s

तलब नपाएका १५ सय कामदार कतार दूतावासमा

होम कार्की

कतारस्थित आफूले काम गर्ने कम्पनीले पारिश्रमिकलगायत विषयबाट वञ्चित गरेपछि १ हजार २ सय कामदारले नेपाली दूतावास गुहारेका छन् । आफ्नो कम्पनीले तलब नदिएको र खाना पनि स्वास्थ्यकर नभएको भन्दै काम छाडेका मजदुरमाथि धरपकड भएपछि उनीहरूले नेपाली दूतावास गुहारेका हुन् ।

नेपाली मजदुरले आफ्ना समस्याको सुनुवाइ हुनुपर्ने माग राखेर शनिबारदेखि काम छाडेका थिए । व्यवस्थापनले वार्तामा आउन मजदुरलाई बोलाएर पाँच जनालाई गिरफ्तार गरेपछि नेपाली कामदार आक्रोशित बनेका हुन् । मजदुरको टोली आइतबार दूतावास पुग्दा आन्दोलनमय बनेको थियो । १२ ठूला बसमा खचाखच भरिएका नेपाली कामदार सरासर दूतावास परिसरभित्र छिर्दा दुईतले दूतावास एकैछिनमा भरिए । पाइला राख्ने ठाउँ कतै भएन । भीडमा परिचयपत्र नभएका, ६ महिनासम्म तलब नपाएका, घर जान नपाएका, घरमा बाबुआमा बित्दा समेत र्फकन नपाएका, समयमा उपचार नपाएका पीडितहरू थिए । '१ हजार ५ सय जना कामदार आफ्नो गुनासो राख्न आएका हौं,' भीडको अग्रपंक्तिमा देखिएका कृष्णकुमार तिमिल्सिनाले भने, 'हामीमाथि अन्याय भयो ।'

दूतावासबाहिर होहल्ला हुने भएपछि श्रमसहचारी इन्द्रदेव पाण्डे र जनसम्पर्क अधिकृतले पीडितहरू सबैलाई परिसरभित्र बोलाए जहाँ नेपाली कामदार खचाखचले भरिएको थियो । उनीहरू दल वान कतार कम्पनीमा कार्यरत थिए । 'पाँच जना साथीलाई नेता बनेको भन्दै समाते । त्यही भएर दूतावासमा प्रतिनिधि नपठाएर हामी सबै कामदार आएका हौं,' तिमिल्सिनाले भने, 'चार क्याम्पमा २ हजार ५ सय कामदार छौं । त्यसमध्ये १ हजार ५ सयजति दूतावासमा आएका छौं ।'

पीडितको गुनासो सुन्न श्रम सहचारी पाण्डे बाहिर आउनुपरेको थियो । विभिन्न कम्पनीका भए पनि ती नेपाली दल वान कतारमा सप्लाईमार्फत काममा लगाएको बताए । उनीहरू ड्राइभर, हेल्पर, कार्पेन्टर, प्लम्बरलगायत विभिन्न पेसामा कार्यरत छन् । 'एक त तलब नियमित छैन,' उनले भने, 'अर्कोतिर साह्रै न्यूनस्तरको खाना खुवाउँछ । त्यस्तो खाना खाएर कसरी कडा काम गर्न सक्छौं ।'

चालकमा आएका तिमिल्सिनाले सात महिनामा एक महिनाको मात्रै तलब पाएको बताए । उनीहरूले पक्राउमा परेका पाँच जना साथीलाई तुरुन्तै छाड्नुपर्ने अडान राखेका छन् । श्रम सहचारी पाण्डेले पीडितहरूको समस्या समाधानका लागि श्रम विभागमा मुद्दा दयार गरिने बताए ।

Published on: 3 September 2013 | Kantipur

Back to list

;