s

संकटमा सुरक्षा गार्डको रोजगारी

नवराज ढकाल
 
आवश्यक सीपसमेत नभईकन, तालिमको नक्कली प्रमाणपत्र बोकेर पुगेका सुरक्षा गार्डका रूपमा मलेसिया पुगेका युवाका कारण नेपालीका लागि रोजगारीको यो क्षेत्र संकटमा परेको छ। 
 
मलेसियाका रोजगारदाताले सुरक्षा गार्डका रूपमा काम गर्न जाने नेपालीलाई दक्ष बनाएर नपठाए नेपाली कामदार नै नलिने चेतावनी दिएका छन् । उनीहरूले आगामी दिनमा सुरक्षा गार्डका रूपमा पठाइने नेपाली युवालाई दक्ष बनाएर पठाउन सुझावसमेत दिएका छन् । नेपालबाट सुरक्षा गार्डमा काम गर्न गएकामा तालिम र सीपको अभाव देखेपछि यस्तो सुझाव आएको हो।
 
मलेसियाको रोजगारीमा सुरक्षा गार्डको काम सबैभन्दा आकर्षक मानिन्छ। सुरक्षा गार्डको न्यूनतम तलब ५० हजार रुपैयाँभन्दा माथि हुन्छ । अन्य क्षेत्रमा काम गर्न गएकाले औसतमा ३० हजार हाराहारीमा मात्र कमाउन सक्छन्। 
 
मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो। नेपालका तालिमप्रदायक संस्थाले आवश्यक तालिमबिनै नक्कली प्रमाणपत्र बनाएर पठाउने गरेकाले जाने कामदार अक्षम ठहरिएका हुन्।
 
वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीले मलेसियाका रोजगारदाताले नेपालबाट सुरक्षा गार्डमा काम गर्न गएका अदक्ष भएकाले अबदेखि दक्ष बनाएर पठाउन नसके लिन नै रोक्ने चेतावनी दिएको बताए। 'रोजगारदाताको गुनासो र हाम्रै अवलोकनबाट पनि त्यहाँ सुरक्षा गार्डको काम गर्न पुगेका कतिपयमा सीप अभाव भएको पाइयो'; उनले भने। 
 
मलेसियामा काम गरिरहेकामध्ये कतिपयले सुरक्षा गार्डले गर्नुपर्ने सामान्य सत्कारका कामसमेत गर्न नसक्ने, हेर्दा नै व्यावसायिक नदेखिएको त्यहाँको भ्रमण गरेर फर्केका अर्का एक अधिकारीले बताए।रोजगारदाताको चर्को गुनासो आएकाले सुरक्षा गार्डमा काम गर्न पठाउने कम्पनीलाई सचेत गराई तालिमप्रदायक संस्थालाई समेत विभागको सम्पर्कमा आउन निर्देशन दिइएको उनले जानकारी दिए।
 
सुरक्षा गार्डको तालिम दिने संस्थामाथि वैदेशिक रोजगार विभागले प्रत्यक्ष अनुगमन गर्न सक्दैन। अभिमुखीकरण तालिमभित्र सुरक्षा गार्डको तालिम नपर्ने भएकाले विभागको क्षेत्राधिकारमा नपरेको हो। सुरक्षा गार्डको तालिम सीपमूलक कार्यक्रमअन्तर्गत पर्छ।
 
यस्ता तालिमप्रदायक संस्थालाई कसले अनुगमन गर्ने भन्ने प्रस्ट नभएको विभागका अधिकारी बताउँछन्। मलेसियाले सुरक्षा गार्डमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट निवृत्त भएकालाई रोजगारी दिने गरेको छ।
 
कतिपयले सुरक्षा निकायमा काम गरेको नक्कली प्रमाणपत्र बनाएर मलेसिया पुगेको पाइएको छ भने कतिपयलाई एकदुई दिनको सामान्य तालिम लिएका भरमा दक्षताको प्रमाणपत्र दिइएको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तालिमबिनैको प्रमाणपत्र बनाउने गिरोहले यसबापत प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी असुल्ने गरेको म्यानपावर व्यवसायीको अनुमान छ।
मलेसियाका रोजगारदाताले नेपालबाट सुरक्षा गार्डमा काम गर्न गएकाहरू अदक्ष भएकाले अबदेखि दक्ष बनाएर नपठाए कामदार लिन नै रोक्ने चेतावनी दिएका छन्। हाम्रै अवलोकनबाट पनि सुरक्षा गार्डका रूपमा काम गर्न त्यहाँ पुगेका कतिपयमा सीपको अभाव पाइयो।-भरत सुवेदी,महानिर्देशक, वैदेशिक रोजगार विभाग
सुरक्षा गार्डमा न्यूनतम दुई सातादेखि एक महिनाको तालिम आवश्यक पर्छ। सेना, प्रहरीमा काम नगरेकाले तालिम लिएपछि जान पाउने भएकाले प्रमाणपत्रको खरिदबिक्री बढेको सरकारको बुझाइ छ।
 
विभागका अनुसार अहिलेसम्म नक्कली प्रमाणपत्र बनाउने गिरोह तथा संस्थाको पहिचान हुन सकेको छैन। जालसाझी गर्नेलाई प्रहरीसमेतको सहयोगमा अनुसन्धान दायरामा ल्याई कारबाही गर्न सकिने विभागका अधिकारी बताउँछन्।
 
प्रमाणपत्र खरिदबिक्री हुने गरेको व्यापक गुनासो आउन थालेपछि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा समेत कडाइ गर्न थालेको छ। प्रमाणपत्र सक्कली वा नक्कली के हो भनेर अध्ययन गरी सक्कली भएको प्रमाणित भएमा मात्र म्यानपावर कम्पनीलाई कामदार पठाउन अनुमति दिने महानिर्देशक सुवेदीले बताए। 
 
सुरक्षा गार्डमा कामदार पठाउन अनुमति मागेका कम्पनीको फाइल विभागमा नै मगाएर अनुसन्धान थालिएको उनले जानकारी दिए। यसअघि श्रम कार्यालयले फाइल स्वीकृत गर्दै आएकामा नक्कली प्रमाणपत्र बनाएर पठाएको आशंका भएपछि विभागमै फाइल झिकाएर अनुसन्धान गर्न थालिएको छ।
 
नेपाल वैदेशिक रोजगारी व्यवसायी संघका निवर्तमान महासचिव कमल तामाङले सुरक्षा गार्डको जागिर आकर्षक भएकाले निवृत्त भएका सेना, प्रहरीको नक्कली अनुभवको प्रमाणपत्र बनाएर जानेक्रम बढेको बताए। 'मलेसिया र खाडी मुलुकमा सुरक्षा गार्डको धेरै माग हुने गरेको र आम्दानीसमेत आकर्षक रहेकाले जान चाहने धेरै छन्। 
 
तालिम दिने संस्थाले पैसाको प्रलोभनमा काम गरेका हुन सक्छन्', उनले भने। निःशुल्क भिसा र टिकटका कारण कामदार पठाउन नसकेको अवस्थामा नक्कली तालिम लिएको विषयले अझै अप्ठेरो अवस्था उत्पन्न भएको व्यवसायीको भनाइ छ। वीर गोर्खालीको परिचय बनाएकाले मलेसिया, सिंगापुरसहित खाडीका प्रायः सबै मुलुकले सुरक्षा गार्डमा नेपाली कामदारलाई प्राथमिकता दिँदै आएका छन् ।
 
Published on: 5 September 2015 | Annapurna Post
 
 
 

Back to list

;