s

रेमिट्यान्सबाट तरलतासँगै चुनौती थपिँदै: विश्व बैंक

नेपाललाई रेमिट्यान्सको वृद्धिबाट बैंक वित्तीय संस्थामा बढ्ने तरलताको व्यवस्थापन र उत्पादन मूलक लगानी चुनौती बनेको विश्व बैंकले बताएको छ । कुल गार्हस्थ उत्पादनको तुलनामा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने दक्षिण एसियाली मुलुकमा नेपाल एक नम्बरमा पर्छ । विश्व बैंकको  अध्ययनले कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत रेमिट्यान्स नेपाल भित्रिने गरेको देखाएको छ ।

विश्व बैंकले 'माइग्रेसन एन्ड डेभलपमेन्ट बि्रफ' नामक प्रतिवेदनमा रेमिट्यान्सका कारण बैंकमा लगानी गर्न सक्ने रकम बढेपनि त्यही अनुसार आन्तरिक कर्जा विस्तार हुन नसकेको उल्लेख गरेको छ । केही वर्ष अघिसम्म घरजग्गा र सेयर बजारमा कर्जा विस्तार गरेर देखिएको असरबाट वित्तीय संस्था र सरकारले शिक्षा लिएको विश्व बैंकले उल्लेख गरेको छ । त्यसैले पछिल्लो समय कर्जा विस्तार न्यून भएको उसको ठम्याइ छ ।

२००७ देखि २०११ सम्म  रेमिट्यान्सको उच्च वृद्धि र त्यसपछि भएको कर्जा विस्तारका कारण घरजग्गा र सेयर बजार अस्वाभाविक उचाइमा पुगेको विश्व बैंकले उल्लेख गरेको छ । उक्त स्थानबाट बजारलाई स्वाभाविक बनाउन गाह्रो भएको र अझै बैंकमा पुरानो निष्त्रिmय कर्जा बाँकी रहेको प्रतिवेदनमा भनिएको छ । २०१३ पछि भने बैंकले ० प्रतिशतकै हाराहारीमा ब्याज मात्र आइरहेको सरकारी ऋणपत्र लगायतमा लगानी गरिरहेको उल्लेख छ । विश्व बैंकले आगामी आर्थिक वर्ष पनि बजेटमा समयमै खर्च नभएर बजारमा ऋणको माग नबढ्ने सम्भावना धेरै रहेको उल्लेख गरेको छ ।

आयातको २० प्रतिशतभन्दा रेमिट्यान्स भित्रिने मुलुकको सूचीमा नेपाल एक नम्बरमा परेको छ । विश्व बैंकको प्रतिवेदनअनुसार मुलुकको कूल आयातको ५० प्रतिशतभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । दोस्रो स्थानमा करिब ४८ प्रतिशत रेमिट्यान्स भित्र्याएर अर्मानिया परेको छ । आयातको ४० प्रतिशत बढी रेमिट्यान्स भित्र्याएर हाइटी तेस्रो स्थानमा छ ।

निर्यात गरेर कमाएको रकमको तुलनामा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा पनि नेपाल पहिलो नम्बरमा राखिएको छ । विश्व बैंकको प्रतिवेदनले नेपालले निर्यातबाट कमाएको रकमको तुलनामा करिब १ सय ९० प्रतिशत रेमिट्यान्सबाट आय भइरहेको उल्लेख छ । हाइटीले निर्यातको १ सय ४० प्रतिशत र गाम्बियाले १ सय १५ प्रतिशतको हाराहारी रेमिट्यान्स भित्र्याइरहेको देखिन्छ । विश्व बैंकको प्रतिवेदनले साउदी अरेबियाबाट नेपाल रेमिट्यान्स पठाउँदा लाग्ने खर्चको वृद्धिदर घटेको उल्लेख गरेको छ । तर यूएई र यूकेबाट भने पठाउँदा लाग्ने खर्च बढेको प्रतिवेदनमा छ ।

विश्व बैंकको प्रतिवेदनअनुसार विश्वको धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा भारत निरन्तर भएको छ । २०१३ मा भारतले ७० अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको उल्लेख छ । त्यसपछि चीनले ६० अर्ब, फिलिपिन्सले २५ अर्ब, मेक्सिकोले २२ अर्ब, नाइजेरियाले २१ अर्ब र इजिप्टले १७ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएका छन् । कूल गार्हस्थ उत्पादनको तुलनामा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा ताजिकिस्तान सबैभन्दा अघि छ । उक्त मुलुकमा कूल गार्हस्थ उत्पादनको ५२ प्रतिशत रेमिट्यान्स भित्रिने गरेको छ । यही सूचीको तेस्रो नम्बरमा भने नेपाल छ ।

दक्षिण एसियाली क्षेत्रमा २०१३ मा रेमिट्यान्सको वृद्धिदर २ दशमलव ३ प्रतिशतले मात्र भएको विश्व बैंकले उल्लेख गरेको छ । जसमा भारतको वृद्धिदर १ दशमलव ७ प्रतिशतले सहयोग गरेको छ । बंगलादेशको रेमिट्यान्स वृद्धिदर भने २ दशमलव ४ प्रतिशतले घटेको छ ।

Published on: 13 April 2014 | Kantipur

Back to list

;