छ । यसमा मिलेर काम गरौँ ।’

कतारी राजाले सहकार्यबारे सकारात्मक जवाफ दिएको चालिसेले बताए । ‘जलवायु परिवर्तनको क्षेत्रमा सबै मिलेर काम गर्नुुपर्छ । यसमा हाम्रो पनि गम्भीर चासो छ,’ थानीको भनाइ थियो, ‘जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भएका सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्छ ।’

राष्ट्रपति पौडेलले नेपालीको प्रमुख श्रम गन्तव्यमध्येको एक कतार रहेको उल्लेख गर्दै श्रमिकहरूको सुरक्षाबारे चासो राखेका थिए । कतारी राजाले नेपाली श्रमिकको सुरक्षामा आफू संवेदनशील रहेको जवाफ दिए ।

राष्ट्रपतिसँगको वार्तामा राजा थानीसँगै अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायात सम्बन्धीमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन सादअल–मुरैखीसहितका अधिकारी सहभागी थिए । त्यस्तै, राष्ट्रपति पौडेलसँगै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनमन्त्री तोकिएका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा, परराष्ट्र सल्लाहकार डा. सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका अधिकारी सहभागी थिए ।

विमानस्थलमा भव्य स्वागत

कतारी राजा थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे तथा उपप्रधानमन्त्री र मन्त्रीसहितका उच्चअधिकारीले स्वागत गरेका थिए । सेनाले उनको सम्मानमा २१ तोपको सलामी दिएको थियो । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातसम्बन्धी मन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी, अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अलकाबी, कतार लगानी प्राधिकरण (क्युआइए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राजदरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा)का निजी सहायक मन्सुर फलेह अल–हजरी सहभागी छन् । राजा थानी र प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार साँझ होटेल सोल्टीमा राजकीय भोज आयोजना गरे ।

कतारी राजाको सुरक्षामा प्रविधिको अधिकतम प्रयोग

नेपाल भ्रमणमा रहेका कतारी राजा अमिर शेख तामिम बिन हमाद अल थानीको सुरक्षामा प्रविधिको अधिकतम प्रयोग गरिएको छ । प्रहरीका अनुसार राजा सवार हुने रुट, बस्ने होटेल र तय भएका कार्यक्रमस्थल सुरक्षाका लागि प्रविधिको अधिकतम प्रयोग गरिएको हो ।

जसमा ड्रोन, सिसिक्यामेरा, ज्यामरलगायत प्रविधि प्रयोग गरिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले राजाको सुरक्षामा प्रवधिको अधिकतम प्रयोग गरिएको बताए । ‘कतारी राजा नेपाल भ्रमणमा छन् । उनको सुरक्षामा प्रविधिको अधिकतम प्रयोग गरिएको छ । जसमा ड्रोन, सिसिक्यामेरा, ज्यामरलगायत प्रविधि प्रयोगमा ल्याइएका छन् । भिभिआइपी भ्रमणका क्रममा प्रहरीले अख्तियार गर्ने यो नियमित सुरक्षा प्रबन्ध हो ।’

दुईदिने भ्रमणमा रहेका थानीलाई सोल्टी होटेलमा राखिएको छ । होटेलआसपासको सुरक्षा निगरानी गर्न प्रहरीले ड्रोन उडाएको छ । आसपासका सिसिक्यामेरालाई चुस्त बनाएको छ । सवारी रुटआसपासको सुरक्षामा पनि प्रहरीले ड्रोन र सिसिक्यामेरा दुवैलाई प्रयोगमा ल्याएको छ । यस क्रममा ज्यामरको पनि प्रयोग गरिएको छ । थानीको भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तिनकुने–नयाँ बानेश्वर–थापाथली–त्रिपुरेश्वर–कालिमाटी र त्रिपुरेश्वर–केशर महल–लाजिम्पाट हुँदै शीतलनिवास रुट प्रयोग गरिएको छ ।

त्यस्तै, राजा सवार हुने रुटमा सुरक्षाकर्मीको सहभागिता व्यापक रूपमा बढाइएको छ । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइएको छ । दोस्रो घेरमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तैनाथ गरिएको छ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई पनि खटाइएको छ । सवारी अवधिभर रुटआसपासका क्षेत्रको आवागमन बन्द गरिएको छ ।

आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजा थानीबीच बुधबार बिहान १०:३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ । भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले राजा थानीको सम्मानमा बुधबार होटेल द्वारिकाज्मा दिवाभोज आयोजना गरेका छन् । दिवाभोजमा सहभागी भएर थानी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

Published on: 24 April 2024 | Naya Patrika

Link

Back to list

;