s

यमनबाट १० नेपालीको उद्धार

यमनको द्वन्द्वमा फसेकामध्ये १० नेपाली कामदारलाई भारतीय दूतावासको सहयोगमा उद्धार गरी बिहीबार अपि|mकी देश जिबुदी लगिएको छ ।

राजधानी सनाबाट एक दिन लाग्ने एडेनस्थित होटल र सुपरमार्केटमा कार्यरत ती नेपालीलाई उद्धार गरी पठाइएको यमन हेर्दै आएका साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले बताए । '१० नेपालीलाई पानीजहाजमार्फत जिबुदी लगिएको हो,' उनले भने, 'बाँकी सनामा रहेका ९ जनालाई पनि छिट्टै उद्धार गर्नेछ।'

उद्धार गरिएकामा लुलु हाइपरमार्केटमा कार्यरत स्याङ्जाका अनील विश्वकर्मा, मनोज भट्टराई, प्रकाश डोटेल, सन्तोष जीटी र पाल्पाका लेखनाथ खनाल छन् । एडेन होटलमा कार्यरत रामेछापका गुणदास श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, अर्को एक होटलमा कार्यरत पाल्पाका खुमानन्द पौडेल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत प्रचण्डमान श्रेष्ठ र उनकी पत्नी छन् । प्रचण्डमान र उनकी पत्नी यमनको होराइजमा थिए ।

उनीहरूलाई जिबुदीबाट स्वदेश पठाइनेछ । साउदीस्थित नेपाली दुतावासका अनुसार सानामा अझै ९ जना उद्धारको प्रतीक्षामा छन् । जसमा गुल्मीका मधु अर्याल, नवलपरासीका सन्तोष पाण्डे, जयकुमार राई, शान्तकुमार लिम्बू रोशन विष्ट, डुबहादुर अधिकारी, लोकबहादुर गोदारलगायत उद्धारको अपेक्षा गर्दै भारतीय दूतावासको सम्पर्कमा छन् । सनामा विमानस्थल खुल्नेबित्तिकै सम्पर्कमा रहेका बाँकीलाई उद्धार गरिने राजदूत पाण्डेले बताए ।

विद्रोही पक्ष हुत्ती समुदायले निर्वाचित राष्ट्रपतिलाई अपदस्त गरेपछि यमनमा हिंसा भड्किएको थियो । पछिल्लो एक सातादेखि साउदी अरबको नेतृत्वमा विद्रोही पक्षलाई आत्मसमर्पण गराउन हवाई आक्रमण जारी छ । साउदीले थालेको यो अभियानमा बहराइन, कतार, यूएई र ओमानको साथ छ ।

Published on: 3 April 2015 | Kantipur 

Back to list

;