s

भिसा शुल्क घटाउन मेलेसियासँग आग्रह

सरकारले मलेसियालाई नेपाली कामदारसँग लिँदै आएको भिसा र भिसा प्रक्रिया शुल्क घटाउन आग्रह गरेको छ। मलेसियाले बायोमेटिक प्रणाली लागू गर्दै भिसा शुल्क सात सय र प्रक्रिया शुल्कका नाममा तीन हजार दुई सय रुपैयाँ लिँदै आएको छ। नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री अहमद जाहिद हमिदिलेसँग सरकारी अधिकारीहरूले यस्तो आग्रह गरेका हुन्।

पछिल्लो समयमा मलेसियाले भिसा प्रक्रिया जटिल बनाउनुका साथै शुल्क पनि बढाएको छ। यसले समस्या आएको भन्दै नेपाली व्यवसायीले विरोध गर्दै आएका छन्। श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङले शुल्क घटाउन गरिएको आग्रहमा मलेसियाका मन्त्री सकरात्मक नदेखिएको बताए। मानव संसाधनको व्यवस्थापनका लागि शुल्कमा केही परिवर्तन गरिएकाले त्यसमा हेरफेर गर्न नमिल्ने उनले बताएका छन्।

तीनदिने औपचारिक भ्रमणको क्रममा मंगलबार काठमाडौं आइपुगेका मन्त्री हमिदीले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार्टर फ्लाइटमा बंगलादेशबाट काठमाडौं आएका उनले नेपाली कामदारका समस्या समाधान गर्ने आश्वासन दिए।

मलेसियाली मन्त्रीले राहदानी संकलनका लागि अर्कै कार्यालय खोल्ने जानकारी गराएको श्रम मन्त्री गुरुङले अन्नपूर्णलाई जानकारी दिए। सुरक्षा गार्डको लागि यहाँ नै कुनै निजी क्षेत्रको अन्तर्राष्ट्रिय कम्पनी राख्ने लगायतको विषय पनि छलफलमा उठेको थियो।

यस्तै गोकर्ण रिसोर्टमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसँग भएको बैठकमा उनले सुरक्षा गार्डका लागि यहाँ कम्पनी खोल्न सहमति मागेको स्रोतको दाबी छ। गौतमले उनको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै त्यसलाई व्यवस्थापन गर्ने जानकारी दिएका थिए। नेपाली कामदारलाई उच्च महत्त्व दिन र सेवा सुविधा बढाउन नेपालको तर्फबाट अनुरोध गर्दै त्यसमा सहमतिमा काम गर्ने बताएको पनि बैठकमा सहभागीले बताए।

मलेसियामा कार्यरत नेपाली कामदारका समस्या समाधान, श्रम सम्झौता र श्रम व्यवस्थापनबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। मलेसियाली गृहमन्त्रीको यो नेपाल भ्रमणमा खासगरी नेपाली कामदारका समस्या समाधान, श्रम व्यवस्थापन र सुरक्षा गार्डको रूपमा जाने नेपालीको उच्च मूल्यांकन र सहज गमनको व्यवस्थापनलगायतमा छलफल भएको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्न्यातले बताए।

मलेसियाली प्रतिनिधिमण्डलमा सहायक गृहसचिव, अध्यागमन विभागका महानिर्देशक र मलेसियाली पूर्वी राज्य सारावाकका भूमि मन्त्री लगायत छन्।

नेपाली कामदार मलेसिया जान थालेको १२ वर्षभन्दा बढी भइसक्दा पनि नेपालले श्रम सम्झौता गर्न सकेको छैन। सन् २००१ देखि नेपाली कामदारका लागि मलेसिया खुला भएको हो । मलेसियामा हाल वैध रूपले पाँच लाख ७५ हजार नेपाली कार्यरत छन्। अवैध रूपमा रहेका नेपालीको संख्या पनि हजारौं रहेको अनुमान गरिएको छ।

Published on: 3 April 2014 | Annapurna Post

Back to list

;