s

सुरक्षित वैदेशिक रोजगारका उपाय

चाँदनी घिमिरे

वैदेशिक रोजगार धेरैजसो नेपालीको आकर्षण अनि बाध्यता बनेको छ। गरिबी र बेरोजगारीका कारण आजका युवा वैदेशिक रोजगारप्रति दिनप्रतिदिन आकर्षित हुँदैछन्। वैदेशिक रोजगारबाट नेपालमा भित्रिने रेमिट्यान्सले मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुर्‍याइरहेको छ। वैदेशिक रोजगार आर्थिक विकासको उपयुक्त अवसर हुँदाहुँदै पनि नेपाली महिला विदेशमा गएर शोषणमा पर्ने तथा ठगिने घटना दिनदिनै बाहिर आइरहेका छन्। त्यसैले विभिन्न विषयमा ध्यान पुर्‍याएर वैदेशिक रोजगारमा जाने हो भने त्यहाँ भोग्‍नुपर्ने पीडाबाट मुक्ति पाउन सकिन्छ।

* कुनै पनि वैदेशिक रोजगार व्यवसायीले विभागबाट स्वीकृति नलिई विदेशमा कामदार पठाएमा वा वैदेशिक रोजगारमा लगाइदिन्छु, राम्रो आम्दानी हुन्छभनी झूठो प्रलोभन देखाई जनसाधारणबाट रकम लिई विदेश नपठाएमा ठगी गरेको ठहर्छ। यो एक अपराध हो। यस्तो अपराध गर्नेलाई कैद तथा जरिवाना सजाय हुन्छ। पीडितको खर्च भएको कुल रकम र त्यसमा ५० प्रतिशतसमेत थपेर पीडित पक्षलाई दिनुपर्छ।

*‘विदेश पठाइदिन्छु’, ‘पारिश्रमिक राम्रो मिलाइदिन्छु’, ‘आम्दानी निकै हुन्छजस्ता विभिन्न प्रलोभन देखाएर विदेश पठाउने व्यक्ति वा कम्पनी सरकारबाट स्वीकृतिप्राप्त हो वा होइन भन्नेबारे वैदेशिक रोजगारमा जानेहरू सजग हुनैपर्छ। -वैदेशिक रोजगारमा जानुअघि आफू कुन काममा जान लागेको हो र त्यो काम आफूले गर्न सकिन्छ वा सकिँदैन, त्यसको पनि हेक्‍का राख्‍नैपर्छ।

* आफू वैदेशिक रोजगारका लागि जान लागेको संस्था वा एजेन्टले यसअघि अन्य व्यक्तिलाई विदेश पठाएको छ वा छैन भन्ने बुझ्नु आवश्यक छ। त्यो एजेन्ट वा संस्थाबाट पहिले पनि कोही वैदेशिक रोजगारमा गइसकेका भए त्यहाँ कामको प्रकृति र पारिश्रमिकबारे बुझ्नुपर्छ। आफूलाई विदेश पठाउन लागेको एजेन्ट सम्बन्धित विभागमा दर्ता भएको हो वा होइन, त्यो पनि राम्ररी बुझ्नु आवश्यक छ।

* वैदेशिक रोजगारमा गएर धोका हुने, बिचल्लीमा पर्ने र शोषणमा पर्ने स्थिति आइपरेमा त्यसबाट उम्किने उपाय पनि सुरुमै जानिराख्‍नुपर्छ।

* विदेश जानुपूर्व आफ्ना कागजपत्र घरपरिवारलाई छाड्नुपर्छ। आफू जाँदा साथमा रहेको कागजको एक प्रति पनि स्वदेशमै छाड्नुपर्छ। राहदानीको कपी, रोजगारदातासँग भएको सम्झौतापत्र, व्यवसायीसँग भएको सम्झौतापत्र, व्यवसायीलाई तिरेको रुपैयाँको भरपाई, स्वास्थ्य परीक्षणको प्रमाणपत्र, जीवन बिमाको कागज, भिसा, श्रम स्वीकृति पत्र, विदेशमा आफू काम गर्ने ठाउँको फोन नम्बर र पूरा ठेगाना सुरक्षित राख्‍नुपर्छ।

* विदेशमा काम गर्न जाँदा लाग्ने खर्च जोहो गर्दा ऋण लिनुपर्ने भएमा त्यसको ब्याज कति लाग्छ, हिसाब गर्नुपर्छ।

* आफूले विदेशमा गएर पाउने तलब अर्थात् लगानी अनि आम्दानी हिसाब गर्दा फाइदा हुन्छ वा हुँदैन विचार गर्नुपर्छ र फाइदा हुने अर्थात् बचत हुने अवस्थामा मात्रै वैदेशिक रोजगारमा जानुपर्छ।

* वैदेशिक रोजगारमा जानुअघि कामदारले कस्तो काम गर्ने हो, त्यसको ज्ञान हासिल गरी तालिम लिनुपर्छ। आफू जान लागेको मुलुकको भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक अवस्था, भाषा, रहनसहन, श्रम तथा कानुन, ट्राफिक नियम, सरुवा रोग, सुरक्षा र सहज र सुरक्षित यात्रासम्बन्धी जानकारी र तालिम लिनुपर्छ।

* वैदेशिक रोजगारमा जानुअघि दिइने अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्छ।

* यात्राका क्रममा पनि उडान समयभन्दा तीन घन्टाअघि नै विमानस्थल पुग्‍नुपर्छ। आफ्नो सामानको जाँच गराउनुपर्छ। बोर्डिङ पास लिनुपर्छ। फर्म भर्ने, जाने देशको फ्लाइटको बारेमा जानकारी आदि विषयमा समस्या परेमा हेल्प डेस्कमा गएर सहायता लिन सकिन्छ। हवाईजहाजमा बसेपछि सिट बेल्ट राम्ररी बाँध्‍नुपर्छ। हवाईजहाज पूर्ण रूपमा आकाशमा उडेपछि मात्रै विमानभित्रको शौचालय प्रयोग गर्नुपर्छ।

* विदेशमा श्रम शोषण, ठगी र हिंसामा परेका कामदारले मानवअधिकारका लागि जनमञ्‍चबाट नि:शुल्क कानुनी सहायता प्राप्‍त गर्न सक्छन्। साथै विदेशबाट फर्किएका महिला कामदारलाई उद्धार गर्न नेपाल सरकारबाट पनि सहायता प्राप्‍त हुन्छ। वैदेशिक ठगीसम्बन्धी मुद्दा सरकारवादी भएकाले यस्तो अवस्थामा मुद्दा सरकारले नै लडिदिन्छ, पीडितको खर्च लाग्दैन।

Published on: 29 August 2013 | Annapurna Post

Back to list

;