s

साउदीको भिसा लिन ढाका

नेपालस्थित साउदी अरबको राजदूतावासले भिसामा सिन्डिकेट शैली लागू गर्दै अनावश्यक कागज माग्न थालेको भन्दै व्यवसायी कामदारको भिसा लिन बंगलादेशको ढाका पुग्न थालेका छन्। केही महिनाअघि खुलेको दूतावासले सीमित म्यानपावर कम्पनीलाई मात्र भिसा दिने र अरबी भाषाको अनुवादमा झन्झटिलो प्रक्रिया लादेको पनि व्यवसायीको गुनासो छ। नेपालमा दूतावास आउनुअघि साउदी जाने नेपाली कामदारलाई भिसा ढाकास्थित दूतावासले दिन्थ्यो। 

दूतावासले अधिकांश कम्पनीलाई हप्तामा ५० कामदारको मात्र भिसा दिने र केही कम्पनीलाई मागअनुसार दिन थालेको व्यवसायीको भनाइ छ। यसले गर्दा केही बढी लागत परे पनि भिसा लिन ढाका जान थालेको उनीहरुले बताए। दूतावासले सोमबारदेखि बिहीबारसम्मको समय छुट्याएर एक हप्तामा एउटा कम्पनीलाई ५० कामदारको भिसा दिन्छ। व्यवसायीका अनुसार उसले भिसाको लागि अनावश्यक कागजपत्र माग्दै त्यसको अरबी अनुवाद गराएर पेस गर्न लगाउँछ। दूतावासले पछिल्लो समय शैक्षिक प्रमाणपत्र र पुलिस रिपोर्टसमेतको अरबी अनुवाद माग्न थालेको छ। अनुवाद दूतावासले तोकेकै कम्पनीबाट गराउनु पर्ने नियम छ। प्रत्येक कागजपत्रको अरबी भाषामा अनुवाद गर्दा छुट्टाछुट्टै रकम तिर्नुपर्ने हुन्छ। 

बंगलादेशमा भिसा आवेदन दिँदा ती कागजपत्र र अरबी अनुवाद नचाहिने तथा भिसा पनि तुरुन्तै पाइने भएकाले व्यवसायी त्यता आकर्षित भएका हुन्। प्रगतिशील वैदेशिक रोजगार मञ्चका अध्यक्ष तथा पिजन इन्टरनेसनलका सञ्चालक टंक राउतले नेपालस्थित साउदी दूतावासले अनावश्यक कागजपत्र माग्ने र भिसा दिन आनाकानी गरेपछि अधिकांश व्यवसायी ढाका जान थालेको बताए। ‘हामीलाई त नेपालमा साउदी दूतावास भएको अनुभव नै भएन। दूतावास आउने भनेपछि उत्साहित व्यवसायी अहिले निरुत्साहित भएका छन्,' उनले भने। 

ढाकामा नेपालमा मागिने कुनै पनि कागजपत्र नचाहिने र भिसा पनि आजको भोलि दिने उनले सुनाए। ‘सजिलो भएका कारण खर्च लागे पनि व्यवसायी उतै जान थालेका हुन्,' उनले भने। राउतका अनुसार ढाकामा पुगेर भिसा लिँदा प्रतिव्यक्ति आठ हजार रुपैयाँ बढी लाग्छ। आफूले पनि तीन सय ५० जनाको भिसा लिन ढाकास्थित साउदी दूतावासमा निवेदन दिएको उनले सनाए। दूतावासले सीमित संस्थाबाट अरबी भाषा अनुवाद गर्न लगाउने र त्यसबाट पैसा उठाउने गरेको व्यवसायीको आरोप छ। 

दूतावासले गल्फ कन्स्ल्टेन्सी, नासा, सोलुसनलगायतलाई कागजपत्र, प्रमाणपत्र र पुलिस रिपोर्ट अनुवाद गर्ने अनुमति दिएको छ। प्रत्येक कागजपत्र नेपाली वा अंग्रेजीबाट अरबीमा अनुवाद गरेको उक्त कम्पनीले तीन सय रुपैयाँ लिन्छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले साउदी अरबको भिसा प्रक्रिया केही झन्झटिलो रहेको बताए। ‘भिसा र कागजपत्रका विषयमा दूतावासमा केही समस्या देखिएको छ, हामी यस विषयमा चारपटकसम्म दूतावासमा डेलिगेसन गइसकेका छौं। अहिले केही सुधार भए पनि पूरै समाधान भएको छैन,' उनले भने। 

केही व्यक्तिले निजी स्वार्थ पूरा गर्न दूतावासलाई पनि झुक्याएको उनले बताए। ‘हामीले खबरदारी गरिरहेका छौं,' अध्यक्ष वाग्लेले भने, ‘नेपालमा दूतावास खुल्दा जुन आशा थियो त्यो त्यो पूरा भएन। समस्याका विषयमा संघले अनुसन्धान गरेर दूतावासलाई फेरि खबर गर्ने उनले बताए।

Published on: 3 July 2014 | Nagarik

Back to list

;