s

उम्किएर कतारमा

होम कार्की

१९ फेबु्रअरीमा कतार आइपुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दोहोको होटलको जुन स्विटमा बसेका थिए, त्यसको झ्यालबाट बाहिर हेर्दा एउटा ठूलो भवन निर्माण भइरहेको देखिन्थ्यो । चार दिन यो झ्यालबाट प्रचण्डले त्यो टावरमा दिनरात नेपाली कामदारहरू घोटिइरहेको देखे । 'यो देख्दा अनुभूतिको तहबाट भन्दा मलाई गर्व र ग्लानि दुवै भयो,' कतार पुगेको तेस्रो दिन उनले भने । 'यहाँ आएर मलाई नेपाली पसिनाले कति ठूल्ठूला निर्माणको काम गरेको छ भन्ने थाहा भयो । यसका साथै यो श्रम र सीपलाई आफ्नै देशमा प्रयोग गर्न नसक्दा, रोजगारी दिन नसकेको देख्दा ग्लानिबोध भयो,' उनले भने ।

दीनानाथ शर्मा र लेखराज भट्टलाई साथ लिएर आएका उनको यो भ्रमणका मुख्य तीन उद्देश्य थिए- कतारसँग सम्बन्ध विस्तार गर्नु, पार्टी भ्रातृ संस्थाको महाधिवेशनमा सहभागी हुनु र देशभित्रको घेराबन्दी तोडेर 'फ्रेस' हुनु । कतार छिरेको पाँच दिनमा उनले जतासुकै नेपाली देखे, नेपालीले काम गरेको देखे र तिनका दुःख पनि देखे । यसै पनि भावुक प्रकृतिका उनी नेपालीको दुःख देखेर दुःखी पनि भए । कतारमा जे पनि निर्माणाधीन देखिन्छ । विश्वकै सबभन्दा बढी प्रतिव्यक्ति आय भएको यो धनी देशको विमानस्थलदेखि, होटल र सडकसम्म बनिरहेका छन् । यो देश बनाउने काममा लागिरहेका छन्, नेपाली युवाहरू । कामदारका रूपमा यहाँ बसेका थुप्रै नेपालीले प्रचण्डलाई यसपटक भेटे । धेरैले आफ्ना कुरा राखे । जसको सार थियो, 'यदि मेरो छोरोले नेपालमै बसेर भविष्य बनाउन सक्ने वातावरण बन्छ भने हामी अझै खाडीमा १५ वर्ष बिताउन तयार छौं ।'  

नेपालको पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले केही महत्त्वपूर्ण भेटघाट पनि गरे । कतारका श्रम तथा सामाजिक मामिला मन्त्री अब्दुल्लाहा बिन सलिह मुबाराक खल-खुलाइफीसँग उनले नेपाली कामदारको हक हितको कुरा गरे । खुलाइफीले प्रचण्डलाई भने, 'हामी नेपालीलाई उच्च प्राथमिकता दिन्छौं । दक्ष कामदार पनि चाहन्छौं । तर अरू देशबाट ३ दिनभित्र कामदार आइपुग्दा नेपालबाट कम्तीमा ३ महिना लाग्छ ।' प्रचण्डले यसमा देश फर्केर कुरा गर्ने आश्वासन दिए । अर्को भेट उनले कतारका प्रधानमन्त्री शेख अब्दुल्लाहा बिन नासिर बिन खुलाफी अलथानीसँग गरे । यो 'कर्टसी' छलफलमा नेपालको संविधान निर्माण, कतारले गर्न सक्ने लगानीका कुरा भए । प्रचण्डले २०२२ को विश्वकप फुटबलको शुभकामना दिए । 'नेपालीले विश्वकप सफल पार्छन्/गर्छन्,' उनले कूटनीतिक पारामा भने, 'कतारले पनि नेपाल बनाउन सहयोग गर्नुपर्छ ।'

कतारले विश्वका धेरै राष्ट्रमा लाखौं बिलियन डलर सहयोग गर्ने देश हो । तर, नेपालको श्रमशक्तिले बनिरहेको देश भए पनि नेपालमा कतारको ठूलो लगानी हुन सकेको छैन । हरेक वर्ष एक लाखभन्दा बढी कामदारको कोटा भने नेपालले पाउँदै आएको छ । अक्टोबर २०११ मा राष्ट्रपति रामवरण यादवले कतारको औपचारिक भ्रमण गरेका थिए ।

दोहा आएको तेस्रो दिन पार्टीको प्रवासी संगठनको अधिवेशन उद्घाटनमा प्रचण्डलाई अर्को झट्का लाग्यो । उनले आफ्नो जनयुद्धका योद्धाहरूलाई यो मरुभूमिको देशमा पाए । आफ्नो देश बनाउन हतियार उठाएका हातहरू कतार बनाउन भिडिरहेको उनले देखे । केही रोल्पालीहरूले प्रचण्डलाई भने, 'हामीले देखेको सपना यो थिएन, कमरेड । हाम्रो सपना पूरा भएन ।'

उनले प्रस्टीकरण दिए । 'हामी सधैं युद्ध गर्न सक्थेनौं, शान्ति प्रक्रियामा आउनैपथ्र्यो । आइसकेपछि व्यवस्थित गर्ने र पारिवारिक जीवन निर्माणको योजना बनाउने कुरामा हामी चुक्यौं,' उनले भने । साथै उनले विदेशमा काम गर्न आउनुलाई असफलता भन्न नहुने तर्क गरे । यो अनुभव भोलि आफ्नो देश बनाउन पनि काम लाग्ने उनले बताए । 'विदेशमा नेपालीको पहुँच बढिरहेको छ । त्यसलाई गलत रूपमा बुझ्न हुँदैन । यहाँ केही छ र न आएका छौं,' उनले महाधिवेशनमा भने, 'म जता जान्छु त्यता नेपालीले आफूलाई प्रतिस्पर्धामा उभ्याइरहेको देख्छु । संसारभरिका मान्छे विश्वभर पुगिरहेका छन् । यो युगले ल्याएको अवसर हो । यसमा अनावश्यक डिप्रेसनमा जानु जरुरी छैन ।'

यो भ्रमणमा प्रचण्डले मरुभूमिमा नेपालीले फलाएका रंगीचंगी फूल र तरकारी पनि हेरे । यसमा प्रफुल्ल भए । चौथो दिन दोहाको कर्निस पुगेर डुंगामा समुद्री शयर गरेपछि बल्ल उनको अनुहारमा ताजगी देखियो । स्वदेशको घेराबन्दीबाट दिक्दार भएर कतार आएका प्रचण्ड सायद त्यसलाई तोड्ने बल सञ्चित गरेर फर्किए ।

Published on: 1 March 2014 | Nagarik

Back to list

;