s

साना चिया किसान र उद्योगीबीच सहमति

हरियो पत्तीको मूल्य वृद्धिको माग गर्दै २७ दिनदेखि आन्दोलनमा उत्रिएका झापाका साना चिया किसान र उद्योगीबीच सोमबार १० बुँदे सहमति भएको छ । सहमतिसँगै झापाली साना किसान चिया व्यवसायी संघले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । भारतीय बजारलाई आधार मानेर निकासी र लागत खर्चबापत प्रतिकिलो ३ रुपैयाँ हटाएर हरियो चियापत्तीको मूल्य निर्धारण गर्ने सहमति भएको छ । 

संवाद समूह झापाको सहजीकरणमा साना किसानका प्रतिनिधि, नेपाल चिया उत्पादक संघ, झापा उद्योग संघ, जिल्ला प्रशासन कार्यालय र झापाका राजनीतिक दलका प्रतिनिधिको रोहवरमा सहमति जुटेको हो । अहिले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रत्येक साता भारतीय बजारबाट दर मगाएर यहाँको मूल्य तोक्ने गरेको छ । बोर्डले गलगलियास्थित चन्दनबारी र बजरंग बली चिया उद्योगबाट मूल्य मगाउने गर्छ । अब तोकिएका भारतीय कारखानाबाट ल्याएको मूल्यमा शंका लागे सोहीस्तरका अन्य कारखाना र भारतीय साना चिया किसानसँग मूल्य बुझी समस्या समाधान गर्नेसमेत सहमति भएको समूहका संयोजक दीपेन्द्र भट्टराईले बताए । २०७१ असार १ देखि २ वर्षसम्म लागू गर्ने, आन्दोलनको अवधिमा हुर्किएका हरियो चियापत्तीको मूल्य आपसी समझदारीमा तय गर्ने, गुणस्तरीय चिया उत्पादनका लागि दुवै पक्ष प्रयत्नशील रहने पनि सहमति भएको छ । 

त्यस्तै साना चिया किसानलाई मल, विषादी, विद्युत्मा सरकारका तर्फबाट सहुलियत दिलाउन किसानको अगुवाइमा झापाका राजनीतिक दल, प्रशासनले पहल गर्ने र उद्योगीका तर्फबाट समेत सहयोग पुर्‍याउने, साना चिया किसानका समस्या दीर्घकालीन रूपमा समाधानका लागि यसै आर्थिक वर्षमा झापाको हल्दीबारी, जलथल र मेचीनगरमा तीन वटा चिया प्रशोधन कारखाना स्थापनाका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा सबै पक्षले पहल गर्ने सहमति भएको उनले जानकारी दिए ।

Published on: 3 June 2014 | Kantipur

Back to list

;