s

टुटेका सपना

कक्षा ७ र ३ मा पढ्दै गरेका छोराछोरीको स्कुल खर्च जुटाउनु, पत्नी र बाआमाका लागि मिठोमसिनो खानेकुराको जोहो गर्नु । बस्, उनको उद्देश्य सामान्य थियो । यही उद्देश्य पूरा गर्न पछिल्लो आधा दशक दैलेख विशालाका रणबहादुर सुनारले खेतीपातीमा निकै पसिना बगाए।
कृषि कर्ममा जति दसनंग्रा खियाए पनि पाक्ने बेला कहिले खडेरी त कहिले वर्षाले भनेजस्तो आम्दानी लिन सकेनन् । कहिले बजार भाउ घट्ने कारणले पनि मेहनत र लागतअनुसार आम्दानी जुटाउन उनलाई हम्मे प¥यो । तैपनि हार खाएनन् । एक वर्ष आलु खेतीबाट धोका पाउँदा अर्को वर्ष बन्दागोभी फलाउँथे । बन्दागोभीले पनि सन्तुष्टि नदिँदा बारीभरि खुर्सानी लगाए । तर त्यो वर्ष पानी नै परेन । अघिल्लो वर्ष अत्यधिक वर्षाका कारण बन्दागोभी नोक्सान भएको गाउँमा खुर्सानी लगाउँदा खडेरीले नष्ट भयो ।
 
लगातार ३ वर्षदेखि दैनिकजसो १२ घन्टा माटोसँगै खेल्दै आएका सुनारले पछिल्लो वर्ष परम्परागत खेतीलाई निरन्तरता दिने निर्णय गरे । तरकारीको साटो धान, गहुँजस्ता बाली लगाउँदा उनको जति लगानी भएको थियो त्योभन्दा २÷४ सय रुपैयाँभन्दा बढी हात पार्नै सकेनन् । कृषिमा जुन उत्साहले हाम फालेका थिए, ५ वर्षमै ३५ वर्षीय रणबहादुर निराश भए ।
 
कृषिलाई पेसा बनाउनुअघि भारतका विभिन्न सहरमा चौकीदारी गरिसकेका सुनारले फरक निर्णय लिए— विदेश जाने, कमाउने र आफ्ना प्रियजनको इच्छा पूरा गर्ने । आमाबुवाले विवाह गर्न आग्रह गर्दा सोलुखुम्ब गोली–६ राम्सेका फुदोर्जे शेर्पाले अनेक आलटाल गर्दै आए । किनकि उनीसँग विवाह गर्ने बेला न त आवश्यक खर्च थियो, न दाम्पत्य जीवन अघि बढाउनेबारे योजना नै । गाउँमै कहिलेकाहीँ गर्दै आएको पर्यटक गाइडको आम्दानीले खर्च चल्न नसकेका बेला फुदोर्जेले पनि नयाँ योजना बुने— विदेश जाने । फर्केर आएपछि विवाह गर्ने ।
 
सोलुखुम्बुबाट ३ महिनाअघि काठमाडौं झरेका उनी युथ मेनपावरको सम्पर्कमा पुगे । सरकारले ८० हजारभन्दा बढी लिन नपाउने नियम बनाएको मलेसियामा सुरक्षा गार्डको काम गर्न जानका लागि १ लाख ६० हजार रुपैयाँ बुझाए ।
 
रणबहादुर साउदी गए भने फुदोर्जे मलेसिया । तर सोचेजस्तो काम पाएनन् । सिकर्मीको काम भनी मेनपावरले पठाएका रणबहादुरलाई साउदीमा लेबरको काम गर्नुपर्ने भयो । ७० दिनअघि राजधानीको अकाबर मेडिकलमा स्वास्थ्य जाँच गर्दा योग्य ठहरिएका फुदोर्जे मलेसियामा पुनः स्वास्थ्य जाँच गर्दा अयोग्य ठहरिए । दुवैका लागि वैदेशिक रोजगारी 'आकाशको फल'बाहेक केही हुन सकेन ।
 
सम्झौताभन्दा निकै जटिल काम गर्नु परेपछि रणबहादुर ४ महिनामै स्वदेश फर्कन बाध्य भए भने फुदोर्जेलाई स्वास्थ्य जाँचमा अयोग्य भएको भन्दै मलेसियन कम्पनी एटिजेडीले त्यहाँ बस्न दिएन । दुवै यतिखेर काठमाडौंमा विदेश जाँदा मेनपावरलाई तिरेको रकम फिर्ता गराउन विभिन्न निकाय धाउँदैमा हैरान छन् ।
 
'१ लाख ६० हजार रुपैयाँ असुलेको युथ मेनपावरले ५० हजारमात्र फिर्ता हुने भन्छ,' फुदोर्जेले दुःख बिसाए, 'आफ्नो डेढ लाखभन्दा बढी फसेको छ । कसरी ५० हजार फिर्ता लिएर चित्त बुझाऊ ?' मेनपावरले लिएको रकम फिर्ता गराउन उल्टै घरबाट थप रकम मगाउनुपरेको उनीहरूको भनाइ छ । रणबहादुर भन्छन्, 'साउदी जाँदाको ६० हजार रुपैयाँ गाउँको जमिन बन्धकी राखेर जुटाएको हुँ । अब गाउँ फर्कूं कसरी बन्धकी जमिन निखन्ने, काठमाडौंमै बस्दा के खाएर गुजारा गर्ने ?' यतिखेर आफ्नोमात्र नभई नाबालक छोराछोरी, पत्नी र वृद्ध आमाबुवाको सपना पनि हुरीले उडाएझैं भएको उनको भनाइ छ ।
 
स्वदेशमा रोजगारीको विकल्प नहुँदा विदेशी भूमिमा सपना मारेका रणबहादुर र फुदोर्जे दुई प्रतिनिधि पात्रमात्र हुन् । अनेकौं सपना साँचेर विदेशी भूमिमा भविष्य खोज्न जाने युवायुवतीहरू निराश हुँदै फर्कने क्रम पछिल्लो समय निकै बढेको छ । सम्झौताअनुसारको काम, सेवा सुविधा नपाउँदा उनीहरू बीचमै फर्कन बाध्य हुन्छन् । सहयोगमा लागि विभिन्न सरकारी÷गैरसरकारी कार्यालयमा याचना गर्दै हिँडे पनि कतैबाट सुनुवाइ नभएको पीडितहरू गुनासो गर्छन् ।
 
फुदोर्जेका अनुसार मलेसिया जानुअघि सयकडा ५ ब्याज लाग्ने गरी ऋण लिएर मेनपावर कम्पनीलाई रकम बुझाइएको हो । मेनपावरले १ लाख ६० हजार रुपैयाँ बुझे पनि फुदोर्जेलाई भने ८० हजार रुपैयाँको मात्र रसिद दिएको छ । 'मलेसिया उड्नु केही बेरअघि ८० हजार रुपैयाँको रसिद दिएकाले पूरै रकमको रसिद लिन सकिएन,' उनले भने, 'बढी रकम तिरेर गए पनि उता काम गर्न पाइएको भए खासै चिन्ता हुँदैनथ्यो ।' मलेसिया जाँदा लागेको खर्च फिर्ता गराउने प्रयासमा रहेका उनी मेनपावर कम्पनीमा पुग्दा भने उल्टै धम्की पाउने गरेको गुनासो गर्छन् । एकातिर आफ्नो लगानी पनि डुबाउनुछ, अर्कोतिर उल्टै धम्कीको खप्की; उनी तनावमा छन् । काठमाडौंमा स्वास्थ्य परीक्षण गर्ने अकाबर मेडिकलमा पनि युथ मेनपावरले नै पु¥याएको उनको भनाइ छ । 'मेनपावरले भनेको मेडिकलमा स्वास्थ्य जाँच गर्दा र उसले मागेअनुसारको रकम दिँदा पनि धोका भयो,' फुदोर्जेले भने, 'यसरी सोझै ठगी गर्नेलाई कारबाही गर्नुप¥यो भन्दा पनि सरकारी निकायले चासो दिँदैन ।'
 
मोरङ उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापाको बेचैनी पनि फुदोर्जेको जस्तै छ । नीड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका झमक त साढे एक महिनामै घर फर्र्किए । राजधानीको इन्टरनेसनल हेल्थ केयर एन्ड डाइगोनेस्टिक सेन्टरले स्वास्थ्य परीक्षणमा 'फिट' गराएर मलेसिया पठाएका उनी त्यहाँ भने 'अनफिट' देखिए ।
 
स्वास्थ्य जाँचमा 'अनफिट' भएपछि मलेसिया पुगेका कामदार घर फर्कनुपर्छ । नेपालमा स्वास्थ्य जाँच गर्दा 'फिट' र मलेसियामा 'अनफिट' देखिएपछि झमक यतिखेर आफूले मेनपावरलाई बुझाएको रकम फिर्ता गराउन विभिन्न निकायमा दौडधूप गरिरहेका छन् । मलेसिया जाँदा १ लाख ४० हजार रुपैयाँ तिरेको बताउने उनी मेनपावर कम्पनीका मान्छेलाई पटकपटक भेट्न खोजे पनि सम्पर्कमा आउन नचाहेको बताउँछन् । उनलाई पनि मेनपावर कम्पनीले फुदोर्जेलाई झैं ८० हजार बुझेको रसिद थमाएको छ ।
 
यता फिट, उता अनफिट
 
विदेशमा स्वास्थ्य जाँच गर्दा 'अनफिट' भएका युवाहरू न्यायको खोजीमा काठमाडौंका गल्लीगल्लीमा भौंतारिरहेका छन् । विदेश जाँदा एउटा कामका लागि सम्झौता हुने र त्यहाँ जटिल काम गर्नुपर्दा फर्किएर आउने युवाको संख्या पनि उत्तिकै छ ।
 
ग्रीनतारा मेनपावरले हल्का ड्राइभरको काम भन्दै मलेसिया उडाएका मोरङ, उर्लाबारी–९ का कृष्ण खत्रीले हेभी गाडी चलाउनुप¥यो । काम गर्नै नसकेपछि उनी एक महिनामै फर्केर नेपाल आए । अहिले ग्रीनताराले लिएको ५५ हजार रुपैयाँ फिर्ता पाउनुपर्ने भन्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ५५ हजार लिए पनि मेनपावरले उनलाई २० हजार रुपैयाँको रसिद दिएको छ ।
 
वैदेशिक स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का भने विदेश पुगेपछि सम्झौताअनुसार काम नपाउँदा त्यसैलाई 'अनफिट' भनिने गरेको जिकिर गर्छन् । 'स्वास्थ्य जाँचको बेला स्वदेशमा 'फिट' भएको र विदेशमा 'अनफिट' भएर फर्केको जुनसुकै व्यक्तिको पुनः स्वदेशमा स्वास्थ्य जाँच गर्दा 'अनफिट' देखिएको बेला मात्र स्वास्थ्य संस्थाको बदमासी भन्न सकिन्छ,' उनले भने, 'विदेश जानुअघि 'फिट' र निश्चित समयभित्र फर्केर आएको व्यक्तिको पुनः स्वास्थ्य जाँच गर्दा 'अनफिट' देखिएको अवस्थामा मात्र क्षतिपूर्ति प्रदान गर्ने प्रावधान छ ।'
 
वैदेशिक रोजगारीमा दिनप्रतिदिन विकृति बढ्दै जाँदा सरकारी निकाय र स्वयं मेनपावर सञ्चालन गर्दै आएका व्यवसायी सुधारको पक्षमा नलागेपछि रोजगारीमा जान खोज्ने अधिकांश युवायुवती सशंकित हुने गरेका छन् ।
 
बढ्दो उजुरी
 
जसरी पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढ्दो छ, त्यसैगरी मेनपावर कम्पनीले ठगेको र सम्झौताअनुसार काम नपाएको भन्दै उजुरी दिनेको संख्या पनि ह्वात्तै बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार यस्तो समस्या आएपछि उजुरी दिनेहरू बढेका छन् ।
 
साउन महिनामा मात्र विभिन्न मेनपावर कम्पनी र विदेश पठाउने व्यक्तिविरुद्ध विभागमा १ सय २६ उजुरी परे । आर्थिक वर्ष २०७०÷७१ मा २५ सय ५१ उजुरी परेको विभागमा ०७१÷७२ मा त्यो संख्या बढेर २६ सय ७९ पुग्यो । तर, विभागमा दर्ता हुने यस्ता उजुरीबाट कुनै निकास निक्लन नसकेको पीडितको भनाइ छ । विदेश जानुअघि मेनपावर कम्पनीले भनेजस्तो तलब र काम नपाएपछि एक महिनामै घर फर्किएका बर्दिया तारातालका मनोज डाँगीले भने, 'मेनपावर विरुद्धका उजुरी छानबिन गर्न विभागले खासै चासो दिएजस्तो लाग्दैन ।' विभागमा कर्मचारी नभेटिँदा तीनपटकको प्रयासपछि मात्र डाँगीले उजुरी दर्ता गर्न पाएका थिए ।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल पछिल्लो समय वैदेशिक रोजागारीमा रहेका युवायुवतीहरू आफ्नै कारणले फर्कने दाबी गर्छन् । 'त्यसको दोषचाहिँ मेनपावर कम्पनीलाई दिने क्रम बढेको छ,' उनले गुनासो पोखे, 'प्रमाणित हुन नसक्ने उजुरी गर्ने र दोषजति मेनपावर कम्पनीको टाउकोमा थुपारिएको छ ।'
 
विभागका अनुसार सम्झौताअनुसार काम र सुविधा नपाएको, बढी रकम असुलेको भन्दै सरदर प्रतिदिन ६ उजुरी पर्ने गरेका छन् ।
 
उजुरी दिनेमध्ये कतिपय विदेशबाट फर्केका हुन्छन् भने कतिपयका आफन्तले न्यायका लागि उजुरी दिन्छन् । केही वर्षयता वैदेशिक रोजगार नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको छ । अघिल्लो वर्ष श्रम स्वीकृति लिएर खाडी, मलेसिया लगायतका मुलुकमा ५ लाख युवायुवती गएका थिए ।
  
Published on : 31 October 2015 | Nagarik
 

Back to list

;