s

एसएलसीपछि भारत जानेको लर्को

कृष्णप्रसाद गौतम

शीतल उच्च मावि परीक्षा केन्द्रबाट एसएलसी दिएका पुर्तिमकाँडा १ का सन्तोष पुनको दोस्रो श्रेणीमा उत्तीर्ण हुने आशा छ । परीक्षाको नतिजा प्रकाशन हुने समयसम्मका लागि उनी भारतमा मजदुरी गर्न जान लागेका छन् । 'केही कमाइ हुने र बीचको समय बिताउन सजिलो हुने भएकाले भारत जान लागेको,' उनले भने, 'पास भए फर्केर फेरि पढाइलाई निरन्तरता दिन्छु ।' उनकै साथी हरिकुमार विक पनि उनीसँगै भारत जाने तयारीमा रहेको बताउँछन् । घरकै सल्लाहमा भारत जान लागेको उनले बताए । पास भए फर्केर प्लस टु पढ्ने र फेल भए उतै मजदुरी गरेर बस्ने सोचमा छन् उनी । उनीहरू मात्र होइन, यहाँका दुर्गम गाविसका विद्यार्थी एसलसीपछि नतिजा प्रकाशन नहुँदासम्म भारतमै मजदुरी गर्छन् । 

सहर तिरका विद्यार्थी एसएलसीपछिको समयलाई बि्रज कोर्ष तथा अन्य उच्च शिक्षाको तयारीमा जुटिरहेको बेला यहाँका विद्यार्थीको भने मजदुरीका लागि भारत जार्ने लर्को लाग्न थालेको हो । 'एसएलसीपछि भारत जाने त यहाँको संस्कारजस्तै भइसकेको छ,' पोखरा स्थित जनता उच्च माविका प्राचार्य भुपेन्द्र आचार्यले भने, 'गरिबीका कारण विद्यार्थीलाई भारत पस्नुपर्ने बाध्यता नै छ ।' उनले आफ्नै विद्यालयबाट परीक्षा दिएका आधाभन्दा बढी विद्यार्थी भारत जाने क्रममा रहेको जनाए ।

एसएलसी पछिको समयमा फुर्सदिलो हुने र नतिजा प्रकाशन हुँदाको समयसम्म केही कमाइ हुने आशासहित विद्यार्थी भारत पस्न थालेका हुन् । यहाँका चौखाबाङ, पुर्तिमकाँडा, गरायला, स्यालाखदी, गोताकोट, कोटजहारीलगायत दर्जनभन्दा बढी गाविसका विद्यार्थी वर्षेनी एसएलसी सकेर नतिजा प्रकाशन नहुन्जेलसम्म भारत जाने गरेका छन् ।

गरिवीका कारण विद्यार्थी वर्षेनी मजदुरीका लागि भारत जाने गरेका हुन् । उत्तीर्ण भए विद्यार्थी गाउँ र्फकन्छन् भने अनुत्तीर्ण भए उतै बस्छन् । भारत जाने विद्यार्थीका कारण सदरमुकाम मुसीकोट, चौरजहारी, झुल्नेटालगायत व्यापारिक केन्द्रबाट जिल्ला बाहिर छुट्ने गाडी भरिन थालेका छन् । भलाक्चाका रोहित केसीले पनि दस जना साथी मिलेर भारतमा मजदुरी गर्न जान लागेको बताए ।

सदरमुकाम लगायत सुगम स्थानका विद्यार्थी भने कम्प्युटर तालिम, अंग्रेजी भाषा, तालिम, विज्ञान संकायको तयारी र बि्रज कोर्षको अध्ययनमा लाग्ने गरेको त्रिभुवन जनता उच्च माविका प्राचार्य मीनबहादुर पुनले जनाए । 'भौगोलिक रूपमा विकट रहेका गाविसका विद्यार्थीहरू भारत जान्छन् भने व्यापारिक केन्द्र आसपासका विद्यार्थीहरू तालिम र बि्रज कार्सतिर लाग्छन्,' प्राचार्य पुनले कान्तिपुरसित भने, 'केही गाविसमा त एसएलसीपछि भारत जाने संस्कारजस्तै भएको छ ।'

Published on: 31 March 2014 | Kantipur

Back to list

;