s

साउदीमा ५ नेपाली अलपत्र

उनीहरूलाई दुई वर्षदेखिको तलब भत्ता दिइएको थिएन । सम्झौताअनुरूप तलब नदिएपछि श्रम अदालत धाए । अदालतले साता दिनभित्र तलब भुक्तानी गरेर दुई महिनाभित्रै पालैपालो घर पठाउने आदेश दियो ।

'तलब पाएको दुई महिनासम्म काम गरिदिनुपर्ने सहमति थियो,' साउदी अरबको बादी दोवासर्मामा अलपत्र परेका ५ जनामध्ये एक कैलाली टीकापुरका हस्त रावलले भने, 'साहुले अरू सबैलाई तलब दिएर घर पठायो । मसहित ५ जनालाई अहिले अर्को ठाउँमा काम गर्न हिँड, तलब उतै दिन्छु भनेर लग्यो ।' उनीहरूलाई पहिला बसिरहेको सहर बादीबाट डेढ सय किलोमिटर टाढाको अनकन्टार जंगलमा लगेर थप काम लगाएपछि साहुले तलब नदिएर ठगेको हो । अहिले अलपत्र अवस्थामा परेका उनीहरूले फेसबुक र आफन्तलाई टेलिफोन सम्पर्क गरेर उद्धारको पहल गर्न आग्रह गरेका छन् ।

टीकापुर अस्नेरीका हस्त, मकवानपुर हेटौंडाका रेशम थिङ र राजु नगरकोटी तथा धादिङका श्रीराम घिसिङ ठगिएर अलपत्र परेका हुन् । उनीहरू गोरखा नेपालमार्फत गएका थिए । काठमाडौं जावलाखेलको एस इम्प्लोइमेन्ट ब्युरो प्रालि त्यसको म्यानपावर कन्सल्टेन्सी हो । साहिद हादी अल दोसरी कन्टेक्टिङ इस्ट नायक कम्पनीमा उनीहरू कार्यरत थिए । विदेशमा कमाएको रकमले गाउँमा घरजग्गा जोडेर परिवारका साथमा रमाइलो जीवन जिउने रहरले दुई वर्षअघि साउदी पुगेका यी ५ जना युवा अहिले कम्पनी साहुबाट ठगिएर खाडीमा दु:खका दिन बिताइरहेका छन् । '१२ सय (साउदी पैसा) दिन्छु भनेर झन्डै ७५ जना नेपाली कामदारलाई काममा लगाएको थियो,' हस्तले भने, 'श्रम अदालत गएपछि हजारका दरले मासिक तलब दियो ।' त्यो तलब पाएपछि अरू सबै घर फर्किसकेका छन् । तर, साहुले यी पाँच जनालाई फोनको नेटवर्कसमेत नभएको अनकन्टार ठाउँमा थप ६ महिना काम गराएर फसाएको हो ।

साहुको सबै चाल बुझेपछि रातारात भागेर पहिलेकै ठाउँमा आएर उनीहरूले प्रहरी, नेपाली राजदूतावासलगायत ठाउँमा गुहार मागे पनि कसैले सहयोग नगरेको गुनासो गरेका छन् । 'आजभोलि भनेर प्रहरीले पनि झुलाइरहेको छ । दूतावासका कृष्ण दुवाडी सरलाई अनुनयविनय गर्दासमेत उनले एम्बेसी आएर काम छैन । त्यतै बस, म कुरा गर्छु मात्रै भन्नुभो,' हस्तले टेलिफोन सम्पर्कमा आफ्नो पीडा सुनाए ।

केही दिनसम्म त उनीहरूले आफूहरूसँग भएको पैसाले काम चलाए । तर त्यो पनि सकिएपछि अहिले गहिरो संकटमा परेको बताए । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा उद्धार र सहयोगको आग्रह गरिरहेका ती युवाले खान र बस्नको समस्या परेको र विदेशमा सहयोगी साथी कोही पनि नहुँदा सक्दो सहयोगको आग्रह गरेका हुन् । स्वदेश फर्किन पनि रकम अभाव भएपछि उतै बस्न बाध्य भएको उनीहरूले टेलिफोन र च्याट संवादमा बताएका छन् । टीकापुर र हेटौंडालगायतका ठाउँमा रहेका उनीहरूका आफन्तले पनि सरकारलाई तत्काल उद्धार पहल गर्न आग्रह गरेका छन् ।

Published on: 27 November 2014 | Kantipur

Back to list

;