s

रोजगार विभागमा ढिलासुस्ती

प्रकट कुमार शिशिर

वैदेशिक रोजगार विभागमा महानिर्देशकसहित झन्डै आधा कर्मचारी अनुपस्थित रहँदा दैनिक बिदेसिने १२ सयभन्दा बढी सेवाग्राहीको काम प्रभावित भएको छ।

विभागमा एक सय ६० जनाको दरबन्दी भए पनि ९० कर्मचारीले मात्र काम गरिरहेका छन्। विभागले काम सहज बनाउने उद्देश्यले विभिन्न मुलुकका लागि छुट्टै शाखा स्थापना गरे पनि कर्मचारी अभावले श्रम स्वीकृतिलगायत दैनिक काम प्रभावित भएको छ। यसले सेवाग्राही मारमा परेका छन्। कर्मचारी अभाव रहँदै आएको विभागमा महानिर्देशक खाली भएको छ। तीन महिनाअघि सरकारले ९० दिनको लागि भनेर महानिर्देशकमा तत्कालीन श्रम विभागका महानिर्देशक कृष्णहरि पुस्करलाई पठाएको थियो। पुस्करको तीनमहिने कार्यकाल सोमबार सकिएको छ। १५ दिनभन्दा लामो समयदेखि बिदामा रहेका महानिर्देशक पुस्कर सोमबार अन्तिम दिन विभागमा हाजिर भएका थिए। 

‘आज अन्तिम दिन हो,' उनले नागरिकसँग भने। सरकारले सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको खबर पाए पनि पत्र नपाएकाले उनले बताए। ‘मंगलबारदेखि महानिर्देशकको हैसियतमा काम हुँदैन। नयाँ जानकारी आएपछि मात्र कसरी काम गर्ने भन्ने हुन्छ,' उनले भने। 
विभागमा ढिलासुस्ती हुने गरेको पुस्कर स्वयं स्वीकार्छन्।’सधैं कर्मचारी अभाव छ। त्यसैले समयमा काम हुन सक्दैन,' उनले भने, ‘हामीजस्तै सेवाग्राहीको चाप हुने श्रीलंकामा दुई हजार कर्मचारी छन्। हाम्रोमा जम्मा एक सय ६०। त्यसमा पनि ७० जना बिदामा छन्।' 

वैदेशिक रोजगार व्यवसायी महासंघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले विभागमा पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृतिसम्मको काम समयमा नहुने बताए। ‘तीन दिनको कामलाई १२ दिनसम्म लागिरहेको छ,' उनले भने, ‘त्यसमाथि कागजपत्र हुँदा पनि कर्मचारीले पुगेन भन्दै व्यवसायी र कामदारलाई फर्काउँछन्।'

अर्का व्यवसायी भिष्मराज शर्मा सबै कागजपत्र लिएर जाँदा पनि कर्मचारीले दुःख दिएको भन्दै त्यही बोकेर श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठकहाँ पुगेका थिए। मन्त्रालयका सहप्रवक्ता बुद्धि भट्टराईले विभागमा कर्मचारी नपुग भएपछि सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको बताए। ‘हामीले सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीका लागि निरन्तर कुरा गरिरहेका छौं। त्यहाँबाट आउनेबित्तिकै पठाउँछौं,' उनले भने। महानिर्देशकको हकमा क्याबिनेटले नै निर्णय गर्ने उनले बताए। ‘पुस्करजीलाई ९० दिनको लागि खटाइएको हो। अब कि उहाँ नै रहनुहुन्छ कि तत्काल नयाँ व्यवस्था हुन्छ,' उनले भने। 

तीन महिनाअघि आक्रामक योजना ल्याएर विभागमा सुधार थालेका पुस्कर अर्काे महिना अध्ययनका लागि अमेरिका जाँदैछन्।

Published on: 06 May 2014 | Nagarik

Back to list

;