s

अधुरै रह्यो सन्तको सपना

Devaki Bist 

६ वर्षीया रोमा सुनार काकाको काखमा लुटुपुटु गर्दै छिन् । एकैछिनमा सानो छोरा आइपुगे अनि बुबाको काखतिर लम्किए । रोमाले “मेरो बाबा (काका) हो, म बस्छु” भनेर काख छाड्न मानिनन् । भाइले आफ्नै बुबाको काखमा अरूलाई बस्न किन दिन्थे र ! अलि जब्बर गरेरै उनी थपक्क बुबाको काखमा घुस्रिए, रोमा भुइँतिर धकेलिइन् ।

रोमाकै बुबा पनि आइपुग्दै थिए, विदेशबाट तर निर्जीव रूपमा । बुबा सन्तबहादुरको शव रहेको काठको बाकस गाउँलेले बोकेर ल्याउँदै थिए । शव लिन रोमाका अर्का ठूलो बुबा दिनेश काठमाडौं गएका थिए । गाउँ टेकेपछि अलि छिटो पाइला फट्कारेर उनी घर आइपुगे अनि दाइको शव ल्याउँदा बाटामा बेहोरेको हैरानी गाउँले र आफन्तलाई सुनाउँदै अब गर्नुपर्ने चाँजोपाँजोबारे सल्लाह गर्न थाले ।

गोरखाको धार्चे–३ का सन्तबहादुर छोराछोरीलाई राम्ररी पढाउने, हुर्काउने र भविष्य उज्यालो बनाइदिने सपना बोक्दै दसैंको मुखमा घर छाडेर मलेसियाको बाटो लागेका थिए ।

मलेसियाको जोहर बहरूमा उनले फेजर सुक्मा क्लिनिङ सर्भिस एसडीएन बीएचमा काम पाएका थिए । काम उति गाह्रो थिएन । तलब सुविधामा गुनासो थिएन । तर तीन महिना नपुग्दै डिसेम्बर २८, २०२२ (पुस १३, २०७९) मा काममा गइरहेका बेला कार दुर्घटनामा परे । त्यसपछि अस्पताल पुर्‍याइएका उनलाई तीन दिनपछि चिकित्सकले मृत घोषणा गरे ।

कम्पनीले पठाएको शव १३ दिनपछि नेपाल आइपुगेको थियो । वैदेशिक रोजगार बोर्डले उपलब्ध गराएको गाडीमा राखेर दिनेशले शव काठमाडौंबाट गाउँ ल्याएका थिए । गाडी घरसम्म आई नपुग्ने भएकाले अलि तलबाटै गाउँलेले शव बोक्नुपरेको थियो ।

जब लाठेहरूले काठको बाकस आँगनमा बिसाए, सन्तबहादुरकी श्रीमती जुना भक्कानिइन् । “पापी दैव, मेरो लोग्नेलाई किन लगिस् ?” भन्दै डाँको छाडिन्, पटक–पटक अर्धचेत अवस्थामा पुगिन् । “जाने गइगो, छोराछोरीको मुख हेर, यसरी नरो जुना” भनेर छेउछाउकाले सम्झाउँथे तर उनीहरूकै आँखा रसाइरहेका थिए ।

परिवारजनका अनुसार पतिको सास बाँकी नरहेको खबर सुनेदेखि नै जुना अर्धचेतजस्तै थिइन् । हुन पनि उनले जीवनसाथी मात्र गुमाएकी थिइनन्, जीवनकै सहारा टुटेको थियो, घरव्यवहार, परिवार धान्ने आडभरोसा भत्किएको थियो । १५ महिने छोरो, ६ वर्षीया र ८ वर्षीया छोरीको काख लुटिएको थियो ।

०००

सन्तको परिवारसँग सानो घर थियो, थोरै बारी थियो, धान फलाउने खेत थिएन । बारीको उब्जनीले एकछेउ पनि नधान्ने हुनाले सन्त ज्यालादारी काम गर्थे । ज्यालादारीमा खटाइ बढी, कमाइ कम हुनाले सन्त दिक्क थिए । कम्तीमा आफ्ना सन्तानले उही नियति भोग्नु नपरोस् भन्ने चाहन्थे । यही चाहनाले उनमा विदेश जाने सपना उमार्‍यो ।

एजेन्टको माध्यमबाट सन्त २०७७ सालमा काठमाडौंको सिनामंगलस्थित मिनवा रिक्रुटमेन्ट एचआर प्रालिमा पुगे । उक्त कम्पनीले उनलाई डेढ लाख रुपैयाँ लिएपछि दुबई उडायो ।

दुबई पुगेपछि सन्तले काम गर्न थाले । तर जब आफू भिजिट भिसामा आएको पत्तो पाए, उनी झस्किए । किनभने भिजिट भिसामा गएर श्रम गर्नु अवैध हो । भिसाको म्याद पनि तीन महिनाको मात्र थियो । भिसाको म्याद थपिएन । तर उनी घर फर्किएनन्, अवैधानिक रूपमै त्यही कम्पनीमा काम गर्दै बसे । अवैध भएपछि कम्पनीले पैसा दिन पनि छाड्यो । जसोतसो एक वर्ष गुजारेपछि साथीहरूसँग डेढ लाख ऋण काढेर घर फर्किए ।

पहिला परिवारको गुजारा चलाउनुपर्ने मात्र बाध्यतामा रहेका सन्तलाई अब विदेश जाँदा र फर्किंदाको ऋण तिर्नुपर्ने परिबन्ध आइलाग्यो । उनले मुलुकभित्रै रोजगारी र व्यवसायको सम्भावना देखेनन् । उनी काठमाडौंको गोंगबुस्थित रिलायन्स एचआर सोलुसन्स प्रालिको सम्पर्कमा पुगे । त्यही कम्पनीले २ लाख ४० हजार रुपैयाँ लिएर सन्तलाई मलेसिया उडायो । तर तीन महिनामै उनले उतै ज्यान गुमाए ।

वृद्ध बुबाआमा र नाबालक तीन सन्तानको लालनपालन र श्रीमान् विदेश जाँदा लागेको ऋण तिर्ने जिम्मेवारी अहिले जुनाको काँधमा थुप्रिएको छ । आफन्त र छरछिमेकको सहयोगले किरिया कर्म टुंग्याएकी उनलाई ऋण सम्झँदा मात्र ऐँठन हुन्छ । “नौ लाख ऋण छ, कहाँबाट कसरी तिर्नु !” जुनाले खुइयाले गरिन् ।

जुनाको १५ महिने छोरो रोमन स्कुल जाने बेला भएको छैन । ठूली छोरी रोजिना कक्षा ३ र रोमा कक्षा १ मा पढ्छन् । सन्तकै भरोसामा जुनाका भाइ (सन्तका सालो) काठमाडौंको शंखरापुर पोलिटेक्निक इन्स्टिच्युटमा हाइड्रोपावर इन्जिनियरिङ पढ्दै छन् । उनीहरू सबैको पढाइ अगाडि बढाउने जिम्मा पनि अब जुनामै छ । तर त्यसको उपाय उनलाई थाहा छैन । उनलाई मात्र यति थाहा छ, छोराछोरीको लालनपालन र पढाइमा राम्ररी हेर्न नसके उनीहरूको पनि बाबुकै जस्तो ज्यालादारी जीवन सुरु हुन्छ । आफू एक्लैले राम्ररी डोर्‍याउन नसक्दा छोराछोरीले बाटो बिराउलान् कि भन्ने अर्को चिन्ता पनि जुनालाई छ ।

सन्तका दाइ दिनेश भने परिवारका लागि एउटा आस बिमाबापतको रकम र वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा रहेको बताउँछन् । श्रम स्वीकृति लिएर गएको कामदारको श्रम अवधिमा मृत्यु भए परिवारलाई वैदेशिक रोजगार बोर्डले ७ लाख रुपैयाँ राहत दिन्छ । वैदेशिक रोजगारी म्यादी जीवन बिमाबापत १० लाखदेखि १४ लाख रुपैयाँसम्म दिने व्यवस्था पनि छ । सन्त श्रम स्वीकृति लिएर मलेसिया गएका थिए ।

वैदेशिक रोजगारीमा गएका श्रीमानको्को उतै ज्यान गएपछि आर्थिक, सामाजिक, मानसिकलगायत अनेक समस्या झेलिरहेका महिला अनेक छन् । त्यस्तै उदाहरण बुटवलकी सरिता पुन पनि हुन् । श्रीमान् रामबहादुरको साउदी अरबमा मृत्यु भएपछि सरिता अहिले मानसिक तनावमा गुज्रिरहेकी छन् ।

रामबहादुर तीन वर्षअघि साउदी गएका थिए । २०७९ पुस ४ को राति सरितासँग कुरा गरेर सधैँझैं निदाएका उनी त्यस बेला भने अर्को दिन ब्युँझेनन् । मृत्युको कारण सरितालाई थाहा छैन ।

श्रीमान् गुमाउनुको पीडा जसोतसो सम्हाल्दै गरेका बेला कान्छो छोराको पढाइ बिग्रँदै गएकाले सरिता चिन्तित छिन् । “ऊ ९ कक्षामा राम्रै पढिरहेको थियो । उसको बुबा बितेपछि कहिलेकाहीँ मात्र स्कुल जान्छ, टोलाइराखेको मात्रै हुन्छ,” उनले सुनाइन्, “छोराको चिन्ताले अरू केही सोच्नै सकेकी छैन ।” उनका जेठा छोरा भने रोजगारीकै लागि कुवेत पुगेका छन् ।

रामबहादुर श्रम स्वीकृति लिएर साउदी गएका थिए तर म्याद सकिएपछि नवीकरण गराएका थिएनन् । त्यसैले सरकारबाट बिमा, आर्थिक सहयोग केही नपाएको सरिताले जानकारी दिइन् । “हामीले किरिया खर्च पनि पाएनौँ,” उनले भनिन् ।

पर्साका सूर्य महतो चाईको आर्थिक अवस्था कमजोर थियो, छोटो समयावधिमै छ सन्तान जन्मिएपछि खानलाउन मुस्किल पर्न थाल्यो । छोराछोरीलाई पनि राम्ररी पढाउने, हुर्काउने र घरको आर्थिक अवस्था पनि उकास्ने सपना बोकेर सूर्य चार वर्षअघि साउदी अरबको रियाद पुगे ।

कमाइ सन्तोषजनक रहेकाले बीचमा घर आएर श्रम स्वीकृति नवीकरण गराईवरी सूर्य रियाद फर्किए । श्रम स्वीकृतिको म्याद फेरि सकिएपछि घर आउने तरखर गर्दै थिए, उनी बिरामी परे । त्यही बिमारले म‌ंसिर २५, २०७९ मा उनको ज्यान लियो । त्यसपछि परिवारको अँध्यारो दिन सुरु भएको छ ।

सूर्यको मृत्युपछि उनका सबै छोराछोरीको पढाइ बिथोलिएको छ । ठूलो छोरो मुकेश १२ कक्षामा पढ्छन् । राहत पाइने आशा बोकेर सिफारिसलगायतका कागजात जुटाउँदै वैदेशिक रोजगार बोर्ड धाउँदा उनी कक्षामा नियमित हुन सकेका छैनन् ।

श्रम स्वीकृतिको म्याद सकिइसकेपछि सूर्यको मृत्यु भएको कारण देखाउँदै बोर्डले किरिया खर्च २५ हजार रुपैयाँबाहेक आर्थिक सहायता उपलब्ध नगराएको मुकेशले सुनाए । तर करार अवधि सकिएको एक वर्षभित्र मृत्यु हुँदा पनि आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिन सकिने वैदेशिक रोजगार नियमावलीको नियम २८ (१) को आधार देखाउँदै उनले दाबी गरिरहेका छन् । “आर्थिक सहायता पाउन सके केही समय भए पनि घरखर्च र पढाइखर्च धान्न पुग्थ्यो कि भन्ने आस छ,” उनले भने ।

मुकेशका भाइबहिनी सबै विद्यालय तहमा पढ्छन् । अलि हुर्केको आफू नै भएकाले घरव्यवहार भरथेग गर्न उनले अब आमालाई सघाउनुपर्नेछ । त्यही कारण अब माथिल्लो तह पढ्न नपाइने हो कि भन्ने चिन्ता उनमा सुरु भइसकेको छ । “धेरै पढ्न पाए राम्रो जागिर पाइन सक्थ्यो होला, थोरै पढाइले अहिलेको जमानामा के गर्नु !” मुकेशले भने ।

अभिभावक वैदेशिक रोजगारीमा गएपछि उनीहरूका सन्तानमा के कस्तो असर परिरहेको छ भन्ने विषयमा वैदेशिक रोजगार बोर्डले अध्ययन गरेको छ । २०७७ सालको अध्ययन प्रतिवेदनअनुसार बुबा वा आमा वैदेशिक रोजगारीमा गएको परिवारका बालबालिका बालहिंसा, यौनहिंसा, बालश्रम, कुलत/दुव्यर्सनको जोखिममा हुन्छन् । अतिरिक्त कार्यभार, मानसिक बोझलगायतका कारण पढाइ पनि बिग्रिरहेको छ । यसले उनीहरूमा मनोसामाजिक असर पनि पारिरहेको हुन्छ । यस्तो जोखिम र समस्यामा गुज्रिरहेका बेला वैदेशिक रोजगारीमा रहेका अभिभावककै मृत्यु भयो भने असर झन् बढी पर्न सक्छ ।

आर्थिक वर्ष ०६५/६६ देखि ०७९/८० को फागुनसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा ५४ लाख १५ हजार ३ सय ७९ नेपाली गएको तथ्यांक छ, जसमा पुरुष ५० लाख ९१ हजार ७४६ र महिला ३ लाख २३ हजार ६३३ जना छन् । यीमध्ये ११ हजार ५६२ को कामको सिलसिलामा उतै मृत्यु भएको बोर्डका तत्कालीन प्रवक्ता राजन पौडेलले जानकारी दिए । उनका अनुसार यस बीचमा २ हजार २५० जनाको अंगभंग भयो । वैदेशिक रोजगारीको समाजिक मूल्यसँग जोडिएको अर्को अत्यन्त संवेदनशील पक्ष बालबालिकाहरूमाथि हुने यौनहिंसा/शोषण र बलात्कारको उच्च जोखिम हो ।

नेपालका ९ जिल्लाहरूमा ७२० जना उत्तरदाताबीच गरिएको एक अध्ययनमा ५७ प्रतिशत वैदेशिक रोजगारीमा गएका परिवारहरूमा चिन्ता, २६ प्रतिशतमा डिप्रेसन, ७ प्रतिशतमा आत्महत्या र ३ प्रतिशतमा अन्य गम्भीर मानसिक अस्वस्थपनको समस्या रहेको देखिन्छ ।

वैदेशिक रोजगारमा गएका आमाबुबाका बच्चाहरूमा १.८% चिन्ताग्रस्त, १.१% निराशा/डिप्रेसन, ०.४% आत्महत्याको प्रयासको लक्षणहरू रहेको वैदेशिक रोजगारीले बालबालिकामा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन २०७६ मा उल्लेख छ ।

बोर्डबाट वैदेशिक रोजगारीका क्रममा मृतकका छोराछोरीले पाएको आ.व. २०७८/०७९ मा छात्रवृत्ति २ हजार १ महिला र २ सय ८ जना पुरुषले छात्रवृत्ति पाएका छन् भने आ.व. २०७९/०८० फागनु ४ सम्मको निर्णयगत प्रक्रिया महिला ९९० र १ हजार ४४ जना पुरुष छन् ।

भिसा र श्रम स्वीकृतिको अवधि छँदै कामदारको मृत्यु भए बोर्डले आर्थिक सहायता गर्छ । कामदारको श्रम स्वीकृति दुई वर्षका लागि हुन्छ । त्यही अवधिमा कुनै कारणले मृत्यु भए एक वर्षभित्रमा बोर्डको सचिवालयमा निवेदन दिनुपर्छ । वैदेशिक रोजगारीमा गएको कामदार बिदामा नेपाल आएका बेला मृत्यु भए वडा कार्यालयको प्रमाणपत्र र अस्पताल लगेको भए अस्पतालले दिएको मृत्यु प्रमाणपत्र बोर्डमा पेस गरे आर्थिक सहायता पाइन्छ ।

बोर्डबाट सहायता लिन मृतक कामदारको परिवारले सम्बन्धित स्थानीय तहबाट सिफारिस बनाएर निवेदन दिनुपर्छ । “निवेदन प्रमाणित भएपछि मृतकको आफन्तको बैंक खातामा बोर्डले सिधै रकम जम्मा गरिदिन्छ,” बोर्डका तत्कालीन प्रवक्ता पौडेलले भने ।

बोर्डबाट सहयोग पाइने प्रावधान र व्यवस्थाका विषयमा कतिपयले थाहा नै पाएका हुँदैनन् । “श्रम स्वीकृति लिएर विदेश गएको अवस्थामा मृत्यु भए छोराछोरीले बोर्डबाट पढाइ खर्च पनि पाउँछन्, लिनुभयो त ?” भनेर जिज्ञासा राख्दा गोरखा, धार्चे–३ का दिनेश सुनारले अचम्म मान्दै भने, “हो र ? हामीलाई त थाहै थिएन ।”

Published on: 21 March 2024 |Nepal Investigative Multimedia Journalism Network

Link

Back to list

;