s

टुरिस्ट भिसामा आएकाहरू निगरानीमा

मकर श्रेष्ठ

पर्यटक भएर नेपाल प्रवेश गरी गैरकानुनी रूपमा अनेक काम गरेर बस्ने विदेशीको संख्या करिब १२ हजार रहेको गृह मन्त्रालयको आँकलन छ । कोही ग्रामीण क्षेत्रमा स्वयंसेवक, केही धर्मको प्रचारप्रसारमा, कोही व्यापार व्यवसाय गरिरहेका त केही नेपाली युवतीसँग विवाह गरेर बसेका छन् । कतिपयले अस्पताल सञ्चालन गरेका छन् त केहीले जागिर खानसमेत भ्याएका छन् ।

पर्यटक भिसामा नेपाल प्रवेश गरेर काम गर्ने विदेशी नागरिकलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । गैरकानुनी रूपमा नेपालमा बस्दै आएका ठूला मुलुकका नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर जरिवाना गरी फिर्ता पठाउन थालेको हो । पछिल्लोपल्ट अमेरिका, बेलायत, चीनका नागरिकलाई नियन्त्रणमा लिएर उनीहरूको मुलुक फिर्ता गरिएको छ । विभागले २०१३ मा ६८ जनालाई कारबाही गरेर उनीहरूकै देशमा फिर्ता पठाइसकेको छ । विभागका निर्देशक शम्भु घिमिरेका अनुसार अमेरिकन नागरिक चाल्स भिसेन्ट जोन्सन बनेपास्थित शिरमेमारियल अस्पतालमा कार्यरत थिए । त्यस्तै बेलायती नागरिक इयान बेल्जियनलाई सांगि्रला क्यासिनोका म्यानेजर र चिनियाँ नागरिक चाङकाई युनलाई ठमेलको ज्याठामा चाइना सेन लिन नामक अस्पताल सञ्चालन गरिरहेको अवस्थामा विभागको टोलीले नियन्त्रणमा लिएर कारबाही गरी फिर्ता पठाएको हो ।

सन् २००७ मा पर्यटक भिसामा आएका युनले ज्याठामाँ पाँच वर्षका लागि घरभाडामा लिएर अस्पताल सञ्चालन गरिरहेका थिए । माथिल्लो तलामा अस्पताल र भुइँतलामा औषधि पसल सञ्चालन गरेका थिए । विभागले उनलाई मंगलबार तातोपानी नाका हुँदै उनको मुलुक फिर्ता पठाएको हो ।

अध्यागमन ऐनअनुसार पर्यटक भिसामा आएका विदेशीले अन्य काम गर्न प्रतिबन्ध लगाएको छ । तर, नेपालमा खुलेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा पर्यटक भिसामा आएका विदेशी नागरिकले अनेक काम गरिरहेका छन् । कतिपयले व्यवसाय सञ्चालन गरी बसेका छन् । विगतमा यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरी उन्मुक्ति दिने गरेको थियो । पछिल्लो पटक यस्ता व्यक्तिलाई विभागले निगरानी थालेको घिमिरेले बताए । 'नेपाल प्रवेश गरेपछि यसअघि हाम्रो सिस्टमले देखाउँदैनथ्यो,' उनले भने, 'तर, अब हामी यस्ता व्यक्तिको लगत तयार गरी अनुगमन गरेपछि सबैलाई कारबाहीको दायरामा ल्याउँछौं ।'

गृह मन्त्रालयका अनुसार गैरकानुनी रूपमा पर्यटक भएर छिर्ने अनि नेपालमा व्यापार, जागिर गरेर बस्नेमा करिब १२ हजार विदेश छन् । पछिल्लो पटक विभागले गरेको अनुसन्धानले पर्यटक भिसामा आउने विदेशी ग्रामीण क्षेत्रमा स्वयंसेवक, केही धर्मको प्रचारप्रसारमा, व्यापार र नेपाली युवतीसँग विवाह गरेर बस्ने पनि छन् । कतिपयले अस्पताल सञ्चालन गरेर बसेका छन् ।

यस्ता व्यक्तिको निगरानी गर्न विभागको अनुगमन टोली पर्यटकको चहलपहल हुने क्षेत्रमा पुगेर पासपोर्ट 'चेक' गरेर अवैध काम गरेको पाइए नियन्त्रणमा लिने गरेको विभागका महानिर्देशक शरदचन्द्र पौडेलले बताए । 'कुन क्षेत्रमा कति छन्, पहिचान गरेर कारबाहीको अभियान सुरु गरेका छांै,' उनले भने, 'पर्यटक भिसामा आउनेहरू गैरकानुनी रूपमा बस्ने अब कारबाहीको दायरामा ल्याउँछौं ।'

अनुगमन गर्न सूचना समन्वय तथा विश्लेषण शाखाका अधिकारीहरू खटिने गर्छन् । त्यसमा अध्यागमन अधिकृत, पर्यटक प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग -राअवि) का अधिकारी खटिने गर्छन् । यस्ता व्यक्तिको पहिचान गर्न राअविका गुप्तचरहरू उनीहरूको पहिचनमा विशेष रूपमा खटिने गरेका छन् । उनीहरूको सूचनाका आधारमा विभागले गैरकानुनी काम गर्ने विदेशीलाई नियन्त्रणमा लिएर कारबाही थालेको हो । पर्यटक भिसामा आउने विदेशी एक वर्षमा १ सय ५० दिन मात्रै नेपाल बस्न पाउँछन् । सरकारको कमजोरी थाहा पाएपछि विदेशीहरू गैरकानुनी बस्ने गरेको गृहका एक अधिकारीले बताए । 

पूर्वगृह सचिव उमेश मैनालीले पर्यटक भिसामा प्रवेश गर्ने विदेशीले विशेषगरी व्यापार गर्ने गरेको बताए । त्यसमा अन्य मुलुकका भन्दा चिनियाँ नागरिक बढी छन् । विदेशीले सञ्चालन गरेको व्यवसायमा कामदार पनि उनकै देशबाट पर्यटक भिसामा ल्याउने गरेका छन् । 'वर्क परमिटबिना काम गर्नेलाई सरकारले कारबाही अभियान चलाएपछि यस्तो प्रवृत्ति अन्त्य हुन्छ,' उनले भने, 'अफ्रिकन र चाइनिज पर्यटकसँग बढी होसियार हुनुपर्छ ।' केही अफ्रिकनहरू पर्यटक भिसामा नेपाल प्रवेश गरेर व्यावसायिक रूपमा खेलाडी बनेर बसेका छन् ।

Published on: 24 August 2013 | Kantipur

Back to list

;