s

त्यसैले विदेश अध्ययन

मकर श्रेष्ठ

इक्यानको सातौं शैक्षिक मेला काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेपाली विद्यार्थी किन विदेश अध्ययन गर्न चाहँदा रहेछन् ?

इटहरीका अंकित भट्टराई कक्षा १२ को नतिजा पर्खाइमा छन् । नतिजा नआउँदै उनी विदेश अध्ययन गर्न स्तरीय विश्वविद्यालय र कलेजको खोजीमा छन् । केएमसी कलेजमा विज्ञान संकाय अध्ययन गरेका उनको लक्ष्य सफल इन्जिनियर बन्ने हो । तर, नेपालमा सरकारी इन्जिनियरिङ कलेजमा भर्ना पाउन मुस्किल  र निजीमा महँगो छ । नेपालको कलेजमा पढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रन पनि कठिन भएको उनको बुझाइ छ ।

राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको मेलाको भीडभाडमा उनी भेटिए जो परामर्श लिइरहेका थिए । 'नेपालमा पढेपछि जागिर पाइँदैन । पाइहाले पनि कम तलब हुन्छ,' भट्टराई भन्छन्, 'विदेशमा अध्ययन गर्दा जागिरको अवसर पनि पाइन्छ ।'

स्वदेशमै विदेशी विश्वविद्यालयको आईटी कोर्स सस्तोमै पढ्न पाइन्छ । तर, विद्यार्थीहरू विदेशमै आकषिर्त भएका छन् ।

मेलामै भेटिएका बसुन्धराका दृष्टान्त आचार्य स्नातक अध्ययनरत छन् । उनी आईटी अध्ययनका लागि विदेश जान चाहन्छन् । 'राजनीतिक अस्थिरताले समयमा कोर्स सकिँदैन, कुन बेला परीक्षा लिने, कुन बेला नजिता प्रकाशन गर्ने भन्ने शैक्षिक क्यालेन्डर हुँदैन,' उनी भन्छन्, 'यसले गर्दा नेपालमा अध्ययन गरेपछि विदेशी विश्वविद्यालयमा सर्टिफिकेटसमेत बिक्न गाह्रो भएको छ ।'

इटहरीका अंकित भट्टराई र वसुन्धाराका दृष्टान्त आचार्य त मेलामा भेटिएका पात्र मात्र हुन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गर्न जायजेथा धितो राखेर विदेश अध्ययनका लागि पठाउने गर्छन् । वैदेशिक शिक्षामा कोही विद्यार्थी बुझेर जान चाहन्छन् भने कोही लहैलहैमा ।

झापा बिर्तामोडका सौरभ निरौला इन्जिनियरिङ अध्ययनका लागि अस्टे्रलिया जान चाहन्छन् । यो उनको रहर होइन बाध्यता हो । 'नेपालका शैक्षिक क्यालेन्डर जस्तोसुकै होस्, बन्द र हडतालले पूरा हुन दिँदैन,' करिअर महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनी भन्छन्, 'स्वदेशमा पढ्ने वातावरण नभएपछि विदेश जान चाहेको हुँ ।'

होटल म्यानेजमेन्ट पढेका गुल्मीका सुमन पाण्डे विदेशमा पढेपछि सहजै जागिर पाउने उनको ठम्याइ छ । 'जति पढ्यो, सीप सिक्यो काम पाउनै गाह्रो छ,' उनले भने, 'विदेशमा पढाइ र सीप भएकालाई अवसर मिल्न सक्छ । पढुन्जेल आंशिक र पढाइ सकेपछि पूरा समय काम गर्ने अवसर पाइन्छ ।'

चारदिने परामर्श मेलाको तेस्रो दिनसम्म ८० हजारभन्दा बढीले अवलोकन गरेका छन् । 'विगतको शैक्षिक मेलामा के रहेछ जाऊँ न त हेर्न भनेर आउने गर्थे,' इक्यानका उपाध्यक्ष तथा मेला संयोजक विष्णुहरि पाण्डे भन्छन्, 'यो वर्ष विदेश जान चाहने जेनुइन विद्यार्थी र तिनका अभिभावक आउने गरेका छन् ।'

विदेश अध्ययनका लागि जानेमध्ये कोही कमाउने रहरले, कोही त्यतै हराउने रहरले, कोही एक्लिने रहरले, कोही बसाइ नै सर्ने रहरले, कोही अनुभव लिने रहरले गएका छन् ।

शिक्षाविद् डा. विष्णु कार्की नेपालको शिक्षा नीति, राजनीतिक अस्थिरता, समाजमा हुने विभेदले विदेश अध्ययनमा जानेको संख्या बढेको बताउँछन् । यसलाई रोक्न शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने उनको सुझाव छ । 'विश्वविद्यालयमा राजनीति छिरेको छ, यसले गर्दा अन्य मुलुकसँग प्रतिस्पर्धी जनशक्ति उत्पादनमा समस्या देखिएको छ,' कार्की भन्छन्, 'नेपालको शैक्षिक अवस्थाले आपmनो भविष्य सुनिश्चित नहुने भएपछि भविष्य सुनिश्चित गर्न विदेश जानेको संख्या बढेको छ ।'

विश्व-बजारसँग प्रतिस्पर्धी हुन, आफ्नो शैक्षिक योग्यता बिकाउन पनि विदेश जाने लहर चलेको उनको अनुमान छ । विदेशमा अध्ययन गरेको भने पछि समाजले हेर्ने दृष्टिकोणसमेत फरक हुन्छ । 'विदेशबाट पढेको भनेपछि नेपालमै राम्रो अंक ल्याएका विद्यार्थी ओझेलमा पर्ने गरेका छन्,' शिक्षाविद् कार्की भन्छन्, 'यस्तो अवस्थाको अन्त्य नभएसम्म विदेशमा पढ्न जाने अवस्था रोकिँदैन ।' 

नेपाल एजुकेसन कन्सलटेन्सीका एकेडेमिक डाइरेक्टर अर्चना शर्माले नेपालमा शैक्षिक अवस्था वर्षेनि खस्कनु, विदेश जाने लहर, देखासिकीले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्दो रहेको बताउँछिन् । विदेशमा पढेर बाँकी रहेको समयमा काम गर्न पाउने भएकाले पनि आकर्षण बढेको उनी बताउँछिन् ।

विदेश अध्ययनमा जानुअघि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्छ । मन्त्रालयको तथ्यांकमा चालू आर्थिक वर्ष २०६९/७० जेठ महिनासम्ममा १५ हजार ८७ जनाले एनओसी लिएका छन् । मन्त्रालयका अनुसार ६४ भन्दा बढी राष्ट्रका निम्ति एनओसी लिएका छन् । त्यसमा पहिलो मुलुक जापान, त्यसपछि अस्ट्रेलिया र चीन रहेका छन् ।

Published on: 30 June 2013 | Kantipur

Back to list

;