s

साउदीमा ‘मृत्यु भएकी’ महिला नेपालमा जीवितै

बीस महिना अघि आत्महत्या गरेकी एक घरेलु कामदार नेपाली महिलाकोे शव सद्गत भइनसक्दै उनी नेपालमा ज्युँदै रहेको पाइएको छ। नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालय मार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लेखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो।

समाचार सार

नेपाली राहदानीको दुरुपयोग – राहदानीअनुसार अात्महत्या गरेको भनिएकी महिला नेपालमा ज्युँदै फेला परेकी हुन् । कागजपत्रअनुसार नेपाली राहदानी नम्बर ४००५६०५ का लमजुङ जिल्ला प्याराजुंग गाविस– ८ निवासी ४२ वर्षीय दुर्गाकुमारी गुरुङ घरेलु कामदारका रूपमा सन् २०११ डिसेम्बर ७ मा साउदी अरब आएकी थिइन्। त्यसको ८ महिना १३ दिनपछि २०१२ अगस्ट २० मा उनले आत्महत्या गरिन्। लमजुङ जिल्ला प्रशासन कार्यालयबाटै प्रदान गरिएको राहदानी र नागरिकता मृतकको साथमै फेला परेका थिए। त्यसमा उनकै तस्बिर छ। यसले नेपाली राहदानीको दुरुपयोग खुलासा गरेको छ।

उनको नागरिकता लमजुङ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी जेपी अर्यालको हस्ताक्षरमा जारी गरिएको उल्लेख छ। नागरिकता नम्बर ४५२६३/४८७ भएको र जन्ममिति २०२६ कात्तिक २८ गते उल्लेख गरिएको नागरिकता प्रमाणपत्रमा बाबुको नाम हेमराज गुरुङ लेखिएको छ।

सन् २००८ जुन २९ मा जारी गरिएको र २०१८ जुन २८ सम्म म्याद रहेको राहदानीमा निकटतम नातेदारका रूपमा देवराज गुरुङको नाम छ। राहदानीमा गुरुङको जन्ममिति सन् १९७० जुलाइ २८ उल्लेख छ। यो जन्ममिति नागरिकतामा उल्लेखितभन्दा ८ महिना १५ दिन फरक पाइएको छ। राहदानी र नागरिकतामा भएको विवरणका आधारमा दूतावासले सोधखोज गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले ...दुर्गाकुमारी गुरुङ विदेश नगएको र हालसम्म गाउँमै बसोबास गरिरहेको' पत्र पठाएको थियो।

दूतावासका अनुसार मृतक महिला भारतीय हुनसक्ने र उनी विदेशमा महिला बेचबिखन गर्ने गिरोहमार्फत साउदी अरब आएकी हुनसक्छिन्। उनले सम्पर्क गरेका टेलिफोन र मोबाइल नम्बरमा भारतीय कोड नम्बर भएकाले पनि उनी भारतीय भएको अनुमान गरिएको हो। मृतक महिलाले ००९१–७११०४४०५१, ००९१–९४०४९६६४३९ लगायत नम्बरमा फोन गरेको पाइएको छ। उनले पैसासमेत भारततर्फ नै पठाउने गरेको उनको मालिकले बताएका छन्।

मृतक नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेपछि उनको शव बेवारिसे भएको छ। सनाखत हुन नसकेको शवलाई साउदी सरकारले देश बाहिर लान अनुमति नदिने भएकाले बेवारिसेसरह मुस्लिम संस्कारअनुसार दफन गरिने छ। दूतावासका अनुसार नेपाली नागरिकले नै अन्य नेपालीको राहदानी प्रयोग गरेर आएको भए राहदानीबमोजिमै सनाखत गरेर नेपाल पठाउने र काठमाडौं विमानस्थलमा मृतकको सम्बन्धित नातेदारलाई नै बुझाउने गरिएको छ। त्यसैगरी मृतकले पाउने बिमा रकमसमेत सम्बन्धित हकदारलाई नै उपलब्ध गराउने गरिएको छ।

दूतावासमा नेपाली राहदानी लिएर भारत हुँदै साउदी अरबमा आउने नेपाली मात्रै नभई भारतीय महिलासमेत प्रशस्त पाइएको छ। दूतावासका अनुसार अन्य मुलुकका महिला भए पनि नेपाली राहदानी भएकै कारण साउदी सरकारले नेपाली दूतावासलाई जिम्मा लगाउने गरेको छ। उनीहरूलाई मानवताका आधारमा दूतावासले उद्धार गर्दै आएको छ। नेपाली राहदानीमा विशेष गरेर भारतीय महिला आउने गरेका छन्।

Published on: 9 April 2014 | Nagrik

Back to list

;