s

अफ्रिकी मुलुकमा डान्सबार खोलेर युवती तस्करी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अफ्रिकी मुलुकमा डान्सबार खोलेर नेपाली युवती तस्करी गर्ने समूहलाई पक्रेको छ। 'अप्रेसन इगल'का नाममा सुरु गरिएको छमहिने अनुसन्धानबाट अफ्रिकाका डान्सबारमा गरिएको नेपाली लगानी र युवती तस्करी सञ्जालको खुलासा भएको हो।

प्रारम्भमा त्यहाँका डान्सबारमा काम गर्न नेपाली युवतीको तस्करी गर्दै आएको समूहले पछिल्लो समय आफैंले डान्सबार खोलेर नेपाली युवतीलाई भिजिट भिसाको आवरणमा पुर्या्एर यौन धन्दामा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घुम्न जाने भन्दै तीन महिनाको भिसा लगाएर अफ्रिकी, खाडी र केही एसियाली मुलुक जाने युवतीको क्रम बढेसँगै प्रहरीले सोको निगरानी राखेको थियो। अफ्रिकी मुलुकमा पछिल्लो समय नेपाली युवती बिचल्लीमा पर्ने र प्रहरीले पक्रने क्रम बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६ महिना लगाएर नेपाली युवती तस्करी गर्ने नेपाली र भारतीय नागरिकको समूह नै पक्राउ गर्योब।

ब्युरो प्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार अफ्रिकी मुलुक तान्जानिया, केन्या, युगान्डा र खाडी मुलुक युएई, बहराइन, मलेसिया र ओमानमा विभिन्न प्रलोभन दिएर नेपाली युवती तस्करी गरी मानव बेचबिखन गर्ने गरेको आरोपमा राजेन्द्र सुवेदी, राज मानन्धर, ललितराज सिंह सुवाल, सुनिल अधिकारी, केदारबहादुर खड्का, नवीन दाहाल र भारतीय नागरिक तरुण रोजना खनगवाललाई पक्रेको छ।

उनीहरुको पक्राउपछि नै पछिल्लो समय नेपाली नागरिक आफैंले डान्सबार खोलेर नेपाली युवतीलाई विभिन्न प्रलोभन दिएर उता लगी बन्दगी बनाई यौन धन्दामा लगाउने गरेको खुलेको हो। यसमा भारतीय नागरिकसमेत सक्रिय रहेको खुलेको छ। ब्युरोकी एसपी किरण बज्राचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा राजेन्द्र, ललित, सुनिल र सविनको केन्या, तान्जानिया र दुबईमा डान्सबार रहेको खुलेको छ। पक्राउ परेका भारतीय नागरिक तरुणले समेत ती देशमा आफ्नो लगानीमा खुलेको डान्सबारमा यी नेपालीको सहयोगमा नेपाली युवती लैजाँदै आएका थिए।

'यो समूहले लामो समयदेखि नेपाली युवतीलाई मासिक १ लाखसम्म आम्दानी हुने प्रलोभन दिएर भिजिट भिसामा अफ्रिकी, खाडी र एसियाली देशमा लगेर यौन दुर्व्यवहार र यौन व्यापारमा लगाउने गरेको खुलेको छ,' मल्लले भने, 'अनुसन्धानमा समूह नै मानव बेचबिखनमा संलग्न रहेको देखिएपछि हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएका छौं।'

पक्राउ परेका ललितपुरका राजन भनिने राजेन्द्र ट्राभल्स एजेन्सीको आवरणमा युवती तस्करीमा सक्रिय देखिएका छन्। उनी यो गिरोहको मुख्य नाइके हुन्। ललितपुरमै उनको माउन्टेन टुर्स एन्ड ट्राभल्स कम्पनी छ। उनले सोही कम्पनीमार्फत विभिन्न देशमा भिजिट भिसाको आवरणमा डान्सबारहरुमा नेपाली युवती पठाउँदै आएका थिए। उनी मानव बेचबिखनमा पक्राउ परेको यो दोस्रो घटना हो। उनी यसअघि २०७० भदौमा नेपाली युवतीलाई विदेश पठाई मानव बेचबिखन गरेको आरोपमा पक्राउ परी काठमाडौं जिल्ला अदालतबाट ३ लाख धरौटीमा छुटेका थिए।

मैतीदेवीका सविन कस्मेटिक र फोटोको प्रिन्टिङ पेपरको काममा सक्रिय देखिए पनि उनको वास्तविक धन्दा भने युवती तस्करी नै देखियो। प्रहरीका अनुसार उनी विदेशस्थित एजेन्टबाट डिमान्ड लिई युवती विदेश पठाउने काममा सक्रिय थिए। केन्या र तान्जानियाको डान्सबारमा समेत उनको लगानी रहेको खुलेको छ। स्वयम्भुको ठूलोभर्या ङ बस्ने लिलितराज नेपालमा कम्प्युटर पार्ट्सको व्यापारमा संलग्न थिए। उनी नेपाली युवतीलाई डान्सबारमा पठाउन सविनराजसँग पार्टनरसिपमा समेत काम गर्थे। ललितपुर एकान्तकुनाका सुनिलको देखिने रोजगारी माउन्टेन टुर्स एन्ड ट्राभल्स भए पनि उनी तस्करी गर्ने युवतीको छनोटमा संलग्न रहेको डिआइजी मल्लले जानकारी दिए। सिनामंगलका केदारको एयरपोर्ट गेटअगाडि होटल थियो। उनी त्यहीँबाट विदेश पठाउने युवतीको सहजकर्ताको काम गर्दै आएका थिए।

मैतीदेवीका नविन भारतीय नागरिक तरुणसँग मिलेर नेपाली युवती छनोट गर्ने र विदेश पठाउने काममा सक्रिय थिए। उनी यसअघि समेत मानव बेचबिखनको अभियोगमा पक्राउ परिसकेका थिए। भारत दिल्लीका तरुणको दिल्लीमा फूलको व्यापार थियो। तर, उनको असली धन्दा नेपालको यही समूहसँग मिलेर नेपाली युवती छनोट गर्ने, आफैं लिएर अफ्रिकी र खाडी मुलुक पुर्याेउन सक्रिय थिए। केन्या र तान्जानियामा उनले आफ्नै लगानीमा समेत डान्सबार खोलेको अनुसन्धानमा खुलेको छ।

धन्दाको जालो

ब्युरोका अनुसार मनोरञ्जनका लागि नेपाली युवती विभिन्न अफ्रिकी तथा खाडी मुलुक र मलेसिया लैजाने गिरोहको सक्रियता बढेपछि ब्युरोले ६ महिना अघिबाट अप्रेसन इगल नाममा गिरोहको खोजी थालेको थियो। सोही अनुसन्धान क्रममा यस्तो धन्दामा सक्रिय विभिन्न समूहमध्ये एक समूहका सबै सदस्य पक्राउ परेका हुन्।

ब्युरोको प्रारम्भिक अनुसन्धान विवरण अनुसार केन्या, तान्जानिया लगायत देशमा डान्स गरी महिनाको १ लाखभन्दा बढी तलब हुने प्रलोभन दिएर उनीहरुले नेपाली युवतीलाई भिजिट भिसामा त्यता जान मनाउँदै आएका थिए। युवतीको खोजीका लागि उनीहरुले प्रारम्भमा काठमाडौंकै डान्सबारमा कार्यरत युवतीको चयन गरेका थिए। डान्सबारका पोख्त युवतीपछि उनीहरुले अन्य युवतीको खोजी गरी उनीहरुलाई नृत्य प्रशिक्षणसँगै डान्सबारमा काम गर्ने अनुभवका लागि केही महिना काठमाडौंको डान्सबारमा काम गराएपछि उता पठाउँदै आएका थिए।

डिआइजी मल्लका अनुसार डान्सरका रुपमा काम गर्न राजी भएकी युवतीलाई विभिन्न फोटो स्टुडियोमा लगेर फोटो सेसन गराएर उताको क्लाइन्टलाई तस्बिर पठाएर तस्करीको प्रारम्भ हुन्थ्यो। तस्बिरका लागि समेत समूहले सबैभन्दा धेरै फोटो ब्याङ्क स्टुडियोको प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

उताको क्लाइन्टले युवती मन पराएपछि सो समूहले युवतीलाई डान्स प्रशिक्षणसँगै रेस्टुरेन्टमा काम गर्ने तरिका सिकाउँथे। युवतीको मागअनुसार यतै सपिङका लागि भन्दै २ लाख रुपैयाँसम्म दिएर उनीहरुलाई राजी गराउँदै सो समूहले खरिदकर्ताको रोजाइ अनुसारको युवतीलाई नेपाल र भारतको विभिन्न सहरबाट भिजिट भिसामा ती देशमा पठाउँदै आएका थिए। ब्युरोका अनुसार यो समूहले भारतको दिल्ली, मुम्बई र महाराष्ट्रको विमानस्थल सबैभन्दा धेरै प्रयोग गर्ने गरेको देखियो।

यताबाट लैजाँदा रेस्टुरेन्टमा सामान्य डान्स गर्ने मात्रै हो भने पनि उता पुगेपछि भने उनीहरुले युवतीलाई पारिश्रमिकसमेत नदिई कोठामा बन्धक बनाउने, यातना दिने र जबर्जस्ती यौनधन्दामा लगाउने गरेको खुलेको ब्युरोका डिआइजी मल्लले जानकारी दिए। डान्सबारमा नाच्नुपर्ने युवतीलाई प्रत्येक दिन कमाउनुपर्ने टार्गेट दिने गरेको र सो टार्गेट रकम बराबरको कमाइ नभएसम्म जबर्जस्ती काममा लगाउने गरेको अनुसन्धानमा देखिएको छ। ३ महिने भिसामा गए पनि युवती सहजै स्वदेश फर्कन सक्दैनथे। सोही गिरोहका दलालले उनीहरुलाई आवश्यकता अनुसार अन्य देशका डान्सबारलाई बेच्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 'मलेसियाका लागि भनेर लगिएका युवती त्यहाँ ३ महिना बसेपछि अफ्रिकी मुलुकमा पुर्यामएको समेत खुल्यो,' मल्लले भने, 'एक देशबाट अर्को देशमा पठाएवापत नेपालमा रहेका दलालहरुले नियमित कमिसन पाउने गरेका थिए।'

कति छन् विदेशमा?

२०६६ मा रात्रिकालीन व्यवसायमा अंकुश लागेसँगै नेपाली युवती डान्सरका रुपमा एसियाली मुलुक हुँदै खाडी र अफ्रिकी मुलुकसम्म पुग्ने क्रम सुरु भएको हो। यो धन्दाको जालो खुलेको ५ वर्ष बढी भए पनि धन्दामा सक्रिय समूह र यसरी दलालको फन्दामा परेर विदेशिएका नेपाली युवतीको एकिन संख्या कतै छैन। प्रहरीसमेत अनुमान गर्नसक्ने अवस्थामा देखिएन।

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) दिल्ली शाखाले एक प्रतिवेदन सार्वजनिक गर्दै दिल्ली विमानस्थल हुँदै ६ महिनाको बीचमा १० हजार नेपाली युवती अफ्रिकी मुलुकमा गएको र यो गम्भीर प्रकृतिको मानव ओसारपसार रहेको औंल्याएको थियो। तर, नेपालका सुरक्षा तथा अन्य सरोकारवाला निकायसँग यस्ता तथ्यांक छैन।

केन्याको डान्सबारमा काम गर्न भनेर लगेका युवतीलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा एक मानवअधिकारसम्बन्धी संस्थाले ती युवतीको उद्धार गरी नेपाल पठाएपछि अनुसन्धानमा तातेको ब्युरोले राजेन्द्र समूहलाई फन्दामा पारे पनि यस्तो धन्दामा अन्य समूह पनि सक्रिय छन्। तान्जानियाको प्रहरीले त्यहाँको रेस्टुरेन्टमा छापा मारेर २० भन्दा बढी नेपाली युवतीलाई पक्रेको खबर ब्युरोले पाए पनि विस्तृत विवरण अझै खुलेको छैन।

मानव तस्करहरूले ओसारपसार र बेचबिखनको परम्परागत शैली बदलेर डान्सर, कलाकार, गोष्ठी, सेमिनारका सहभागी तथा नयाँ रोजगारीको आवरणमा नेपाली युवतीलाई विदेश पठाउने गरेकाले संख्या एकिन गर्न गाह्रो भएको ब्युरोका डिआइजी मल्ल बताउँछन्। पक्राउ परेका समूहले हालसम्म कति जना युवतीको तस्करी गर्योय भन्नेसम्म खुल्न सकेको छैन। 'अहिले हामी अनुसन्धान चरणमा छौं, त्यो पाटोको पनि अनुसन्धान हुन्छ,' मल्लले भने।

Published on: 18 March 2015 | Nagarik

Back to list

;