s

साउदीमा आममाफी ४ महिना

आममाफीको समयावधि सकिनु एक दिनअघि मंगलबार साउदी सरकारले आप्रवासीलाई बिना जरिवाना वैधता प्राप्त गर्न वा स्वदेश फर्कन थप चार महिना समय दिएको छ। यसअघि तोकिएको जुलाई ३ सम्मको अवधिमा लाखौं अवैध आप्रवासीको कानुनी प्रक्रिया नटुंगिएपछि साउदी राजा अब्दुल्ला विन अब्दुला अजिज अलसाउदको आदेश मुताबिक समय थप गरिएको हो।

राजा अब्दुल्लाले परराष्ट्र, आन्तरिक तथा श्रम मन्त्रालयलाई हिजरी १४३४ को अन्त्यसम्ममा अवैध आप्रवासीको समस्या समाधानमा पूर्ण सहयोग गर्न आदेश दिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ। नयाँ हिजरी साल १४३५ को सुरुपछि अर्थात् नोभम्बर ४ पछि भने अवैध आप्रवासीलाई कडा कारबाही गर्नसमेत राजाले आदेश दिएका छन्। 

आममाफीको समयावधि बढाउन यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारी र उद्योग व्यवसायीले समेत माग गर्दै आएका थिए। कूटनीतिक नियोगका पदाधिकारीले केही दिनअघि श्रममन्त्रीलाई भेटेर आममाफीको समयावधि तीन महिना थप्न र कार्यगतिसमेत बढाउन आग्रह गरेका थिए। त्यतिबेला साउदी श्रममन्त्रीले जुलाई ३ भित्रै आफ्ना नागरिकलाई स्वदेश फर्काउन वा वैध तुल्याउन आग्रह गरेका थिए। 

उद्योगी, व्यापारी एवं निर्माण व्यवसायीहरूले समेत आन्तरिक र श्रममन्त्रीहरूलाई भेटेर आममाफीको समयावधि बढाउन अनुरोध गरेका थिए। निर्माण व्यवसायीहरूको संस्थाका अध्यक्ष अब्दुल रिदवान नेतृत्वको टोलीले थुप्रै आप्रवासी कामदारलाई कानुनी प्रक्रियामा ल्याउन बाँकी रहेको जनाउँदै आममाफीको अवधि नोभम्बर ४ सम्म बढाउन आग्रह गरेका थिए। 

पछिल्लो तथ्यांकअनुसार हालसम्म दुई लाख आप्रवासी कामदारले मात्रै अध्यागमन विभागबाट स्वदेश फर्कने अनुमति पाएका छन्। १८ लाखभन्दा बढी आप्रवासीको कानुनी प्रक्रिया नै बाँकी छ। यो तथ्यांक कुल सार्वजनिक अवैध कामदारको १० प्रतिशत मात्रै हो। समयसीमा थप गरिएपछि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, इजिप्ट, श्रीलंका र यमनका आप्रवासीले फाइदा पाउनेछन्। 

साउदी सरकारले यसअघि सन् १९९८ मा आप्रवासी कामदारलाई आममाफीसहित स्वदेश फर्कने अवसर दिएको थियो। तर छोटो अवधिमा कानुनी प्रक्रिया पूरा गर्न नसक्दा हजारौं नेपाली पुनः अवैध हुने चिन्तामा थिए। स्वदेश फर्कने आप्रवासी नेपाली यहाँको अध्यागमन कार्यालयमा पालो पर्खने क्रममा सडक र पेटीमै बास बस्न बाध्य छन्। बेखर्ची भएर बिचल्लीमा पर्नेको संख्या पनि ठूलो छ। 

नेपाली दूतावासले वितरण गरेको ३५ हजार बढीलाई यात्रा अनुमति सिफारिस दिएकोमा त्यसमध्ये सात हजार नेपाली मात्र स्वदेश फर्कन सफल भएको राजदूत उदयराज पाण्डेको अनुमान छ। बाँकी नेपाली भने दिनहुँ जुबेल, जेद्दा, दमाम र रियादस्थित अध्यागमन कार्यालय धाइरहेका छन्। अध्यागमन कार्यालयमा दैनिक हजारौं नेपालीको भिड लागे पनि दैनिक दुई सयभन्दा बढी नेपालीको काम हुन सकेको छैन। दूतावासबाट 'आउट पास' लिएकामध्ये २८ हजारभन्दा बढी स्वदेश फर्कने अनुमति लिन यहाँका अध्यागमन कार्यालयमा लाम लाग्ने गरेका छन्। 

आममाफीको समयावधि समाप्त हुनु एक साताअघि साउदी सरकारले अध्यागमन कार्यालयको कार्यगति तीव्र बनाउने र बिदाको दिन पनि काम गर्ने जनाएको थियो। तर रियादबाहेक अन्यत्रको अवस्था अझै उस्तै छ। रियादमा भने बिहान ७ बजेदेखि राति ११ बजेसम्म कार्यालय सञ्चालन हुने गरेको छ। तर सबै देशका आप्रवासी कामदारको भिड रियादमै लाग्ने गरेकाले समस्या ज्यूँका त्यूँ छ। 

अध्यागमनमा कानुनी प्रक्रिया पूरा गराउन कुनै शुल्क नलाग्ने भए पनि घुस नखुवाई काम नहुने गरेको पीडित नेपालीहरूको गुनासो छ। अर्कोतर्फ अध्यागमनले स्वदेश फर्कन पाउने अनुमति दिएपछि पनि एयरपोर्टको अध्यागमन विभागमा समयमै सूचना नपुग्दा केही नेपाली विमानस्थलबाटै फर्कनुसमेत परेको छ। जुलाई ३ अघिको हवाई टिकटसमेत पाउन छाडेको थियो।

Published on: 3 July 2013 | Nagarik

Back to list

;