s

अनुमतिबिनै विदेशमा खाता सञ्चालन

विदेशमा कुनै पनि नेपालीले बैंक खाता सञ्चालन गर्न अनुमति नलिएको भेटिएको छ। स्विट्जरल्यान्डस्थित एचएसबीसी प्राइभेट बैंकमा नेपालीको नाममा रकम देखिएपछि राष्ट्र बैंकले आफ्नो तथ्यांक पल्टाउँदा यस्तो भेटिएको हो। 

विदेशमा रहँदा खोलिएको खाताबारे राष्ट्र बैंकलाई जानकारी दिएर सञ्चालनमा राख्न सकिने कानुन छ। 'विदेशमा खाता सञ्चालनका लागि कुनै पनि अनुमति लिइएको छैन,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'धेरै पहिला केही व्यक्तिले जानकारी दिने गरिएको सुनिए पनि राष्ट्र बैंकमा यस्ता कुनै पनि खाताको  तथ्यांक छैन।'

यसले एचएसबीसी बैंक खातामा रहेको नेपालीको करिब साढे ५ अर्ब रुपैयाँ अवैध आर्जन हुन सक्ने सम्भावना बढाएको छ। 'यो जानकारीसहित राजस्व अनुसन्धान विभागलाई पत्र पठाइसकेका छौं,' राष्ट्र बैंक स्रोतले भन्यो, 'त्यहाँबाट प्रारम्भिक अनुसन्धान भएपछि हामी कारबाही अघि बढाउने छौं।' 

राष्ट्र बैंकले जानकारी आएपछि स्विट्जरल्यान्डको केन्द्रीय बैंकलाई पत्राचार गर्ने तयारी गरेको छ। 'पत्रसमेत तयार भइसकेको छ, छिट्टै पठाउने छौं,' स्रोतले भन्यो, 'त्यहीं जागिर खाएर बसेका नेपालीले पनि यसरी रकम जम्मा गरेको हुन सक्ने सम्भावना कम छ।'

सरकारले अनुसन्धान अघि बढाउन सके अन्य बैंक र मुलुकमा हुन सक्ने नेपालीको अवैध सम्पत्तिबारे छानबिन गर्न पनि सजिलो हुनेछ। खोज पत्रकारहरूको एक संस्था इन्टरनेसनल कन्सोटियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट -आईसीआईजे) ले स्वीस बैंकमा २००७ सम्म खोलिएका खाताको जानकारी सार्वजनिक गरेको  थियो। त्यसले नेपालका ८ जनाको ३६ वटा बैंक खाता एचएसबीसी प्राइभेट बैंकमा देखाएको थियो। ती खातामा अनुमानित साढे ५ अर्ब रुपैयाँ बराबरको रकम रहेको जानकारी चैत अन्तिममा सार्वजनिक भएको थियो। 

नेपालीको नाममा स्वीस खाता रहेको जानकारी सार्वजनिक भएपछि राष्ट्र बैंकले पनि तथ्यांक पल्टाउन थालेको थियो। तर कुनै पनि जानकारी नभेटिएको हो। 'पछिल्लो केही वर्षदेखि कुनै खाता पनि अनुमति लिएर सञ्चालन भएको देखिँदैन र धेरै वर्ष पहिलाका तथ्यांक पनि भेटिएन,' राष्ट्र बैंकको विदेशी विनिमय  विभागका एक अधिकारीले भने। 

स्वीस बैंकबारे पछिल्लो खुलासापछि विभिन्न मुलुकले अनुसन्धान थालेका थिए। सरकारले अनुसन्धान थाल्ने कुनै तयारी नगरेको देखेपछि संसद्को अर्थ समितिले फागुन ३ गते अर्थ मन्त्रालय, राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रतिनिधि बोलाएर छलफल गरेको थियो। छलफलपछि समितिले सरकारलाई  अनुसन्धान गर्न र रकम राख्नेलाई कारबाही अघि बढाउन निर्देशन दिएको छ। स्वीस लिक्स नामबाट सार्वजनिक भएको तथ्यांकले नेपालसँग जोडिएका करिब २० प्रतिशत खाता नाम र कम्पनीको जानकारी नराखी नम्बरबाट चलाइएका छन्। 

स्वीस बैंकले ग्राहकको गोपनीयताका लागि नम्बर मात्र राखेर खाता सञ्चालन गर्न पाउने सुविधा दिन्छ। साथै करिब ३० प्रतिशत खाता अफसोर कम्पनीको नाममा देखिन्छ। ठूलो कर छुट हुने र ट्याक्स हेभन भनेर चिनिने स्थानमा यस्ता अफसोर कम्पनी धेरै खोलिएका हुन्छन्। जहाँ अवैध धन पुग्ने सम्भावना रहन्छ।  स्वीस बैंकमा रहेका ५० प्रतिशत खाता भने व्यक्तिगत नाममा देखिएका छन्। 

स्वीस लिक्सको तथ्यांकअनुसार नेपालीको नाममा रहेको एउटै खातामा ३ अर्ब रुपैयाँको हाराहारी रकम देखिन्छ। नेपालका ८ ग्राहकमध्ये एकले ३ देखि साढे ३ करोड डलरको बीचमा रकम राखेको देखाएको हो। तीन ग्राहकका खातामा २० देखि ४० लाख डलरको हाराहारी रकम देखिन्छ। बाँकी ४ 

खातामा भने १ देखि २० लाख डलरको हाराहारी रकम रहेको विवरण सार्वजनिक भएको छ। रकम सार्वजनिक भए पनि राख्ने व्यक्तिको विवरण बाहिर आइसकेको छैन। विभिन्न मुलुकबाट कर छली गर्दै अवैध आर्जन स्विट्जरल्यान्ड पुर्‍याउने प्रचलन लामो समयदेखि कायम छ। 

यही तथ्यांक सार्वजनिक भएपछि भारतीय कर विभागले एचएसबीसीको भारतस्थित कार्यालयमा छापा मारिसकेका छन्। पछिल्लो समय उक्त विभागले एचएसबीसीलाई पत्र लेखेर उपस्थित हुन भनेको छ। यस्तै पत्र अन्य मुलुकका करसम्बन्धी निकायले पनि पठाइसकेका छन्।

Published on: 11 March 2015 | Kantipur

Back to list

;