s

आममाफीमा छुटेका कामदारलाई फर्काइने

दिनेश रेग्मी, सुन्दर खनाल                
 
साउदी अरब सरकारले गैरकानुनी हैसियतमा बसेका विदेशी कामदारलाई दिएको आममाफीबाट ३५ हजार नेपाली लाभान्वित भएको भन्दै छुटेका कामदारलाई फर्काउन पहल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
परराष्ट्रले मन्त्रालयमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा करिब ५ सय नेपाली कामदार आममाफीको बेला घर फर्किनबाट छुटेको जनाउँदै दूतावासमार्फत पहल  गरेको बताएको छ । साउदीमा केही कामदारले समस्यामा पर्दा पनि आफूहरूलाई फर्काउन कसैले पहल नगरेको गुनासो गरेपछि परारष्ट्रको यो भनाइ आएको हो ।
 
साउदी सरकारले मे १० देखि नोभेम्बर ४ (वैशाख २७ देखि कात्तिक १८) सम्म बिनादण्ड स्वदेश फर्किन वा वैधानिक भएर साउदीमै काम गर्न भन्दै गैरकानुनी हैसियतमा बसेका विदेशीलाई आममाफी दिएको थियो । '२८ हजार नेपाली आउटपास (ट्राभल डकुमेन्ट) लिएर स्वदेश फर्के, ७ हजार वैधानिक भएर बसेका छन्,' परराष्ट्र प्रवक्ता दीपक धितालले भने, 'आममाफीको बेला छुटेका ५ सय जतिलाई फर्काउन दूतावासमार्फत पहल गरिएको छ ।'
 
रियादस्थित नेपाली दूतावासले आममाफी पछि पनि कही कामदारलाई आउटपास व्यवस्था गरेर स्वदेश फिर्ता गरेको जनाउँदै बाँकीको पनि पहल भइरहेको बताएको छ । 'हालै मात्र ६३ जना स्वदेश फर्किसके, अब साढे २ सयभन्दा केही बढी होलान् हामी पहल गर्दै छौं,' राजदूत उदयराज पाण्डेले भने ।
 
तर आममाफी खुलेको बेला भागेका र कामदार छाडेको छ भनेर प्रायोजक (स्पोन्सर) ले प्रहरीमा जानकारी नगराएकालाई भने फर्काउन सहज नहुने उनले बताए । 'तिनीहरू लेबर कोर्ट र स्पोन्सरकोमा गएर फर्किनुपर्ने हुन्छ,' उनले भने, 'कतिपय आममाफीको म्याद फेरि थपिन्छ भनेर अरूको लहैलहैमा लागेर भाग्दा समस्यामा परेका छन् ।'
 
साउदीमा कार्यरत एक कामदार तथा तिनका परिवारले घर फर्किन चाहेर पनि दूतावासले पहल नगरेको आरोप लगाएका छन् । ०६८ साउन ९ मा म्यानपावर कम्पनीमार्फत साउदी आएको बताउँदै बसामाडी-३ मकवानपुरका तेजबहादुर बस्नेतले सम्झौताको दुईवर्षेर् अवधि सकिएर पनि फर्किन नपाएको गुनासो
 
सुनाए । 'आईडी (परिचयपत्र) को म्याद सकिएर बसेको छु तर साहुले कि फाइन (जरिवाना) तिरेर जा कि लेबर कोर्ट -श्रम अदालत) जा भन्छ म दुवै गर्न सक्दिनँ,' रियादमा कार्यरत बस्नेतले भने, 'दूतावासमा जति जाँदा पनि पहल गरेन ।'
 
उनका भाइ इन्द्रबहादुरले राजधानीस्थित सरकारी तथा गैरसरकारी जति निकायमा जाँदा पनि कसैले उद्धारको पहल नगरिदिएको बताए । 'गल्ती गरेको भए कारबाही गर नत्र फर्काइदेऊ भन्दा पनि कतैबाट पहल भएन,' इन्द्रबहादुरले सुनाए, 'फोन गर्दा गर्दै कति पैसा सकियो, उद्धार नभएर हार खाएका छौं ।'
 
साउदी दूतावासले बस्नेतको समस्याबारे राजधानीबाट धेरैको फोन आएको छ भन्दै कम्पनी मालिक र उनलाई बोलाएर छलफल गर्न खोज्दा दूतावास नआएको बताइएको छ । 'आईडी फेल भयो (म्याद सकियो), रिन्यु (नवीकरण) को पैसा तिर इक्जिट (घर फर्किने अनुमति) हानिदिन्छु, नभए ६ महिना काम गर भनेर कम्पनीले भन्छ,' राजदूत पाण्डेले भने, 'छलफल गर्न दुवैलाई बोलायौं, कम्पनी मालिक आउँछ, उनी आउँदैनन् र टुंगो लगाउन समस्या छ ।'
 
साउदीको अलकायदा ब्रदर्स कम्पनी सकाका जोफमा कार्यरत दुई नेपालीले कम्पनीले भनेअनुसार र काम नदिएको भन्दै घर आउन खोज्दा उल्टै रकम मागेको
 
बताएका छन् । पोखराका सुरेन्द्रबहादुर नेपाली र काठमाडौंमा तिलकबहादुर आलले आफन्तमार्फत पीडा पोखेका छन् ।
 
साउदी दूतावासले ठगीका समस्या उत्तिकै छन् भन्दै खबर आएकालाई उद्धार गरिने बतायो । नेपालीका प्रमुख रोजगार गन्तव्य मुलुकमध्ये मलेसियापछि साउदी दोस्रो नम्बरमा छ । सायदीमा ५ लाखभन्दा बढी नेपाली कार्यरत छन् ।
 
भारतमा बैंक खाता खोल्न पहल
 
भारतमा नेपालीले बैंक खाता खोल्न नपाएकोबारे परराष्ट्र मन्त्रालयले आफ्नो निकायबाट पहल गर्ने जनाएको छ । भारतमा परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेले मंगलबारदेखि तीनदिने 'सद्भाव भ्रमण' गर्दै छन् ।
 
नेपालमा कार्यरत भारतीयहरूले आफ्नो दूतावासको सिफारिस वा परिचयपत्रको आधारमा नेपालका बैंकहरूमा खाता खोल्ने सुविधा पाएका छन् । तर त्यसरी नै नेपालीले भने आफ्नो दूतावासको सिफारिस वा परिचयपत्रको आधारमा भारतमा खाता खोल्नबाट वञ्चित छन् ।
 
भारतमा बस्ने नेपालीले भोग्दै आएको यो समस्याबारे सद्भाव भ्रमणमा कुरा उठ्छ कि भन्ने कान्तिपुरको जिज्ञासामा प्रवक्ता धितालले 'हामीले यसलाई सम्बन्धित विभागमार्फत पहल गछौं' भने । नेपालीले भारतका बैंकमा खाता खोल्न त्यहाँकै नागरिकसरह आधारपत्र (राष्ट्रिय परिचयपत्र), भोटर आईडी,  रासन कार्ड वा प्यान (स्थायी लेख नम्बर) कार्ड पेस गर्नुपर्छ, जुन नेपालीले नेपालीको हैसियतमा लिन सक्दैनन् ।
 
खाता खोल्न नपाएका कारण बैंकिङ च्यानलमार्फत रकम पठाउन नसक्दा सीमा क्षेत्र तथा बाटोमा धेरै नेपाली लुटिनुसमेत परेको छ । भारतमा कार्यरत कमदार तथा नेपाली संघसंस्थाहरूले सरकारले यसलाई समस्याका रूपमा समेत नलिएको बताउँछन् ।
 
Published on: 13 January 2014 | Kantipur

Back to list

;