s

ठूला चाडपर्वमा २० प्रतिशत बढी रेमिटेन्स

दसैं तिहार, छठ लगायत ठूला चाडपर्वमा सरदरभन्दा निकै बढी रेमिटेन्स आउने गरेको छ। ठूला चाडपर्वमा २० प्रतिशत भन्दा बढी रकम आउने रेमिटेन्स कम्पनीहरु बताउँछन्। दसैंमा विदेश गएकाले घर खर्चका लागि परिवारलाई बढी खर्च पठाउने भएकाले पनि रेमिटेन्समा वृद्धि भएको हो। विशेषगरी चाड पर्वमा रेमिटेन्स बढी भित्रिने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए।
 
दसैंको पूर्वसन्ध्यामा रेमिटेन्समा बाढी नै आउने गरेको उनको भनाइ छ। चाडपर्वले रेमिटेन्स वृद्धिमा थप सहयोग पुगेको पंगेनीले बताए। कात्तिक र मंसिरमा नेपालीको ठूलो पर्व दसैं, तिहार, छठ तथा इद जस्ता पर्व पर्ने भएकाले पनि रेमिटेन्समा वृद्धि हुने अर्थविद्हरूको भनाई छ।
 
सेवा रेमिटका प्रबन्धक विभयराज आर्चायले चाडपर्व मनाउन बढी नेपाली आउने भएकाले उनीहरूले साथमा पनि रकम ल्याउने बताए। उनले भने, 'अन्य महिनामा भन्दा ठूला चार्डपर्वमा २०—२२ प्रतिशत बढी रेमिटेन्स भित्रिन्छ।'
 
हुन्डीलगायत अनौपचारिक माध्यमबाट पनि रकम भित्रिने गरेको छ। अनौपचारिक माध्यमबाट आउने रकम जोडने हो भने ठूला चाडपर्वमा अझै धेरै रकम भित्रने अर्थविद्हरु बताउँछन्।
 
विदेशमा गएका आफन्तले चाडपर्वमा मात्रै होइन, आपतविपतमा पनि रेमिटेन्स पठाउने गरेका छन्। नयाँ वर्ष सुरुमै नेपालमा शक्तिशाली भूकम्प गएको थियो। भूकम्पपछि रेमिटेन्स निकै बढेको राष्ट्र बैंकको भनाई छ।
 
वैदेशिक रोजगारमा गएकाले घरपरिवारलाई रकम पठाउन थालेपछि भूकम्पपछि रेमिटेन्स परिमाण बढेको थियो। भूकम्पका कारण क्षति पुगेका जिल्लाका अधिकांश पीडित परिवारका सदस्यले घरमर्मत तथा नयाँ निर्माणका लागि पैसा पठाएका थिए।
 
भूकम्पपछि युवा विदेशिने क्रम अझ बढ्दो अवस्थामा रहेको कारण अबको केही महिनामा रेमिटेन्स थपिने अनुमान गरिएको छ। भूकम्प पछि भित्रिएको रेमिटेन्स धेरैजसो पुननिर्माणमा खर्च भएको वैदेशिक रोजगारमा गएकाका आफन्तले बताएका छन्। केहीले भने वैदेशिक रोजगारबाट कमाएको पैसाले व्यापार व्यवसाय समेत गर्दै आएका छन्।
 
स्वेदशमा भनेजस्तो काम र दाम नपाइने भन्दै रोजगारीको विकल्पको रुपमा विदेश जाने क्रम युवाहरुमा बढेसँगै रेमिटेन्समा पनि वृद्धि भएको छ।
 
मुख्यगरी दक्षिण कोरिया र हङकङबाट हुन्डीबाट बढी रकम भित्रिने गरेको छ। कोरियामा काम गर्ने कामदारले वैधानिक रेमिटेन्स कम्पनीबाट पैसा पठाउँदा महँगो पर्ने भएको हुनाले हुन्डीको प्रयोग गर्नुपरेको रेमिटेन्स कम्पनीहरु बताउँछन्।
 
हाल नेपालमा ४७ भन्दा बढी कम्पनी रहेका छन्। त्यसमध्ये १५ रेमिटेन्स कम्पनीले विभिन्न देशबाट रेमिटेन्स भित्र्याइरहेका छन। तीमध्ये पनि इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) अग्रस्थानमा छ। त्यस्तै प्रभु, सिटी एक्सप्रेस, सेवा, संसारा, नेपाल रेमिट इन्टरनेसनल लगायतका कम्पनीले बढी रेमिटेन्स भिœयाउने गरेका छन्।
 
रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ। अहिले रेमिटेन्स कम्पनीले मात्रै होइन, वाणिज्य बैंकहरुले पनि रेमिटेन्स भिœयाइरहेका छन्। ३० वाणिज्य बैंकमध्ये अधिकांशले नेपालमा रेमिटेन्स भिœयाइरहेका छन्। नेपालमा वाणिज्य बैंकमध्ये हिमालयन बैंकले पहिलो पटक हिमाल रेमिट सुरु गरेको थियो।
 
अहिले प्रायः सबै वित्तीय संस्थाको रेमिटेन्स मुख्य कारोबार बनिसकेको छ। रेमिटेन्समा वाणिज्य बैंकको बढ्दो उपस्थितिसँगै सेवा र सुबिधामा तीब्र प्रतिस्पर्धा छ। यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ। कामदारको कमाइ सुरक्षित रूपले परिवारसम्म पुगेको छ। पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै बैंकबाट सीधै विदेशबाट पठाएको पैसा लिन सहज भएको छ।
 
खाडी, मलेसिया लगायत मुलुकमा श्रम स्वीकृति लिएर पुग्नेको संख्या हालसम्म ३९ लाख ७४ हजार ८ सय ७० रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। जसमा महिलाको संख्या १ लाख ४३ हजार १ सय ४६ छ।
 
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत हालसम्म ३३ हजार कामदार कोरिया पुगिसकेका छन्। कोरिया जानका लागि हालै मात्र ४३ हजार ४ सय छ जनाले भाषा परीक्षा दिएका छन्।
 
सन् २००८ यता कोरियाले कृषि, पशुपालन र निर्माणका लागि नेपाली कामदार लैजान सुरु गरेको हो। आम्दानी बढी हुने भएकालेेे कोरियाबाट बढी रेमिटेन्स नेपालमा भित्रिने प्रवक्ता पंगेनीको भनाई छ।
 
नेपालले युवायुवतीलाई श्रम स्वीकृति दिएर २०४२ सालदेखि विदेश पठाउन थालेपनि दोस्ा्रो आन्दोलनपछि विदेसिनेको संख्या तीब्र रुपले बढेको वैदेशिक रोजगार व्यवसायी बताउँछन्।
 
स्वदेशमा रोजगारीको अवसर नहुँदा यतिखेर श्रम स्वीकृति लिएर मलेसिया, खाडी लगायतका मुलुकमा दैनिक सरदर १५ सय युवायुवती जाने गरेका छन्। श्रम स्वीकृति नलिई चोर बाटो हुँदै विदेश पस्नेको संख्या जोडने हो भने विदेसिनेको संख्या अझै बढछ्। गएको वर्ष मात्रै चार लाख ५० हजार ७७ जना काम खोज्दै बिदेसिएका थिए।
 
Published on: 1 October 2015 | Nagarik
 

Back to list

;