s

सीमाबाट एकसाथ २३ बालबालिकाको उद्धार

धनगढीको त्रिनगर नाकाबाट भारततर्फ लगिँदै गरेका ५ देखि १५ वर्षमुनिका २३ बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । भारत लखिमपुरस्थित क्रिस्चियन होस्टलमा भर्ना गर्न भन्दै लाँदै गरिएका अभिभावकविहीन ती बालबालिकालाई त्रिनगरस्थित प्रहरी टोलीले बुधबार दिउँसो उद्धार गरेको हो ।

'बालबालिकालाई नगरबसबाट सीमा पार गराउँदा शंका लागेर सोधपुछ गर्दा बालबालिकासहित उनीहरूलाई लिएर जाने ४ जनालाई नियन्त्रणमा लिइएको हो,' प्रहरी नायब उपरीक्षक ऋषि कँडेलले भने, 'अहिले बालबालिकालाई माइती नेपाल र जिल्ला बालकल्याण समितिको जिम्मा लगाएका छौं ।' घटनाबारे अनुसन्धान भइरहेको कँडेलले जानकारी दिए ।

उद्धार गरिएका २३ मध्ये १९ जना कालिकोट र ४ डोटीका हुन् । जिल्ला प्रहरीका अनुसार बालबालिकालाई भारत लाने कालिकोट कालिका ९ र ८ बस्ने ३२ वषर्ीय पूर्णबहादुर सेजुवाल, ४४ वषर्ीय अजिपाल महतरा, १९ वषर्ीय धनमाया घर्ती मगर र ५० वषर्ीय जयसुर सेजुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकी धनमायाले आफू उद्धार गरिएका बालक वसन्तकी दिदी नाता पर्ने बताएकी छन् । यस्तै, पूर्णले उद्धार गरिएका अर्का बालक सुरेशको बुबा नाता पर्ने बताएका छन् । उनीहरूले विद्यालयबारे बुझ्न जान लागेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । पूर्ण र महतराले आफूहरू इसाई धर्मावलम्बी भएकाले अभिभावकबाट बालबालिका जिम्मा लिएर स्कुलमा भर्ना गर्न लैजान लागेको दाबी गरेका छन् ।

उद्धार गरिएका बालबालिकामा वर्ष ७ का गोपाल महतारा, ५ वर्षका महेन्द्र, वर्ष ६ का सुरेश सेजुवाल, वर्ष ११ का सुरज विक, वर्ष ९ का वसन्त घर्ती मगर, वर्ष १० का ओपिन सेजुवाल, वर्ष ८ रवीन्द्र सेजुवाल र वर्ष १० चक्रबहादुर विक छन् । यस्तै, ११ वषर्ीय टेक सेजुवाल, वर्ष ७ का दिनेश सेजुवाल, वर्ष १०का नीराजन सेजुवाल, वर्ष १३ का बखत महतरा, वर्ष ८ का सागर सुनार, वर्ष १५ का सुनिल सुनार, वर्ष १२ का मुकेश बोहरा, वर्ष १२ का अस्त महतरा, वर्ष ८ का पपिन सेजुवाल, वर्ष ७ का सन्तोष विक, वर्ष १३ का गोरख महतरा, वर्ष १२ का कमल परियार, वर्ष १० का सुनिल विक, वर्ष ९ का विवेक सेजुवाल र वर्ष १२ को कुसन सेजुवाल छन् ।

Published on: 26 September 2013 | Kantipur

Back to list

;