s

साउदीमा आममाफीको अवधि थपियो

होम कार्की

साउदी अरबले दुई महिने आममाफीको समय बुधबारबाट अरू चार महिना बढाएको छ । कागजात नभएर अलपत्र हजारौं नेपालीलाई यसबाट ठूलो राहत पुगेको छ ।

साउदीले गैरकानुनी कामदारलाई जुलाई २ अर्थात् असार १८ गतेसम्मका लागि आममाफी दिएको थियो । नेपाललगायत विभिन्न देशले त्यसको समय थप्न गरेको लिखित आग्रहलाई सुनुवाइ गर्दै चार महिना (नोभेम्बर २ सम्म) समय दिइएको हो ।

परिचयपत्र र राहदानीजस्ता कागजात साथमा नभएर साउदीबाट नेपाल जान नसकेका कम्तीमा १० हजार नेपालीलाई यसबाट लाभान्वित हुने त्यहाँको नेपाली दूतावासले जनाएको छ ।

'विमानस्थलबाटै स्पोन्सरमा नपुगेका, स्पोन्सरमा पुगेर परिचयपत्र नबनाई भागेका कामदार स्वदेश फिर्नबाट वञ्चित हुनुपरेको छ,' साउदीका लागि नेपाली राजूदत उदयराज पाण्डेले भने, 'त्यस्ता कामदार कम्तीमा १० हजार थिए । अब उनीहरूलाई ठूलो राहत मिलेको छ ।'

अर्कातर्फ ट्राभल डकुमेन्ट -आउटपास) पाएर स्वदेश फिर्न नसकेकाको हकमा के हुने भनेर अन्योल भइरहेको बेला आममाफीको समय बढेपछि तिनलाई पनि सजिलो भएको उनले बताए । 'अब सबै नेपालीलाई उद्धार गरेर पठाउन सक्ने आँट आएको छ,' उनले भने ।

दुई महिने समयमा दूतावासले ३५ हजार नेपालीलाई ट्राभल डकुमेन्ट दिएको थियो । उनीहरू पनि विमानस्थलबाट र्फकनुपरेको थियो । आफूलाई उपलब्ध गराएको नम्बर विमानस्थल नपुगिसकेका, साउदी अबरमा अवैधानिक तवरले भित्रिएका, अदालतमा मुद्दा परेका र छिनोफानो भइनसकेका, व्यक्तिगत विवरण गलत भएका, अध्यागमनमा फिंगर पि्रन्ट नभएका र ट्राफिक प्रहरीमा जरिवाना तिर्न बाँकी रहेकाहरू स्वदेश फिर्न नपाएको दूतावासले जनाएको छ ।

घर फिर्न नपाएकाहरू अझै सार्वजनिक पार्क, सडक वा खुला चौरमा बसिरहेका छन् । दिनभर चर्को घाममा बसेकाहरू रातभर खुला चौरमा खजुरको बोटमुनि बस्न बाध्य भएका छन् । जेद्दामा आक्रोशित भीडबाट दूतावासबाट खटी गएका कर्मचारीलाई आक्रमणको प्रयास गरिएको थियो ।

साउदीमै सबैलाई काम नगरेको भन्दै इन्डोनेसियालीले दूतावासमै आगो लगाइदिएका थिए । त्यसमा एक जना महिला कामदारको भीडमा लडेर ज्यान गएको थियो । 

आममाफीको समयमा हजारौं नेपालीलाई उद्धार गर्न काठमाडौंबाट सरकारले आवश्यकताअनुसार बजेट र कर्मचारी उपलब्ध नगराएकाले जटिल समस्या परेको राजदूत पाण्डेले बताए । 'यहाँ कामदारको समस्या जीवनसँग जोडिएको छ,' उनले भने, 'यस्तो बेला सरकारसँग खाना र बस्न आपतकालीन बजेट माग्दा पनि पाइएको छैन ।' साउदीमा ७० हजार गैरकानुनी कामदार रहेको अनुमान गरिएको छ ।

सेल्टरमा १२५ पुगे

आममाफीमा घर फिर्न नेपाली दूतावासको सेल्टरमा बस्ने नेपाली महिलाको संख्या १ सय २५ सम्म पुगेको छ । यो अहिलेसम्मको उच्च हो । ३५ जना पनि नअट्ने सेल्टरमा यति धेरै महिला थुपि्रएपछि दूतावासले वैकिल्पक व्यवस्था गर्नुपरेको छ । 'अहिले गर्मीको सिजन छ । बाहिरै घेरेर बस्न मिल्ने गरी वैकल्पिक व्यवस्था गरेका छौं,' राजदूतले भने, 'जसरी पनि राख्नुपरेकै छ ।'

Published on: 3 July 2013 | Kantipur

Back to list

;