लकडाउनमा आत्महत्या र यसले उब्जाएका प्रश्न

Author(s): अर्जुन खरेल, माधव खतिवडा

Year of Publication: 2020

सञ्चारमाध्यमहरूले लकडाउनयता आत्महत्याका घटनामा उल्लेखनीय वृद्धि भएको समाचार दिइरहेका छन् । चैतदेखि जारी लकडाउनसँगै नेपालमा आत्महत्याका घटना साँच्चै बढेका हुन् त ? तथ्यतथ्यांकमा रुचि राख्ने समाजविज्ञान अनुसन्धानकर्ता र मनोसामाजिक परामर्शकर्ताले यस सामाजिक परिघटनासम्बन्धी उपलब्ध समाचार र टीकाटिप्पणीहरूलाई अत्यन्त सावधानीपूर्वक केलाउनुपर्ने हुन्छ ।

आत्महत्याको अपुरो तथ्यांक

विश्वभर नै आत्महत्याको पूर्ण तथ्यांक फेला पार्न त्यति सजिलो छैन । तथ्यतथ्यांकको उचित संकलन तथा संवर्द्धन गर्ने कतिपय विकसित मुलुकमा पनि आत्महत्याको न्यून अभिलेखीकरण भएको पाइन्छ र यो सामाजिक अनुसन्धानको एक प्रमुख विषय बन्ने गर्छ । अझ आत्महत्यालाई पापकर्म ठानिने, कलंक र लाञ्छनाको विषय मानिने, अभिलेखीकरणको आधिकारिक निकायका रूपमा रहेको प्रहरीसमक्ष केस पुर्‍याउन घण्टौं लाग्ने, लासको प्रकृति मुचुल्का र पोस्टमार्टमका झन्झटिला कानुनी प्रक्रियामा फस्नुपर्ने र साथै मृत शरीरलाई जोसुकैले छुने हुनाले मृतात्माले मुक्ति नपाउनेजस्ता अनेक विश्वास र अभ्यासका कारण नेपालजस्तो मुलुकमा आत्महत्याका सबै घटना प्रहरीसमक्ष पुग्दैनन् । तसर्थ नेपालमा भएका आत्महत्याका अनेक घटनाको उचित र आधिकारिक अभिलेख नराखिने हुनाले यी घटना प्रहरीको संकलन सूचीमा पनि समावेश नभएका हुन सक्छन् । तथापि, आत्महत्याको अध्ययन र विश्लेषणका लागि नेपाल प्रहरीले आवधिक रूपमा उपलब्ध गराउने तथ्यांकहरूमै भर पर्नुको विकल्प अहिलेलाई छैन ।

पछिल्ला दुई आर्थिक वर्षका आधिकारिक तथ्यांक नेपालमा अहिले उपलब्ध आत्महत्यासम्बन्धी समाचार, लेख तथा प्रतिवेदनहरू प्रहरीले उपलब्ध गराएका आधिकारिक तथ्यांकमै आधारित छन् । तर उपलब्ध सबै समाचार र प्रतिवेदनहरू केही महिनाको मात्र तथ्यांकलाई आधार मानेर लेखिएका हुनाले यिनीहरू नेपालको आत्महत्याको वास्तविक ढाँचा र प्रवृत्ति पहिचान गर्न चुकेका छन् । प्रहरीले संकलन गरेका आर्थिक वर्ष २०७५/७६ को साउनदेखि २०७६/७७ को जेठसम्मका आत्महत्याका मासिक तथ्यांकहरूको विश्लेषण गर्दा लकडाउनको समयमा आत्महत्या ह्वात्तै बढेको भन्ने कुरा तथ्यपरक देखिँदैन । बरु यो मूलतः नेपालमा लामो समयदेखि रहेको आत्महत्याका घटनाहरूको सामान्य ढाँचाको निरन्तरता नै हो भन्ने देखिन्छ ।

यदि लकडाउनमा परेका चैत, वैशाख र जेठमा भएका आत्महत्याका घटनाको संख्यालाई त्यसभन्दा ठीक अगाडिको फागुनसँग तुलना गर्ने हो भनेचाहिँ आत्महत्या बढेको देखिन्छ । किनभने, देशभर चैतमा ४८३ जना, वैशाखमा ५७८ जना र जेठमा ५८६ जनाले आफ्नो ज्यान लिएका छन् भने, फागुनमा यो संख्या केवल ४१५ मात्र थियो । यसरी लकडाउनमा नपरेको फागुनको आँकडालाई पूर्ण लकडाउनमा परेका वैशाख र जेठसँग तुलना गर्दा आत्महत्याको वृद्धि ४० प्रतिशतले भएको देखिन्छ, तर तथ्यांकको यस्तो विश्लेषण अपरिपक्व हुन जान्छ ।

आत्महत्याको वास्तविक स्वरूप बुझ्नका लागि आर्थिक वर्ष २०७६/७७ का चैत, वैशाख र जेठमा भएका आत्महत्याका घटनाहरूलाई अघिल्लो आर्थिक वर्ष (२०७५/७६) का उही महिनामा भएका घटनाहरूसँग तुलना गरेर हेर्नुपर्ने हुन्छ र यसो गर्दा बिलकुल फरक दृश्य गोचर हुन्छ । त्यो आर्थिक वर्षको चैतमा आत्महत्या गर्नेको संख्या ४६७ थियो भने, वैशाख र जेठमा ६००/६०० जनाले आफ्नो जीवनलीला समाप्त गरेका थिए । अनि यी अंकहरू आर्थिक वर्ष २०७६/७७ का यिनै महिनामा भएका आत्महत्याका संख्यासँग मिल्दाजुल्दा छन् ।

यसरी नै, गत दुई वर्षका आत्महत्याका मासिक तथ्यांक हेर्दा वैशाख, जेठ र असारमा सापेक्षिक रूपले बढ्ने गरेको र पुस–माघमा घट्ने गरेको सुस्पष्ट ढाँचा अगाडि आउँछ । आर्थिक वर्ष २०७५/७६ को माघमा आत्महत्याको मासिक आँकडा वर्षकै सबैभन्दा थोरै ३९४ थियो भने, सोही वर्षको वैशाखदेखि असारसम्म प्रतिमहिना कम्तीमा ६०० जनाले आफ्नै हातले आफ्नो जीवनलीला समाप्त गरेका थिए । त्यसरी नै आर्थिक वर्ष २०७६/७७ को पुसमा ३५२ जनाले मात्र आत्महत्या गरेका थिए भने, वैशाख र जेठमा यो संख्या बढेर वर्षकै सबैभन्दा उच्च क्रमशः ५७८ र ५८६ पुगेको थियो । २०७५/७६ को असारमा त्यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६०७ वटा आत्महत्याका घटना भएका थिए ।

उमेर र लिंगका आधारमा ती दुई आर्थिक वर्षका उही महिनामा भएका आत्महत्यालाई छुट्याएर हेर्ने हो भने, महिला, पुरुष र बालकहरूको आत्महत्याको संख्यामा खासै भिन्नता देखिँदैन । तथापि, गत वर्षहरूको सापेक्षतामा यस पालि वैशाख र जेठमा बालिकाहरूको आत्महत्यामा भने दुई गुणा वृद्धि भएको फरक दृश्य छर्लंग देखिन्छ । आर्थिक वर्ष २०७५/७६ का वैशाख र जेठमा देशभर जम्मा ५९ बालिकाले आत्महत्या गरेका थिए भने, यस पालिका यिनै दुई महिनामा यो संख्या बढेर ११२ जना पुगेको छ ।

संगीन प्रश्नहरू

आत्महत्याको यो ढाँचाकाँचा हेर्दा दुईवटा संगीन प्रश्न उब्जिन्छन् । पहिलो, वर्षका कुनै खास महिनामा, विशेष गरी वैशाख, जेठ र असारमा आत्महत्याको आँकडा किन उकालो लाग्छ ? आत्महत्याका संख्यामा आउने यी उतारचढाव जीविकोपार्जनका लागि नेपालका विभिन्न गाउँबाट रोजगारीका लागि भारत र नेपालका विभिन्न सहरमा जाने मौसमी कामदारहरूको बहिर्गमन र गृह आगमनसँग जोडिएको देखिन्छ । खासखास मौससमा नेपालका गाउँहरूबाट मानिसहरू रोजगारीका लागि बाहिर जाने गर्छन् र केही आर्थिक उपार्जनसहित घर फर्कने गर्छन् । नेपालमा सन् २०१७ र २०१८ मा भएको श्रम सर्वेक्षणले कामका लागि भारत जाने नेपालीहरूको संख्या १२ लाख र नेपालभित्रै कामका लागि जानेको संख्या करिब २५ लाख रहेको देखाउँछ । नेपालको मौसमी ढाँचाको बसाइँसराइमाथि सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीले यल विश्वविद्यालयको सहकार्यमा गरेको अध्ययनले मानिसहरू विशेष गरी नयाँ वर्ष पनि मान्ने र गहुँ पनि भित्र्याउने गरी चैत–वैशाखतिर र धान रोप्ने गरी जेठ–असारमा घर आउने अनि रोपाइँको काम सकेर फेरि साउनमा काममा फर्कने अनि पुनः चाडपर्व मान्न दसैंमा घर आउने र चाडपर्व मानेर काममा फर्कने गरेको देखाउँछ ।

आत्महत्याका घटना कामदारहरू घर फर्केको समयमा वृद्धि हुने र कामका लागि बाहिर गएको समयमा कम हुने कुरालाई संयोग मात्र मान्न सकिँदैन । कामदारहरूको आगमनपश्चात्को सामाजिक तथा पारिवारिक एकीकरणको चुनौती, संयुक्त बसाइसँगै परिवारमा बढ्न सक्ने अन्तरवैयक्तिक समस्या, रोजगारीमा जान वा अन्य प्रयोजनका लागि लिएको ऋण र चर्को ब्याजदरको समस्या, घरबाट टाढा रहँदा भोग्ने तनाव तथा आघातले पैदा गरेको मनोवैज्ञानिक समस्यासहित अन्य मनोसामाजिक कारणले यो बेला आत्महत्याका घटनाहरूमा वृद्धि हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न मिल्दैन । अतः यो विषयमा विस्तृत अध्ययन–अनुसन्धान गरी रोकथामका उपायहरू पहिचान गर्न आवश्यक देखिन्छ ।

अहिलेसम्म लकडाउनको समयमा आत्महत्याका संख्यामा वृद्धि नभएको देखिए पनि यही अवस्था रहिरहन्छ भन्न सकिँदैन । अहिले अधिकांश मौसमी प्रवासी कामदारहरू घर फर्किसकेका छन् । यदि कोरोना संक्रमण र लकडाउनका कारण मौसमी प्रवासनको नियमित प्रक्रिया अवरुद्ध भई रोजगारीका अवसरहरू गुम्ने हो भने, यसले मानिसहरूलाई भोकमरी, तनाव, चिन्ता र उदासीनता तथा थप बेरोजगारीको दुश्चक्रतर्फ धकेल्ने कुरालाई बेवास्ता गर्न मिल्दैन । गरिबी, अभाव, बेरोजगारी तथा भोकमरीले मानिसहरूमा गहन निराशा बढाई आत्महत्याको सोचतर्फ प्रवृत्त गराउने तथ्य संसारभर भएका अनेक अध्ययनले देखाएका छन् । यो अवस्थालाई बेलैमा सम्बोधन नगरे सामान्यतया आत्महत्याका समस्याहरू कम देखिने महिनाहरूमा पनि यो वृद्धि हुन सक्ने सम्भावना दर्बिलो देखिन्छ ।

आत्महत्याको वर्तमान प्रवृत्ति र ढाँचाले उठाएको दोस्रो संगीन प्रश्न हो— लकडाउनका यी महिनाहरूमा बालिकाहरूको आत्महत्यामा वृद्धि किन भयो ? अच्युतराज पाण्डेको समूहले आत्महत्यासम्बन्धी नेपालमा गरेको एक अध्ययनले नेपाली समाजमा छोरीको स्थान परिभाषित गर्ने सामाजिक–सांस्कृतिक सन्दर्भ तथा मान्यताका कारण केटाहरूको तुलनामा केटीहरू आत्महत्याको उच्च जोखिममा रहेको देखाएको छ । यस अध्ययनले खाद्य असुरक्षा, एक्लोपन एवं चिन्ता तथा सुर्ताजस्ता मनोसामाजिक तत्त्वहरूलाई बालिका आत्महत्याका जोखिमका रूपमा चित्रित गरेको छ । लकडाउनले खोसेको अभिभावकको रोजगारी, बालिकामाथि बढ्ने कामको बोझ, थुनिएर बस्नुपर्दा आउने एक्लोपन र उच्चाटलाग्दो मनोदशा र दुर्व्यवहारका घटनाहरूले आत्महत्याको सोचमा वृद्धि हुन सक्ने कुरा तथ्यगत नै हुन् । तथापि नेपालका सन्दर्भमा यी कुराको थप अध्ययन र पुनर्पुष्टि हुन उत्तिकै जरुरी छ ।

लकडाउनका दौरान ऊर्ध्वमुख देखिएको बालिका आत्महत्याले उठाएको अर्को अहम् महत्त्वको प्रश्न हो— हाम्रा बालिकाहरू आफ्नै घरभित्र कति सुरक्षित छन् ? लकडाउनका दौरान विश्वभर नै बढेको घरेलु हिंसा यसमा कति जिम्मेवार होला ? मनोसामाजिक सुरक्षाका लागि घरलाई सामाजिक सहायता प्रणालीको मियो मानिन्छ, तर यो घर नै हिंसा, दुरुपयोग, लाञ्छना र क्रूर अभिभाकत्वको यातनागृह त बनिरहेको छैन भन्ने प्रश्न पनि यसले उब्जाएको छ । यथार्थपरक र वैज्ञानिक विश्लेषणको जगमा यी माथिका प्रश्नहरूको उत्तर खोज्दै आत्महत्या रोकथाम गर्ने दिशामा सहयोग गर्नु नै सरकार, अनुसन्धानकर्ता, मनोपरामर्शकर्ता लगायत हरेक नागरिकको कर्तव्य हो ।

(खरेल सोसल साइन्स बहाःको सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीमा अनुसन्धाता छन् । खतिवडा काठमाडौं विश्वविद्यालयका विद्यार्थी मनोपरामर्शकर्ता हुन् ।)

प्रकाशित: श्रावण १५, २०७७ | कान्तिपुर   
 
Link

Back to list

;