s

शून्य लागतपछि बिदेसिने घटे

रोजगारीको सिलसिलामा बिदेसिने नेपालीको संख्या विगतको तुलनामा घटेको छ। मलेसिया र खाडी मुुलुकमा नेपाली कामदार लैजाँदा टिकट र भिसा खर्च रोजगारदाताले बेहोर्नुपर्ने नियम लागू भएपछि विदेश जानेको संख्या घटेको हो।वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने भन्दै श्रम तथा रोजगार मन्त्रालयले खाडीका ६ मुलुक र मलेसिया कामदार पठाउँदा टिकट र भिसा खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने नियम लागू गरेको थियो।
 
आर्थिक रुपले सक्रिय जनशक्ति बिदेसिने प्रवृत्ति बढ्दा दीर्घकालमा अर्थतन्त्रमा नकारात्मक असर पर्ने अर्थविद बताउँछन्। यही बेला बिदेसिने जनशक्ति घट्दा भविष्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। काम गर्ने उमेरका युवायुवतीको अभावमा देश दिन प्रतिदिन परनिर्भर भइरहँदा वैदेशिक रोजगार विभागको पछिल्लो प्रतिवेदनले कामको खोजीमा विदेश पस्नेको संख्या घटेको देखाएको हो।
 
वैदेशिक रोजगार विभागका अनुसार गत असार २१ गतेदेखि भदौ मसान्तसम्म १४ हजार ४ सय ८६ युवायुवती कामको खोजीमा बिदेसिएका छन्। जबकि त्यसअघि नेपालबाट दैनिक सरदर १५ सयका दरले युवायुवती खाडी, मलेसियालगायत मुलुक पस्ने गर्थे। पछिल्लो समयमा के कारणले विदेश जानेको संख्या घटेको हो भन्ने यकिन भने भएको छैन।
 
कसैले निःशुल्क भिसा र टिकटको नियमलाई कारण मान्छन् त कसैले नेपाली युवायुवतीमा विदेश मोह घट्दै गएको तर्क गर्छन्। दुई महिनादेखि मधेसकेन्द्रित दलले गरिरहेको आन्दोलनलाई कारक मान्नेहरू पनि प्रशस्तै छन्।
 
अघिल्लो वर्षको यही अवधिसँग तुलना गर्दा असार २१ देखि भदौ मसान्तसम्म विदेश पसेका युवायुवतीको संख्या १५ दिनमा विदेश पसे बराबरको हो। निःशुल्क भिसा र टिकट लागू हुनु अघिसम्म दैनिक १५ सय हाराहारी युवायुवती बिदेसिन्थे। विभागका प्रवक्ता जनकराज रेग्मी एउटै कारणले मात्र विदेश पस्नेको संख्या नघटेको बताउँछन्।
 
'विभिन्न कारण छन्,' रेग्मीले भने, 'कारण जे भए पनि कम युवायुवती बिदेसिनु राम्रो हो।'
 
देशमा रोजगारी अभाव हुँदा केही वर्षयता वैदेशिक रोजगारी युवायुवतीको मुख्य रोजाइ बनेको छ। विभागका अनुसार २०५० सालदेखि हालसम्म श्रम स्वीकृति लिएर करिब ४० लाख युवायुवती विश्वका १ सय १० देशमा गएका छन्। आर्थिक वर्ष २०६३/०६४ यता वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो। २०६३/०६४ मा २ लाख ४ हजार युवायुवती काम गर्न विदेश पसेकोमा गत वर्ष ५ लाखभन्दा बढी गएका थिए।
 
वैदेशिक रोजगारीमा युवायुवतीको आकर्षणसँगै विदेशबाट रेमिटेन्स भित्रिने क्रम पनि बढेको छ। वैदेशिक रोजगारीका कारण देशको अर्थतन्त्र टिकेको चर्चा चलिरहँदा अर्थविदहरू भने बिदेसिने क्रम नघटाए देशमा दीर्घकालीन असर पर्ने जोखिम देखाउँछन्।
 
काम गर्ने उमेरका युवायुवती बिदेसिँदा परनिर्भरता बढेको आर्थिक विश्लेषक बताउँछन्। परनिर्भरता बढेकै कारण अहिले भारतले अघोषित नाकाबन्दी गर्दा मुलुकको जनजीवन चाँडै अस्तव्यस्त हुन पुगेको बताइन्छ।
 
वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डित गुणस्तरीय वैदेशिक रोजगारीलाई जोड दिनुपर्ने बेला आएको बताउँछन्। 'निःशुल्क भिसा र टिकट कार्यक्रमको उद्देश्य पनि वैदेशिक रोजगारीलाई गुणस्तरीय बनाउनु हो,' उनले भने, 'जुन रोजगारदाता कम्पनीले कामदारलाई राम्रो तलब, टिकट उपलब्ध गराउन सक्छ त्यस्ता कम्पनी खोज्न सबैले ध्यान दिनुपर्छ।' उनले भने, 'थोरै मान्छे विदेश पठाउने, धेरै कमाउने अबको राष्ट्रिय लक्ष्य हुनुपर्छ।'
 
म्यानपावर व्यवसायी भने सरकारले सुरु गरेको निःशुल्क भिसा र टिकट कार्यक्रमले वैदेशिक रोजगारीलाई ध्वस्त बनाउने र देशको अर्थतन्त्र नै खलबल्याउने दाबी गर्छन्। केही रोजगारदाताले टिकट र भिसा शुल्क बेहोरे पनि धेरैले नमानेको व्यवसायीको भनाइ छ।
 
गत असार २१ गते सरकारले खाडी मुलुक र मलेसिया जाने युवायुवतीबाट सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो। त्यसअघि म्यानपावरले मलेसिया जाँदा प्रतिव्यक्ति १ लाखदेखि १ लाख ८० हजार रुपैयाँसम्म र खाडी जाँदा ४० हजारदेखि १ लाखसम्म असुल्थे। म्यानपावरले अहिले पनि विदेश पठाउँदा विगतकै हाराहारीमा असुल गरिरहेका छन्। अधिकांशले लुकिछिपी रकम असुल्ने भुक्तभोगी बताउँछन्। म्यानपावर कम्पनीले पैसा लिए बराबरको रसिद दिँदैनन्।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल सरकारले रोजगारदाता देशको सरकारसँग सल्लाह नगरी निःशुल्क भिसा र टिकट कार्यक्रम सुरु गर्दा त्यसको असर सिंगो वैदेशिक रोजगारी क्षेत्रमा परेको बताउँछन्।
 
'धेरैजसो रोजगारदाताले निःशुल्क टिकट उपलब्ध गराउन नसक्ने जानकारी दिएका छन्,' ढकालले भने, 'उताबाट टिकट नआए म्यानपावरले १० हजार रुपैयाँ लिएर विदेश पठाउन सक्ने सम्भावना रहँदैन।' १० हजार रुपैयाँभन्दा बढी लिनेलाई कारबाही गर्ने सरकारी अधिकारीले बताइरहेकाले म्यानपावर कम्पनीले खुलेर काम गर्न नपाएको व्यवसायीको भनाइ छ।
 
पछिल्लो समय सबभन्दा बढी मलेसिया जानेको संख्या घटेको छ। विगतमा मलेसिया जानेको संख्या सबभन्दा धेरै हुन्थ्यो। मलेसियाको तुलनामा साउदी र कतारका रोजगारदाताले कामदार मगाउँदा टिकट पनि उपलब्ध गराउने भएकाले ती देशमा जानेको संख्या खासै घटेको छैन। असार २१ यता १४ हजार ४ सय ८६ युवायुवती वैदेशिक रोजगारीमा जाँदा पूर्व श्रमस्वीकृति लिनेको संख्या भने एक लाख १७ हजार ९ सय ५७ थियो।
सरकारले गएको असार २१ गते निःशुल्क भिसा र टिकट कार्यक्रम लागू गरेपछि भदौ मसान्तसम्म वैदेशिक रोजगारीमा जानेको विवरण
 
देश पुरुष महिला जम्मा
 
साउदी अरब ३४८४ ३३५९ ६८४३
 
कतार १८८६ १६७३ ३५५९
 
मलेसिया १२५८ १२३० २४८८
 
युएई ५१६ ४५३ ९६९
 
कुबेत १२८ १२७ २५५
 
बहराइन ७४ ५७ १३१
 
अफगानिस्तान ३४ ३४ ६८
 
जोर्डन ५२ २ ५४
 
कुल जम्मा ७५०४ ६९८२ १४४८६
 
स्रोत : वैदेशिक रोजगार विभाग
 
Published on: 14 October 2015 | Nagarik
 

Back to list

;