s

शरणार्थीको संगमस्थल

भुटानी शरणार्थी श्यामबहादुर छेत्री (नाम परिवर्तन) मोरङ शनिश्चरेको शिविरमा बस्छन् । उनका बुवाआमा चाहिँ भुटानको छुका जिल्लामा छन् । गएको दसैंमा टीका थाप्न उनी भारतको जयगाउँ आए । छुकाबाट बाआमा पनि त्यहीँ आइपुगे । छोरालाई टीका लगाएर गुपचुप फर्किए । 

भारत र भुटान जोड्ने जयगाउँ सीमा नाका भुटानी शरणार्थीबीचको परिवारिक भेटघाटस्थल बन्ने गरेको छ । सन् १९९० को दशकमा लाखौं भुटानी नागरिक अपमानित भई राज्यबाट लखेटिए । उनीहरू नेपालका विभिन्न शिविरमा शरणागत जीवन बिताइरहेका छन् । त्यो लखेटाइमा कसैका छोराछोरी छुटे, त कसैका आमाबुबा बिछोडिए । भुटानका सात जिल्लाबाट नेपालीभाषी आफन्त भेट्न जयगाउँ आउँछन् । सबभन्दा बढी छुका जिल्लाबाट आउँछन् । सरपाङ, साम्ची, चिराङलगायत जिल्लावासी आउने र आफन्त भेट्ने स्थल पनि जयगाउँ नै हो । 

'चाडबाडका बेला भुटानमा रहेका परिवार र शरणार्थीबीच भेटघाट गर्ने थलो नै यही हो,' स्थानीय अगुवा पत्रकार तिलकबहादुर क्षेत्रीले सुनाए । उनका अनुसार शरणार्थीलाई भुटान प्रवेशमा कडाइ छ । तर, भुटानका नेपालीभाषीलाई जयगाउँ आउन समस्या छैन । 'शरणार्थी आएको पत्तो पायो भने प्रहरीले समात्छ,' उनले भने, 'त्यही कारण गुपचुपमा भेटघाट गर्छन् र फर्किन्छन् ।' केही समयअघि आफन्त भेट्न आएका केही शरणार्थी पक्राउ पनि परेका थिए । पछि छाडिए । 

खासमा स्वदेश फिर्ती अभियानका लागि सशस्त्र आन्दोलनको उद्घोष गरेको भुटानी कम्युनिस्ट पार्टी (माले) का कार्यकर्ताले बेला बेला गर्ने हिंसात्मक गतिविधिको डर भुटानलाई छ । उनीहरूको घुसपैठ रोक्न नाकामा उच्च सुरक्षा सतर्कता देख्न सकिन्छ । वारि जयगाउँपट्टि सिमासुरक्षा बलको तैनाथी छ भने पारी फुन्छ्योलिङतिर भुटानी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । विगतमा भुटानी प्रहरीले भारतीय प्रहरीको सहयोगमा आफन्त भेट्न आएकाहरूलाई पक्राउ गरी बुझाएका उदाहरण प्रशस्त छन् । तर, यतिबेला समस्या कम हुँदै आएको छ । 

'शरणार्थीलाई छिर्नै नदिने भुटानी रणनीति थियो', स्थानीय राजनीतिककर्मी विष्णु तामाङले भने, 'धेरै शरणार्थी तेस्रो देश पुर्नवास भइसकेकाले यो समस्या कम हुँदै गएको उसले बुझेको छ ।' 

Published on: 21 October 2014 | Kantipur

Back to list

;