s

औलो बोकेर फर्किंदैछन् बिदेसिएका नेपाली

दीपा दाहाल 

रौतहटका ५६ वर्षीय भानुदेव साह (नाम परिवर्तन) रोजीरोटीका लागि केही वर्षअघि भारतको सुरत पुगे ।  पढाइ कम भएकाले राम्रो कामका लागि उनी छनोटमा परेनन्। जसोतसो एउटा कम्पनीमा काम त पाए तर खुला र अस्वस्थकर ठाउँमा बस्नुपर्‍यो। केही समयमै ज्वरोले थलिएर उपचारका लागि घर फर्किंदा मात्रै थाहा भयो- उनलाई औलोरोग लागिसकेछ।

'प्लाज्मोडियम फाल्सिपेरम' नामको परजीवीबाट लाग्ने रोग औलो मध्येको सबैभन्दा कडा हो । उनी अहिले रौतहटकै एक अस्पतालमा उपचार गराइरहेका छन्। बर्दियाका चन्द्रप्रसाद अधिकारी (नाम परिवर्तन) लाई पनि त्यस्तै रोग देखापर्‍यो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनी बिरामी परेपछि अस्पताल गए। त्यहाँ उपचार गर्न धेरै पैसा लाग्ने थाहा पाएपछि उनी घर फर्किए।

नेपालगन्ज पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनलाई पनि प्लाज्मोडियम फाल्सिपेरम परजीवीबाट हुने औलो रोग पुष्टि भयो। धन कमाउन बिदेसिएका उनी औलोले थला परेर फर्किएपछि अहिले घरमै छन्। 'नेपालमा हुँदा स्वस्थ थिएँ तर रोग बोकेर आउनुपर्‍यो', उनले भने। पछिल्लो समयमा कामका लागि बिदेसिएका साह र अधिकारीजस्ता सयौं नेपाली कडाखाले औलो रोग बोकेर फर्किरहेका छन्। यसले नेपालमा औलो नियन्त्रण गर्ने सरकारी कदममा अवरोध पुगेको छ। दुई वर्षयता औलोको मृत्युदर शून्य रहेको नेपालमा कडा र आयातित औलो रोग चुनौती बनेको छ। टेकु स्थित स्वास्थ्य सेवा विभागमा मुलुकभरका स्वास्थ्य कार्यालय र अस्पतालले हालै पठाएको प्रतिवेदन अनुसार बर्सेनि औलोका दुई हजार एक सय जना नयाँ बिरामी फेला पर्ने गरेका छन्। तीमध्ये एक हजार जनामा आयातित औलो भेटिएको छ। त्यस्तै पाँच सयजनामा प्लाज्मोडियम फाल्सिपेरम भेटिएको छ। यसलाई उपचार गर्न कठिन मानिन्छ।

चिकित्सकका अनुसार औलो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो रोग प्लाज्मोडियम फाल्सिपेरम, भाइभेक्स, मलेरी, वभेली जातका परजीवीले सार्छन्। नेपालमा सबैभन्दा बढी प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स नामका परजीवीका कारण औलो भएको पाइएको छ। सरकारी औलो नियन्त्रण कार्यक्रमका कार्यक्रम संयोजक डा. मुरारी उपाध्यायले भने, 'खासगरी छिमेकी मुलुक भारतको सुरत, मुम्बई, असम, गुजरातलगायतका सहरमा काम गर्न गएकाले कडा औलो बोकेर आइरहेका छन्।' त्यस्तै मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, बंगलादेश, सुडान र अफ्रिकालगायतका देशमा काम गर्न गएका नेपालीले यो रोग भित्र्याइरहेका छन् ।

'प्लाज्मोडियम भाइभेक्स परजीवी जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, व्यवस्थित ढलको अभावजस्ता घरेलु कारणले देखिएपनि प्लाज्मोडियम फाल्सिपेरम आयातित परजीवी हो', स्वास्थ्य सेवा विभागअन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले भने, 'जति नेपाली कामका लागि बिदेसिँदैछन्। त्यति नै आयातित मलेरियाले नेपाललाई समस्यामा पार्दै गएको छ। फेरि महामारीको खतरा छ।' उनका अनुसार बिरामी अन्तिम अवस्थामा मात्र चिकित्सककहाँ पुग्ने हुँदा जोखिम बढेको छ।

औलोका बिरामी बढ्न थालेपछि सरकारले सन् १९५८ देखि औलो नियन्त्रण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रमका कारण औलोका बिरामी पनि घट्दै गएका थिए। तर सन् २००६ मा बाँकेको राप्तीपारि औलोले महामारी रूप लियो। त्यसपछि अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा फेरि औलो नियन्त्रण कार्यक्रम सञ्चालन गरियो। आगामी ११ वर्षभित्र देशलाई औलो मुक्त घोषणा गर्ने सरकारी योजना छ।

आयातित औलो नियन्त्रणका लागि सरकारी तवरबाट अहिलेसम्म कुनै कदम चालिएको छैन। उपाध्यायले भने आयातित औलो नियन्त्रणका लागि सरकार संवेदनशील रहेको र विशेष रणनीतिका साथ अघि बढेको दाबी गरे। अध्ययनअनुसार नेपालको चुरेमा जोडिएका नौ सय १९ गाविसका बासिन्दा औलोबाट प्रभावित छन्। एनोफिलिस जातको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्यो भने लामखुट्टेको र्‍यालसँगै औलोका परजीवी सर्छ। यसको टोकाइबाट बच्नु औलोबाट बच्ने सबैभन्दा सजिलो उपाय हो। अत्यधिक ज्वरो आए, रक्तअल्पता भए, मस्तिष्क ज्वरोपछि टाउको दुख्ने र बान्ता हुने लक्ष्मण देखा परे जँचाउन जानुपर्छ।

यसैबीच विश्व स्वास्थ्य दिवस सोमबार नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। सन् १९४९ मा विश्व स्वास्थ्य संगठन स्थापना भएको सम्झनामा हरेक वर्ष अप्रिल ७ मा स्वास्थ्य दिवस मनाइन्छ। यस वर्ष दिवसको नारा 'लामखुट्टे भुसुना साना प्राणी हुन्, यिनको टोकाइले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ' भन्ने छ। विश्वका आधाभन्दा बढी जनसंख्या कीटजन्य रोगको जोखिममा परेको संगठनको तथ्यांक छ।

Published on : 7 April 2014 | Annapurna Post 

Back to list

;