s

‘रुसी सेनामा कार्यरत नेपाली र तिनका परिवारको संवेदनशीलताप्रति गम्भीर छु’

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीका विषयमा कुराकानीका लागि रुस भ्रमणमा जाने इच्छा जनाएका छन् । मंगलबार शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुगेका रुसी राजदूत अलेक्सेई नोभिकोभसँग उनले यो इच्छा राखेका हुन् । राजदूत नोभिकोभले यो सन्देश सरकारलाई सुनाइदिने जवाफ दिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसी राजदूतलाई भेटेलगत्तै रुसी सेनामा कार्यरत तथा मृतक, घाइते एवं बेपत्ता नेपालीहरूको परिवारजन परराष्ट्र मन्त्रालयमा पुगेका थिए । उनीहरूसँगको छलफलमा श्रेष्ठले मस्कोमै पुगेर नेपालीका विषयमा रुस सरकारसँग छलफल गर्ने चाहना रुसी राजदूतमार्फत पठाएको सुनाएका थिए । श्रेष्ठभन्दा अघिका परराष्ट्रमन्त्री एनपी साउदले पनि रुस भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । तर, रुसले नेपालबाट परराष्ट्रमन्त्रीस्तरीय भ्रमणमा रुचि नदेखाएको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

उपप्रधानमन्त्री श्रेष्ठसँग टेलिफोन संवादमा पनि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ अपेक्षाकृत रूपमा सकारात्मक भएनन् । नेपालले राखेका सरोकारमध्ये मृतकका परिवारलाई क्षतिपूर्ति दिनेबाहेक अन्य विषयमा उनले ठोस जवाफ नदिएको सम्बद्ध अधिकारी बताउँछन् । रुसी विदेशमन्त्रीले रुसी सेनाको विषय रक्षा मन्त्रालयले हेर्ने भन्दै पन्छिन खोजेका थिए ।उपप्रधानमन्त्री श्रेष्ठले रक्षा मन्त्रीसँग कुराकानी गरौँ भन्दा रुस पक्षले ठोस जवाफ दिएको थिएन ।

‘मैले रुसी सेनामा नेपाली भर्तीको विषयलाई गम्भीरतापूर्वक लिएको छु । परिवारहरूप्रति मेरो सहानुभूति छ,’ मन्त्री श्रेष्ठले भेला भएका परिवारजनसँग भने, ‘रुसी राजदूतलाई मैले स्पष्ट रूपमा भनेको छु कि नेपालीहरूको विषयमा कुराकानी गर्न म मस्को जान चाहन्छु । सरकारसँग गम्भीरतापूर्वक कुरा गर्न चाहन्छु, यसका लागि सरकारसँग समन्वय गर्नुहोस् ।’

परिवारजनलाई समन्वय गरेर मन्त्रालय पुगेकी एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीका अनुसार श्रेष्ठले क्षतिपूर्ति, घाइतेहरूको उपचार तथा स्वदेश फिर्ता, मृतकका परिवारजनलाई क्षतिपूर्ति, बेपत्ताहरूको खोजीका लागि रुसी विदेशन्त्रीसँग फोनमा पनि कुराकानी गरेको र राजदूतलाई पनि स्पष्ट पारेको जानकारी दिएका छन् ।

रुसी सेनामा कार्यरत रहेका नेपालीहरूमध्ये अहिलेसम्म २५ जना भन्दा बढीको मृत्यु भइसकेको र उनीहरूको काजकिरियासमेत गरिसकेको जानकारी परिवारबाट प्राप्त भएको भण्डारीले बताइन् । चारजना सहयोगीसहित परराष्ट्र मन्त्रालय पुगेका राजदूतसँग उपप्रधानमन्त्री श्रेष्ठले २४ फागुनमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भएको टेलिफोन संवाद स्मरण गराएका थिए । परराष्ट्र मन्त्रालयले पनि रुसी राजदूतसँग उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरूका विषयमा चासो व्यक्त गरेको जनाएको छ ।

एक सातापछि भारत र चीनको शुभकामना सन्देश

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारत र चीनका समकक्षीहरूले बधाई सन्देश पठाएका छन् । भारतीय विदेशमन्त्री डा.एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीले उनलाई बधाई सन्देश पठाएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको छ । श्रेष्ठले २३ फागुनमा परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेका थिए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चेन सोङले २४ फागुनमा श्रेष्ठलाई भेटेर बधाई दिँदै उनीहरूका लागि विदेशमन्त्रीका तर्फबाट शुभकामना सन्देश सुनाएका थिए ।

‘भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पठाउनुभएको बधाई सन्देश उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले पाउनुभएको छ । उहाँले यसका लागि धन्यवाद दिनुभएको छ,’ परराष्ट्र मन्त्रालयको ट्विट्मा उल्लेख छ । चीनबाट आएको बधाई र उपप्रधानमन्त्री श्रेष्ठको धन्यवाद पनि परराष्ट्रले सार्वजनिक गरेको छ । श्रेष्ठलाई २४ फागुनमा सुरुमा भारतीय राजदूत श्रीवास्तव र त्यसपछि चिनियाँ राजदूत सोङले भेटेका थिए । परराष्ट्रले सुरुमा भारतीय विदेशमन्त्री जयशंकर र त्यसपछि चिनियाँ विदेशमन्त्री वाङको शुभकामना सन्देश सार्वजनिक गरेको छ ।

Published on: 13 March 2024 | Naya Patrika

Link

Back to list

;