s

मलेसियामा नेपालीहरुको मृत्युदर बढ्दो • १२ वर्षमा ३१५९ को मृत्यु

अघिल्लो दिनसम्म सकुशल रहेका खोटाङ बोपुङका महेन्द्र कुमार राईको गत नोभेम्बर ३ मा सुतेकै अवस्थामा मलेसियामा ज्यान गयो । त्यस्तै झण्डै १२ वर्ष अघिदेखि बातुपहातमा कार्यरत हरैचा ४ मोरङका गोपाल कोइरालाले गत जुलाईमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए ।
स्वदेश फिर्नु एकदिनअघि (जुलाई १०) मात्रै पाल्पा कोलडाँडाका दीपक मगरले झुण्डिएर मलेसियामै देह त्याग गरे ।
 
चाहे विरामी परेर होस् या हृदयघात । चाहे दुर्घटनामा परेर होस, या आत्महत्या, जुनसुकै कारणले भएपनि मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या पछिल्ला वर्षहरुमा बढ्दै गएको छ ।
 
परिवारसँग धन कमाएर घर फर्कने बाचा गरेर मलेसिया आएका महेन्द्र, गोपालजस्ता ३ हजार १ सय ५९ जना नेपालीले न त भनेजस्तो धन कमाउन पाए, घर फिर्न नै । दुर्भाग्य, उनीहरु मलेसियामै अस्ताए ।
 
रहस्यमय मृत्यु
 
वैदेशिक रोजगारीका लागि मलेसिया नेपालीमध्ये गत सन् २००३ देखि यताको १२ वर्षे अवधिमा ती नेपालीले ज्यान गुमाएका नेपाली दूतावासको तथ्यांकहरुले देखाएका छन् । यहाँ समयमै उपचार नपाएर ज्यान गुमाउनेदेखि सडक दुर्घटना, औद्योगिक दुर्घटना, आत्महत्या, हृदयघात, उच्च रक्तचाप र सुतेकै अवस्थामा रहस्यमय मृत्यु हुने गरेको ती तथ्यांकहरुमा उल्लेख छ । यीमध्ये बढीजसोको दुर्घटना र सुतेकै अवस्थामा रहस्यमय मृत्यु भएको देखिन्छ ।
 
दूतावासको तथ्यांक अनुसार वितेको १२ वर्षयता सबैभन्दा धेरै यसैवर्ष नोभेम्बरसम्म ४ सय २५ जनाको विभिन्न कारण ज्यान गुमेको छ । गत सन् २००३ मा एकसय एक जनाले ज्यान गुमाए भने पछिल्ला वर्ष मृत्युदर क्रमश: बढ्दै गएको देखिन्छ । यसवर्ष मृत्यु हुनेको संख्या गत वर्ष २०१४ को भन्दा ६४ जना बढी हो । २०१३ मा ३ सय ४१ जना नेपालीले ज्यान गुमाएका थिए ।
 
चिन्ता र समाधान
 
मलेसियामा नेपालीहरुको मृत्यदर पछिल्ला वर्ष झन्–झन् बढेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । बढ्दो मृत्युको कारण पहिल्याई स्वास्थ्य रहने विधि एवं उपचार प्रक्रियाबारे व्यापक जनचेतना अभिबृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ । धेरैजसोको सुतेकै अवस्थामा रहस्यमय मृत्यु भएको पाइकाले सरकारले नै यसमा गम्भीर भएर लाग्नुपर्ने र यसबारे अध्ययन गर्नुपर्ने उनीहरु बताउँछन् ।
 
पानी बढी पिउने र विशेष गरि खानपानमा ध्यान दिएमा यस्ता समस्या घट्न सक्ने राजदूत डा. निरञ्जनमानसिंह बस्न्यात बताउँछन् । ‘कडा काम, आराम कम र खानपानमा ध्यान कम दिने हुनाले पनि यस्ता समस्याहरु बढ्ने गरेका छन्,’ राजदूत बस्न्यातले भने, ‘पानी बढी पिउने, स्वास्थ्यको ख्याल गर्ने बानी बसाल्नु जरुरी छ ।’ मलेसियाको ‘नेचुरल हेल्थ एण्ड वेलनेस सेन्टर’ मा कार्यरत नेपाली चिकित्सक डा. रामप्रसाद उपाध्याय दैनिक खानपान र शारिरीक व्ययामलाई नै ध्यान दिएमा यस्ता स्वास्थ्य समस्या कम हुँदै जाने र मृत्युदर घट्नेमा जोड दिन्छन् । ‘दैनिक खाना ठीक समयमा खाना खाने, माधकपदार्थ सेवन सकभर नगर्ने–गरेपनि कम गर्ने, मासुभन्दा बढी हरियो सागसब्जी र फलफूल खानुपर्दछ ।’
 
उपाध्यायले भने, ‘यसका साथै दैनिक व्ययाम पनि गर्नुपर्दछ ।’ विरामीले चिकित्सकसँग आफ्ना कुरा सही भाषामा राख्न नसक्ने र उपचारमा कहिलेकाहिँ गलत विधि अपनाइने हुंदा पनि समस्या हुने गरेको छ । स्वस्थ रहने विधिबारे व्यापक जनचेतना अभिबृद्धि गराउनु आवश्यक छ । अनिमात्र यस्ता समस्या घट्छन् ।’
 
Published on: 4 December 2015 | Kantipur
 

Back to list

;