s

अंगोलासम्म 'मानव तस्करी'

देवेन्द्र भट्टराई

आफैं बेरोजगारी बेहोरिरहेको दक्षिण अफ्रिकी मुलुक अंगोलामा सुरक्षाकर्मी काममा लगाइदिने भन्दै मानव तस्कर सञ्जालले नेपाली पठाउन थालेका छन् ।

नेपाली सेनाका अवकाश प्राप्त जवान पोखराका देवबहादुर हमाल यही गोलचक्कर बेहोर्दै अंगोला पुगेर १० दिनमा दिल्ली फिरेका छन्् । स्याङ्जा, ठूलाडिही घर बताउने देवेन्द्र गुरुङले आफूबाट विभिन्न चरणमा साढे ९ लाख रुपैयाँ लिएको र आठ महिना दिल्लीमा  कुराएपछि बल्ल अंगोला उडाएको हमालले बताए । गत अपि्रल ७ मा दिल्ली फिरेका उनले आफूलाई अंगोला उडाउने गुरुङ भारतमा रहेकाले उनको खोजीमा लाग्न स्थानीय हेल्प मिसन संस्थासँग सहयोग मागेको जानकारी दिए ।

४० वषर्ीय हमालले सैनिक सेवाको अवकाशपछि अफगानिस्तानमा ४ वर्ष काम गरेको जानकारी दिए । उनले पानी जहाज सुरक्षाको काम पाउन श्रीलंका गएर ६ महिना यसबारे तालिम लिएका छन् । 'त्यो काम सिक्दामात्रै पनि साढे ७ लाख रुपैयाँ डुबेको छ,'  उनले भने । यसरी श्रीलंकामा पानी जहाज सुरक्षा तालिम दिएर त्यस्तै जागिर दिलाउने भनेर ओखलढुंगाका चन्द्रबहादुर गुरुङले आफूलाई फसाएको उनले सुनाए । एजेन्ट चन्द्रबहादुरको भनाइमा भर परेर श्रीलंकामा १२५ नेपालीले लाखौं खर्चंदै पानी जहाजको  तालिम लिएको हमालले जानकारी दिए । 

पोखरा, बिरौटाको घर पनि धरौटीमा राखेको र दुई छोरा तथा श्रीमतीलाई मुख देखाउन नसक्ने अवस्था आइपरेपछि दिल्लीमा अड्किएर बसेको उनले बताए । गुरुङसँग स्याङ्जा गाउँमा सँगै स्कुल पढेकाले त्यही नातामा विश्वास गर्दै लाखौं रुपैयाँ तिरेको तर अहिले उनी सम्पर्कहीन बनेको भनाइ उनको छ । गत वर्ष दसैंलगत्तै घरबाट निस्केका उनी ढुक्कै दिल्लीको पहाडगन्जमा सस्तो होटल खोज्दै दिन बिताइरहेका छन् ।  'दिल्लीबाट मुम्बई हुँदै इथियोपियाबाट अंगोला पुगेको हुँ,' हमालले भने ।

सुरक्षित आप्रवासन र भारततर्फ जाने नेपाली कामदारबारे अध्ययनरत केयर नेपालका कार्यक्रम अधिकृत प्रकाश पाण्डेले अंगोलाबाट फिरेका पीडित हमाललाई उनको पोखरा घरसम्म लगिदिने इच्छा जनाएका थिए । तर उनले घरखेत डुबेको र ऋणको भारमात्रै  रहेको अवस्थामा घर फिर्न चाहेनन् ।

Published on: 27 April 2014 | Kantipur

Back to list

;