s

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता भन्दा बढी यात्रु

राजु बास्कोटा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमता भन्दा बढी यात्रुलाई उडान तथा अवतरण सेवा दिइरहेको छ। यहाँ धावनमार्गको क्षमता भन्दा बढी तौलका जहाजले सेवा सञ्चालन गरिरहेका छन्। वैकल्पिक व्यवस्था नहुँदा यात्रु उडानमा पनि क्षमता भन्दा बढी भइरहेको छ।

यो विमानस्थल २४ सै घन्टा बिनाअवरोध सञ्चालन हुन सकेको अवस्थामा वार्षिक यात्रुक्षमता ८२ लाख रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। हाल नियमित १८ घन्टा उडन हुँदा ४६ लाख भन्दा बढी यात्रुलाई सेवा दिन सकिएको छ। यसका कारण सेवा प्रभावकारी बन्न सकेको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तारोन्नतिका लागि सन् २०१० मा तयार पारेको तथ्यांक अनुसार प्रतिघन्टा आँखाले हेरेर गर्न सक्ने ४६ वटा र प्रविधिको प्रयोगमार्फत १५ वटा उडान मात्रै गर्न सकिन्छ। हाल अन्तर्राष्ट्रियमा २८ र आन्तरिक उडानमा ६ वटा हेलिकोप्टर र आठवटा वायुसेवा गरी १४ वटाले उडान गरिरहेका छन्।

यी वायुसेवामार्फत अहिले दैनिक अन्तर्राष्ट्रियमा ५० वटा र आन्तरिकमा दुई सय ५० वटासम्म उडान हुने गरेको छ। पर्यटकीय सिजनमा आन्तरिक उडान दैनिक पाँच सयवटासम्म पुग्ने गरेको विमानस्थल कार्यालयको भनाइ छ। २०२८ सम्मको गुरु योजना तयार गरेर विमानस्थलको क्षमता वृद्धि गर्न थालेको प्राधिकरणले सन् २०१६ सम्मका लागि बनाएको पहिलो चरणको काम नै पूरा नहुने अवस्थामा पुगेको छ।

कार्यालयको कार्ययोजना अनुसार काम हुन नसक्दा अहिल्यै यो विमानस्थलको क्षमता भन्दा बढी उडान गर्नुपरेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले एसियाली विकास ब्यांकको सहयोगमा सुरु गरेको त्रिभुवन विमानस्थल विस्तार योजनाअन्तर्गत पहिलो चरणको काम नै सन्तोषजनक नभएको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए।

विमास्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुमा उडान चापका कारण हवाई ट्राफिक व्यवस्था मिलाउन असहज, उडान समय बढाउन नसक्नु, पूर्वाधार विस्तारमा गति लिन नसक्नु तथा वैदेशिक रोजगारमा जाने तथा आउने यात्रुको प्रक्षेपण नगरी विमानस्थल सञ्चालनमा आउनु प्रमुख कारण हुन्।

अन्तर्राष्ट्रियतर्फ एक हजार तीन सय ५० जना र आन्तरिकतर्फ तीन सय ७४ जनलाई प्रतिघन्टा सेवा दिन सक्ने क्षमता यो विमानस्थलसँग रहेको प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताए। बिहान र बेलुका सामान्य भए पनि बिहान १० देखि २ बजेसम्मको समयमा भने अत्यधिक यात्रु चाप हुने गरेको उनले अन्नपूर्णलाई बताए।

विमानस्थलको स्तरोन्नतिका लागि तयारी गरिएको यो गुरुयोजना सन् २०२३ पछि निरन्तरता दिन नसकिने महानिर्देशक सुमनले बताए। गुरु योजनाअनुसार नै काम भएको अवस्थामा पनि २०२३ पछि विमानस्थलको विस्तार गर्ने अवस्थामा रहन्न।

त्रिभुवन विमानस्थलमा धावनमार्गको क्षमताभन्दा ठूला जहाज अवतरण हुँदा जोखिम बढ्दै गएको छ। यो विमानस्थलको धावनमार्ग क्षमता एक सय ९६ टनसम्मका वायुसेवाका लागि भएपनि दुई सय ९९ टनसम्मका जहाजले उडान तथा अवतरण गरिहेको प्राधिकरणले जानकारी दिएको छ। धावनमार्गको क्षमताभन्दा बढी तौलका जहाज अवतरण गरेकै कारण वर्षयाममा धावनमार्ग पटकपटक भत्कने गरेको छ।

त्रिभुवन विमानस्थलले हाल वार्षिक ४६ लाख ८२ हजार यात्रुलाई उडान तथा अवतरणको सेवा दिएको छ। सन् २०१३ मा ९२ हजार ६ सय उडानमार्फत अन्तर्राष्ट्रिय उडानका ३१ लाख ४० हजार र आन्तरिक उडानका १५ लाख ८२ हजार यात्रुलाई सेवा दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय उडान बढाउनकै लागि सरकारले ३६ वटा मुलुकसँग हवाई उडान सम्झौता गरेको छ। यो उडान सम्झौतामा उल्लेख भएका वायुसेवालाई रोक्न नमिल्ने तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को नियमानुसार कुनै पनि जहाजलाई अनुमति दिन्न भन्न नपाइने भएका कारण प्राधिकरणले क्षमता भन्दा बढीका वायुसेवा तथा यात्रु भित्र्याइरहेको प्राधिकरणको भनाइ छ।

विमानस्थलको क्षमता र धावनमार्गको अवस्थाबारे प्राधिकरणले एरोनोटिकल इन्फर्मेसन पब्लिकेसनमार्फत सार्वजनिक गर्ने र यसैलाई हेरेर अन्तर्राष्ट्रिय उडानका वायुसेवा नेपाल आउने गरेको प्राधिकरणले जानकारी दिएको छ।

धावमार्गमा देखिएको समस्याकै कारण प्राधिकरणले गत भदौमा एक सय ९६ टनभन्दा बढी तौलका वायुसेवालाई विकल्प खोज्न पनि आग्रह गरेको थियो। अहिले अन्तर्राष्ट्रिय जहाजले आफ्नो अनुकूल नै उडान गरिहरेका छन्। त्रिभुवन विमानस्थलले बोइङ ७०७, ७२७ र डीसी-८ लगायतका जहाजलाई आधार मानेर बनाएको धावनमार्गमा बोइङ ७७७, एअरबस ३४०, एअरबस ३३० जस्ता वाइड विमानले उडान गरेका छन्।

धावनमार्ग पुरानो हुँदै गएको तथा लामो समयसम्म प्रयोगमा आएकोले यसको आयुसमेत घट्दै गइरहेको विमानस्थलका एक अधिकारीले जानकारी दिए। सन् १९८१ देखि सन् १९९० को दसकसम्म जम्मा ६/७ हजार मात्रै अन्तर्राष्ट्रिय उडान हुने यो विमानस्थलको सन् २००१ सम्म आइपुग्दा वार्षिक १८ लाख यात्रु उडान तथा अवतरण भएका थिए।

सन् २०१२ पछि विमानस्थलको क्षमता भन्दा बढी यात्रुलाई सेवा दिन थालेको प्राधिकरणले सन् २०१३ मा पौने ४७ लाख यात्रुलाई सेवा दिएको छ। यो विमानस्थलमा सन् २०१६ सम्ममा वार्षिक ५० लाख यात्रुले उडान तथा अवरण गर्ने अनुमान प्राधिकरणले नै गरेको छ। यात्रु उडान अनुमानअनुसार पूर्वाधारको निर्माण तथा क्षमता विस्तार गर्न भने नसकेको प्राधिकरणले स्वीकार गरेको छ।

पहिलो पटक सन् १९५५ मा त्रिभुवन विमानस्थल नामाकरण भएको थियो।

सन् १९६४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको यो विमानस्थलको धावनमार्ग १९६५ निर्माण भएको दुई हजार मिटरको धावनमार्गलाई बढाएर सन् १९७५ पछि तीन हजार मिटरको बनाइएको हो। यो धावनमार्ग अहिले पनि अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै कोटेश्वरतर्फ तीन सय मिटर बढाउने कार्य भइरहेको छ।

विमानस्थलमा भएका यात्रु आवतजावत सन् २०१५ को प्रक्षेपण सहित

वर्ष                     यात्रु संख्या

सन् २००१             १८४९७६६

सन् २००५             २३६२८८५

सन् २०१०              ३९९१२५९

सन् २०११              ४२८३८७२

सन् २०१२             ४५००१७६

सन् २०१३             ४६८२९०६

सन् २०१५            ५०६४०००

Published on: 9 April 2014 | Annapurna Post

Back to list

;