s

अमेरिका लाने भन्दै बैंककमा रकम असुली

अमेरिकामा उपचारको भिसा लिन चाहनेले सम्पर्क गर्नू भन्दै २०७० साल जेठ १७ गते वर्गीकृत विज्ञापन प्रकाशित गरेपछि उनको आपराधिक यात्रा सुरु भयो। थाइल्यान्डको राजधानी बैंककमा बसेर नक्कली भिसाको काम गर्ने थाई र नेपाली गिरोहसँगको मिलोमतोपछि काठमाडौंका नरेशकुमार सुब्बाले यस्तो विज्ञापन छपाएका थिए।
 
अभियुक्त नरेशकुमार सुब्बा
अमेरिकाको भिसा पाइने लोभमा मध्यमवर्गीय केही व्यक्ति उनको सम्पर्कमा पुगे। बिनादर्ता मैतीदेवीमा एसिया माइग्रेसन एजेन्सी नामको बोर्ड राखेर उनले त्यहींबाट रकम असुल्न सुरु गरेका थिए। यहाँबाट बैंककसम्मको पर्यटक भिसा लगाइदिने र त्यहाँको किङ चुलालोङकोर्म मेमोरियल अस्पतालबाट उपचार गर्न अमेरिकै जानुपर्ने सिफारिस गराउने कथा बनाएर उनले जसरी पनि अमेरिका छिर्न खोज्ने नौ नेपाली युवकलाई प्रभावित पार्न सके। बैंकक उड्नुअघि उनले ३० लाख रकम उठाइहाले।
सपना बोकेर घरबाट अमेरिकाको बाटो लागेका ९ युवक बैंककमा दुई महिनासम्म राखिएका थिए। खान र बस्नका लागि खर्च गर्न उनीहरूले नेपालबाटै एक हजार अमेरिकी डलरसम्म मगाउनु परेको थियो। तर अमेरिका उड्ने दिन नआएपछि उनीहरूले सुब्बामाथि दबाब दिन सुरु गरे।
अस्पताल र भिसाको काम गर्ने व्यक्ति भनेर देवेन्द्र श्रेष्ठसहित केही थाई नागरिकलाई पनि चिनजान गराएर थामथुम पार्ने प्रयास गरेका सुब्बाले अस्पतालमा एकएक गर्दै लगेर स्वास्थ्य रिपोर्ट बनाएको भान पार्न सफल भएपछि फेरि विश्वास आर्जन गरे। यही मौकामा उनले सबैको पासपोर्टमा अमेरिकाको भिसा लागेको कागज देखाइदिए तर हेर्न भने दिएनन्। भिसा लाग्यो भन्दै उनले अब हरेकले १५ लाख रकम नेपालकै खातामा जम्मा गरेको भौचर पेस गरेपछि पासपोर्ट दिने र उड्न पाइने सपना देखाए।
साथमा पासपोर्ट नभएकाले कतै जाऊँ भने थाई प्रहरीको फन्दामा परिने खतरा पनि छँदै थियो। कैदीबन्दीजस्तो जीवन बिताएर बसेका उनीहरूले भिसाको थप रकम नेपालमा रहेका परिवार र आफन्तमार्फत जम्मा गर्न लगाए। न्युरोडमा रहेको एनएमबी ब्यांकको उनको खातामा सबैले रकम जम्मा गरिदिए। हुन्डीमार्फत ८५ लाख रकम बैंकक नै झिकाएपछि उनी बासस्थानको बिलसमेत तिर्न नसकेर अलपत्र परेका युवालाई त्यत्तिकै छाडेर सम्पर्कविहीन भए।
अमेरिकाको भिसा कुरेका उनीहरूको हातमा कुरियर सेवामार्फत आफ्नो पासपोर्ट त हात पर्‍यो तर त्यसमा भिसा थिएन। पहिला देखाइएको भिसा नक्कली कागज रहेछ। त्यसलाई झिकेर पासपोर्टमात्रै उनीहरूको हातपरेको थियो।
मानवतस्करको फन्दामा परेर लाखौं रकम र अमेरिका उड्ने सपना चकनाचुर पारेर फर्किएका तिनै युवाको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले सुब्बालाई पुस ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। पक्राउपछि पैसा कमाउन सजिलो हुने भएकाले यस्तो उपाय अपनाएको बयान दिएका सुब्बाले यसअघि पनि क्यानाडा पठाइदिन्छु भन्दै केही व्यक्तिलाई बैंकक लैजाने प्रयास गरेका थिए।
सीआईबीको आफ्नै हिरासत
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्थापनाको साढे तीन वर्षपछि महाराजगन्जस्थित कार्यालयमा आफ्नै हिरासत बनाएको छ। अब सीआईबीले मुद्दा पनि आफैं चलाउने भएको छ। नरेशकुमार सुब्बा पहिलो कैदी बनेका छन्।
सीआईबी प्रवक्ता एसपी पिताम्बर अधिकारीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार विदेश लैजानेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाखसम्म जरिबाना हुने व्यवस्था रहेको जानकारी दिए।
सीआईबीले मुद्दा चलाउने अधिकार गत असारदेखि नै पाए पनि भौतिक संरचना नहुँदा महानगरीय प्रहरी परिसर हनुमानढोकामार्फत कानुनी कारबाही अगाडि बढाउँदै आएको थियो। सीआईबीले पक्राउ गरेका अभियुक्तलाई पनि परिसरकै हिरासतमा राख्दै आएको थियो।
सीआईबीको कार्य सञ्चालन नियमावली २०७० गत असारमा पारित भएको थियो। ब्युरोका निमित्त प्रमुख एसएसपी उत्तम कार्कीले बिहीबारदेखि देशभर नै आफ्नै नाममा मुद्दा चलाउन सीआईबी तयार भएको बताए।
सीआईबीका प्रवक्ता अधिकारीले बिहीबारदेखि नै हिरासतमा अभियुक्त थुन्न थालिएको बताए। उनले २० जना पुरुष र १५ जना महिला अभियुक्त थुन्न सकिने हिरासत बनाइएको जानकारी दिए। गम्भीर तथा संगठित अपराध अनुसन्धानका लागि २०६७ साउन १ गतेदेखि कार्यान्वयनमा आएको सीआईबी प्रहरीकै विशेष ब्युरोको परिवर्तित रूप हो।
Published on: 17 January 2014 | Annapurna Post 

Back to list

;