s

रित्तियो गाउँ ग्रिन कार्डको सपनाले

एक दशकअघि जिल्लाको लेखानी गाविसका डिलाराम कँडेल गैरकानुनी प्रक्रियामार्फत अमेरिका पुगे। केही समयको संघर्षपछि उनी अमेरिकाको स्थायी बासिन्दा भए। हाल उनीलगायत उनको परिवारका नौजना सदस्य अमेरिकामा बस्दै आएका छन्। एक महिनाअघि नेपाल फर्केका डिलारामले यहाँ लगानीको क्षेत्र र वातावरण खोजिरहेको बताए। हाल उनी अमेरिकामा घर र सवारीसाधनको जोरजाम गरी बसेका छन्। केही समय अमेरिकामै बसेपछि नेपाल फर्केर व्यापार गर्ने योजना उनको छ। विदेशमा गएपछि धेरै चुनौती झेल्नुपर्ने भएकाले यहाँ लगानीको क्षेत्र खोजी स्थानीय युवालाई रोजगार दिने सोच बनाएको उनले बताए। 

उनी गएको करिब पाँच वर्षपछि उक्त गाउँमा अमेरिका जाने लहर नै चलेको छ। लेखानी गाविसका करिब ३५ जना युवा हाल अमेरिका पुगेका छन्। उनीहरू सबै मोटो रकम खर्चिएर गैरकानुनी प्रक्रियामार्फत अमेरिका छिरेका हुन्। केही युवा हालै अमेरिका प्रस्थान गरेका छन्। उनीहरू यात्रामा छन्। यात्रा सुरु गरेको तीन महिनादेखि डेढ वर्षसम्मको अवधिमा अमेरिका पुग्ने भएपछि उक्त क्षेत्रका युवाको पहिलो रोजाइ अमेरिका भएको स्थानीय नरेश कँडेलले बताए। उनले अमेरिका पुग्न पाँच वर्षपहिले २२ लाख रुपैयाँ लाग्थ्यो, हाल ३५ देखि ४० लाखसम्म पुगेको कँडेलले जानकारी दिए। 

 गाउँमा अमेरिका जाने लहर चलेपछि स्थानीयले थोरै रकम ऋण खोज्दा समेत नपाउने अवस्था छ। सबैले अमेरिका ताकेपछि स्थानीय सहकारी, सामुदायिक वन र व्यक्तिको नगदसमेत सोही प्रयोजनमा खर्च भएको छ। गाउँमा सामाजिक कार्यमा युवा सहभागिता न्यून बन्दै गएको छ।

विभिन्न बाधा छिचोल्दै अमेरिका पुगेर त्यहाँको प्रहरीलाई भेटी हिरासतमा बसेको तीन महिनापछि कानुनी प्रक्रिया सुरु गरी काम गर्न पाउने आफन्तको भनाइ उद्धृत गर्दै कँडेलले जानकारी दिए। उनका अनुसार अमेरिका पुग्न केही युवाले ५० लाखसम्म खर्च गरेका छन्। 'नेपाल छोड्दा यहाँको एजेन्टसँग २२ लाखमा अमेरिका पुग्ने सहमति हुन्छ', कँडेलले भने, 'विभिन्‍न ठाउँको ट्रान्जिटमा स्थानीय एजेन्टसँग मोलमोलाइ गर्दा लागत बढ्दै जान्छ ।' एजेन्टले नेपालमा रहेका रिवारसँग कुरा गरेपछि परिवारले यहाँबाट पैसा पठाएर मात्र यात्रा अघि बढ्ने उनले बताए। त्यहाँ पुगेका युवाले पाँच वर्षमा स्थायी बसोबासको अनुमति (ग्रिनकार्ड) पाउने गरेको उनले जानकारी दिए। 

लेखानी २ का ५२ वर्षीय इन्द्रमणि कँडेलका दुई छोराले पनि विदेशकै बाटो रोजे। उनले भारतीय सेनाबाट अवकाश पाएको एक दशकभन्दा बढी भइसकेको छ। उनले आफ्नै पौरखले चितवन, बागलुङलगायतका क्षेत्रमा जमिनको जोहो गरेका छन्। आफू विदेशमा बस्दाको पीडा सन्ततिले भोग्नुनपरोस् भनेर छोरालाई उच्च शिक्षा प्रदान गरी स्वदेशमै रोजगार बनाउने उनको योजना थियो तर सफल भएन। गाउँका सबै युवा विदेश गएपछि उनक स्नातक सकाएका छोरा पनि विदेश गए। इन्द्रमणिका जेठा छोरा जयभद्र अमेरिकामा पुगेर यही सातादेखि काममा लागेका छन्। कान्छा छोरा ठाकुर अध्ययनको सिलसिलामा हाल जापानमा छन्। विदेश जाने होडले गाउँ रित्तिएको इन्द्रमणिले बताए। 

'छोरालाई मात्र नभएर नातिलाई पुग्ने सम्पत्ति मैले जोडेको थिएँ', उनले भने,'छोराहरूलाई नेपालमै केही गर्ने वातावरण बनोस् भनेर पढाएँ तर उनीहरू विदेश गए।' हाल उनी सन्तानसँग बस्न नपाएकोमा चिन्तित छन्। 'छोराहरूले पैसा कमाएका छन्, हामीलाई पैसा नभएर मायाको खाँचो छ', उनले भने, 'चाडपर्वको समयमा सन्तान घरमा नहुँदा सन्नटा छाएको छ ।' विदेशी भूमिमा गाएकासँग भनेको समयमा बोल्न नपाउँदा थप पीडा भएको उनले सुनाए। 

उनीजस्तै गाउँका प्राय: सबै घरमा चाडपर्वको समयमा शून्यता छाउने गरेको छ। विदेश जाने अनिवार्यजस्तै भएपछि गाउँमा यस्ता समस्या देखिएको लेखानीका मणिभद्र शर्माले बताए। उनले युवाले गाउँ छोड्ने क्रम दिनानुदिन बढ्दा केही वर्षमा जन्ती र मलामीको समेत संकट पर्ने बताए। 'शिक्षित युवाको पहिलो रोजाइ नै विदेश बनेको छ', शर्माले भने, 'निश्‍चित योग्यता हासिल गरेका युवालाई स्वदेशमा रोजगारको ग्यारेन्टी नभएसम्म देशव्यापी रूपमा यो समस्या रहिरहन्छ।' 

उनका अनुसार लेखानी गाविसमा मात्र वार्षिक २५ करोडभन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको छ। उक्त रकम भौतिक निर्माण तथा विलासितामा खर्च हुने गरेको उनले जानकारी दिए। सो रकमलाई स्थानीय स्तरमा उद्योगधन्दामा लगानी गरे अरू युवाले स्वदेशमा रोजगार पाउने शर्माले बताए।गाउँमा अमेरिका जाने लहर चलेपछि स्थानीयले थोरै रकम ऋण खोज्दा समेत नपाउने अवस्था छ। सबैले अमेरिका ताकेपछि स्थानीय सहकारी, सामुदायिक वन र व्यक्तिको नगदसमेत सोही प्रयोजनमा खर्च भएको लेखानी २ का भीमप्रसाद शर्माले जानकारी दिए। लेखानी गाविसका प्राय: सबै घरका युवा विभिन्न मुलुकमा छन्। 

गाउँमा युवाको अभाव भएपछि सामाजिक कार्य गर्नसमेत गाह्रो परेको शर्माले बताए। गाउँमा हुने सामाजिक संस्कारका काममा युवा सहभागिता न्यून रहेको शर्माले जानकारी दिए। मानव विकास सूचकांकको प्रतिवेदनअनुसार बागलुङ देशमै धेरै रेमिट्यान्स भित्रिने जिल्लामा पर्छ। यहाँबाट दैनिक ५० जना युवाले राहदानीका लागि फाराम भर्ने गरेको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए। 

Published on: 8 October 2014 | Annapurna Post

Back to list

;