s

तराई बन्दले रेमिटेन्स कारोबार प्रभावित

डेढ महिनादेखि जारी तराई बन्दका कारण रेमिटेन्स कम्पनीका भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका शाखा पनि प्रभावित भएका छन्। बन्दले रेमिटेन्स कम्पनीहरुले विदेशबाट आएको रकम छिटो छरितो सेवाग्राही समक्ष पुर्यामउन सकेका छैनन्। सेवाग्राही पनि रेमिटेन्स कम्पनीका भुक्तानी काउन्टरसम्म आउन सकेका छैनन्।
 
विदेशमा रहेका आफन्तले पठाएको रकम सम्बन्धित स्थानमा लैजान रेमिटेन्स कम्पनीले नसक्दा सेवाग्राही प्रभावित भएका हुन। विनाशकारी भूकम्पले पहाडी क्षेत्रका रेमिटेन्स कम्पनीका भुक्तानी काउन्टर, बैंक तथा वित्तीय संस्था थिलोथिलो भएका थिए। त्यसको असर नसकिँदै पुनः तराई बन्दले उठ्नै नसक्ने गरी थला पारेको रेमिटेन्स कम्पनीहरु बताउँछन्।
 
रेमिटेन्स कम्पनीका भुक्तानी काउन्टर, साझेदार बैंक तथा वित्तीय संस्था भएका ठाउँमा आन्दोलन जारी रहेकोले कर्मचारी कार्यालय सञ्चालन गर्न सक्ने अवस्थामा नभएको उनीहरुको भनाइ छ। सिटी एक्सप्रेस मनी टान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आन्दोलन भएका कारण रेमिटेन्स भित्रिने क्रममा समेत कमी आएको बताए। 'तराई आन्दोलनले रेमिटेन्सलाई मात्र होइन सम्पूर्ण अर्थतन्त्रलाई नै असर पारेको छ,' उनलेे भने, 'यसको असर चालु आर्थिक वर्षमा भित्रने रेमिटेन्सलाई समेत पर्नेछ।'
 
लगातार तराई बन्दका कारण नोट आपूर्तिमा समस्या छ। बन्दले रेमिटेन्स कम्पनी, बैंक तथा वित्तीय संस्थाले नोट अभाव भएको ठाउँमा लैजान सकेका छैनन्। नोट अभावले सेवाग्राही, रेमिटेन्स कम्पनी, बैंक, वित्तीय संस्थालाई समेत प्रभावित बनाएको छ।
 
केही ठाउँमा आन्दोलनकारीले रेमिटेन्स कम्पनीका भुक्तानी काउन्टर, बैंक, वित्तीय संस्थाका कार्यालय तोडफोड गरेपछि आन्दोलन भएका जिल्लामा सहज रूपमा सञ्चालन हुन सकेका छैनन्। 'रेमिटेन्स काउन्टर, बैंकका शाखा सञ्चालन गरे तोडफोड गर्ने चेतावनी दिएका कारण खोल्न समस्या भएको छ,' एक रेमिटेन्स कम्पनीका उच्च अधिकारीले भने।
 
'भूकम्पले पहाडी क्षेत्रमा असर पार्योम,' उनले भने, 'त्यसको असर नसकिँदै पुनः तराईमा बन्द, हडतालले ढाड सेक्ने काम गरेको छ।' पहाडमा भन्दा तराईमा बढी रेमिटेन्स भित्रिने भएकाले बन्द, हडतालको असर रेमिटेन्स कम्पनी र सेवाग्राहीलाई परेको छ।
 
मुलुकले नयाँ संविधान पाएकोमा खुसी भइरहेका रेमिटेन्स कम्पनीहरु बन्द, हडतालले आत्तिएका छन्। 'संविधानसँगै मुलुकमा शान्ति र स्थायित्व कायम हुने आशा रेमिटेन्स कम्पनीले गरेका थिए,' उनले भने 'बन्द, हडतालले ठूलो चाडपर्वको पूर्वसन्ध्यामा रेमिटेन्स कम्पनीलाई बढी असर पारेको छ।'
 
नजिकिँदै गरेको दसैं, तिहारलाई पनि हडतालले असर पार्ने देखिन्छ। 'सरदर भन्दा बढी रेमिटेन्स ठूला चाडपर्व मै भित्रिने गर्छ,' टन्डनले भने, 'यस्तो अवस्थामा बन्द गर्नु जायज होइन।'
 
अन्दोलनपछि रेमिटेन्स भित्रने क्रममा पनि कमी आएको छ। तराईका कुनै ठाँउमा बढी पैसा जम्मा भएको छ भने कुनै ठाँउमा पैसा नभएको स्थिति छ। दैनिक रूपमा पैसा ल्याउने र लैजाने काम पूर्णरूपमा रोकिएको छ।
 
आन्दोलन बढी भएका जिल्लामा रेमिटेन्स भुक्तानी गर्ने काउन्टर र बैंकिङ कारोबार ठप्प छ। रेमिटेन्स काउन्टर, बैंक, वित्तीय संस्थाको शाखा सञ्चालन सुरक्षाको दृष्टिकोणले संवेदनशील हुन्छ। पैसाको कारोबार हुने भएकाले असुरक्षा नभएपछि रेमिटेन्स काउन्टर, बैंक तथा वित्तीय संस्थाले कारोबार गर्ने जोखिम उठाउँदैनन्।
 
रेमिटेन्स भुक्तानी काउन्टर नखुल्दा सर्वसाधारण समस्यामा छन्। रेमिटेन्स कम्पनीमा आएको रकमसमेत झिक्न पाएका छैनन्। लुकिछिपी कारोबार गर्ने संस्थामा आन्दोलनकारीले तोडफोड गरेका छन्। आन्दोलनकारीको दबाबका कारण रेमिटेन्स भुुक्तानीका सबै भुक्तानी काउन्टरहरु बन्द गर्नुपरेको कम्पनीहरु बताउँछन्।
  
Published on : 1 October 2015 | Nagarik
 

Back to list

;