s

शंकास्पद’ १२ बालकको उद्धार

बालबालिका बेचिने र हराउने क्रम बढिरहेका बेला सोमबार राति यहाँ शंकास्पद अवस्थाका १२ बालकको उद्धार गरिएको छ । प्रहरीले मध्य राति केन्द्रीय बसपार्क भरतपुरबाट काठमाडौं जाने तयारी गरिरहेका बालबालिका र अभिभावकलाई सडकमा अलपत्र अवस्थामा देखेपछि उद्धार गरेको हो । 

उद्धारपश्चात् प्रहरीले उनीहरूलाई 'आदर्श गृह' को जिम्मा लगाएको थियो । ती बालक ८ देखि १४ वर्षका छन् । सबै सिन्धुपाल्चोक भोताङका हुन् । 'ती बालबालिकाका अनुसार काठमाडौं बौद्ध गुम्बाबाट काँकडभिट्टा लग्ने तयारी गरिएको थियो,' आदर्श गृह प्रमुख मीना खरेलले भनिन्, 'काँकडभिट्टाबाट बच्चा अहिले नल्याउन भनेपछि भरतपुरमा झारेर काठमाडौं लैजाने तयारी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।' 

उनका अनुसार साता अघि काँकडभिट्टाबाट उद्धार गरिएका २३ मध्ये १२ बालक हुन् । उनीहरूलाई घर फर्काउने भनेर फिर्ता गरिएको भए पनि काठमाडौं बौद्धमा राखेर फेरि काँकडभिट्टा लग्दै गर्दा उद्धार गरिएको खरेलले बताइन् । 

काठमाडौंबाट दिउँसो ३ बजे हिँडेका उनीहरू राति १२ बजे यहाँ आइपुगेका बताइएको छ । 'यति धेरै बालकलाई शंकास्पद अवस्थामा काठमाडौंबाट ल्याउँदा प्रहरीले केही गरेनछ,' खरेलले भनिन्, 'सिन्धुपाल्चोकका छोरीचेली बिक्री हुने गरेको खबर सुनिन्थ्यो, कतै बालकहरूलाई पनि बिक्री गर्न लगिएको त होइन भन्ने शंका लागेको छ ।' उनले सिन्धुपाल्चोकस्थित बालकल्याण समितिको कार्यालयलाई जानकारी गराइएकाले बुधबार आउने बताइन् । 

सबैलाई गृहमा राखिएको छ । काठमाडौंको थानकोट नाका हुँदै उनीहरू यहाँसम्म आएका हुन् । थानकोटमा चेकजाँच हुन्छ । तर उनीहरू कसरी र किन आइपुगे भन्ने खुल्न सकेको छैन । उनीहरू काँकडभिट्टा हुँदै भारत पढ्न जाने तयारीमा रहेको बुझिएको छ । जिल्ला प्रहरीका डीएसपी राजन अधिकारीका अनुसार बालकका २ बुवा, २ जना दाइ र २ अभिभावकका साथी सँगै छन् । 'यसबारेमा सिन्धुपाल्चोक बाल कल्याण समितिको कार्यालयका प्रतिनिधि आएपछि थप छलफल गर्छौं,' उनले भने, 'त्यहीअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउने छौं ।' प्रहरीले सोमबार राति बालकको उद्धार गरे पनि मंगलबार साँझ मात्र उनीहरूलाई गृहबाट ल्याएर सोधपुछ गरेको थियो । 

अभिभावकको साथी भनिएका तेन्जिङ लामाको साथमा नेपाल मानव अधिकार संगठनको परिचयपत्र फेला परेको छ । प्रहरीले घटनाक्रमबारे थप खुलाउन चाहेन । 'घटना शंकास्पद लागेको छ,' आदर्श गृहका सूचना संयोजक अर्जुन अधिकारीले भने, 'उद्धार गरिएका बालकको सम्बन्धमा सम्बन्धित निकायले खासै चासो दिएका छैनन् ।' उनका अनुसार उद्धार गरिएका बालकहरू लामा र तामाङ थरका छन् । सबै स्कुल पढ्दै गरेका बालक हुन् । 

बालश्रम लाउनेलाई जरिवाना 

बालबालिकालाई श्रममा लगाउने होटल र कारखानाका मालिकहरूलाई श्रम कार्यालय मकवानपुरले क्षतिपूर्ति तिराएको छ । बालबालिकालाई श्रममा लगाएको आधारमा कार्यालयले क्षतिपूर्ति भराएको हो । हेटौंडा १० टीसीएन रोडस्थित चाँदनी पाउरोटी कारखाना सञ्चालक निसार आलमलाई १ लाख ५० क्षतिपूर्ति भराएको छ । उक्त कारखानाबाट ५ जना बालबालिकाको उद्धार गरेको थियो । हेटौंडा २ संगम चोकस्थित श्रेष्ठ होटल र जेरी पसलका रोजगारदाता मोतीलाल गुप्ताबाट २४ हजार रुपैयाँ जरिवाना गरिएको छ । उनको होटल र पसलबाट २ बालकको उद्धार गरिएको थियो । संगम चोकस्थित चिया नास्ता होटलका सञ्चालक राजु श्रेष्ठलाई ६० हजार क्षतिपूर्ति भराएको छ । ओमप्रकाश श्रीवास्तवलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ । 

चमेना गृहका खोपप्रसाद दाहाललाई ८ हजार रुपैयाँ दण्ड गरिएको छ । बालश्रम प्रयोग गरेबापत बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ अन्तर्गत क्षतिपूर्ति रकम तिराएको श्रम कार्यालयका निमित्त प्रमुख श्याम श्रेष्ठले बताए । बालकको उमेर र उनीहरूले काम गरेको अवधिको आधारमा जरिवाना तोकिएको हो उनले भने । रोजगारदातालाई क्षतिपूर्तिस्वरूप भराएको रकम सम्बन्धित बालबालिकाका पारिवारिक मिलनका क्रममा बालबालिकाको नाममा बैंक खाता खोलेर रकम जम्मा गरिदिने सिविन बाल हेल्पलाइनका प्रमुख झवीन्द्र ज्ञवालीले बताए । २ दिनअघि उक्त होटल, पसल र कारखानाबाट ९ जना बालबालिकालाई उद्धार गरिएको थियो । 

Published on: 5 February 2015 | Kantipur

Back to list

;