s

बालश्रमिकको विलौना


एक घरेलु बाल श्रमिकले मलाई फोन गरे । भेटे । र आफ्नो कथा/व्यथा यसरी सुनाए—  

म १४ वर्षको भएँ । एउटा घरमा श्रमिक छु । मालिक/मालिक्नीले मलाई 'माया गर्ने, सबै जिम्मा लिने, राम्रो स्कुलमा पढाइदिने' आश्वासन दिएर पाँच वर्षअघि बुबा-आमासँग मागेर ल्याएका हुन् । तर कति माया गरेका छन्, कसरी जिम्मा लिएका छन् र कस्तो पढाइरहेका छन् भन्ने मलाईमात्र थाहा छ । अचानाको पीडा खुकुरीले बुझ्ने कुरा पनि भएन !  

मेरा मालिक सरकारी सेवाको वरिष्ठ पदमा छन् । उनको नाम नसुन्ने कमै होलान् । तर भन्ने हो भने सुन्नेकै बेइज्जत हुन्छ । कारण— तल थाहा पाउनु हुनेछ । 

उनको चमक छर्ने सर्ट, टिलिक्क परेको सुट, आँखै खानेगरी प्रकाश परावर्तन हुने जुत्ता, पौरखी हाँसोसँगै देखिने सेता दाँत अनि पुन्टुक्क लागेको हाकिमी भुँडीका पछाडि म एउटा बालकको कति हात छ भन्ने तपाईंलाई के थाहा ? आफ्नो सर्ट मैलो पारेर मैले उनको सर्ट सुकिल्याएको हुन्छु । 

आफ्नो थोत्रो स्विटर कुनामा फालेर उनको सुट हिफाजतले राखिदिन्छु । आफ्नो चप्पलका फित्ता दस पल्टसम्म मैनबत्तीले टालेर उनको जुत्तामा दैनिक ब्रस गरिदिन्छु । उनको परिवारैलाई पकाइदिएको वासमती भातको वास्नामात्र लिएर मेरालागि अर्कै ढ्याब्रे चामल उसिन्छु । मासु प्रायः पकाउँछु । तर स्वाद जिब्राले होइन, नाकले मात्र लिन्छु । 

भोकले पेटमा मुसा कुद्छन् । खानाको स्वाद लिँदा जिब्रामा गड्यौंला सलबलाए जस्तै लाग्छ । कोची-कोची खानुपर्छ । लाग्छ— बरु खाना कोच्ने कुनै आग्लो बन्नु नि ! खाइसकेको हुँदैन, मालिक्नीको चिच्याहट सुनिन्छ, 'त्यो कुकुरलाई राम्ररी ख्वा है ।' आफूलाई त 'राम्ररी खा' भनेर राम्रो मुखले भनेको जिन्दगी सुनेको छैन !

उनीहरूलाई व्यक्तित्वशाली बनाएर गाडीमा पठाएइपछि मचाहिँ लुम्रेझुम्रे भएर हिँड्दै स्कुलतिर लाग्छु । मेरा लुगा धुन साबुन माग्दा दसथरी वचन सुन्नुपर्छ । सिकिस्त बिरामी भएँ भने आफैं डाक्टर भएर सिटामोल कोच्याइदिन्छन् । कपाल काट्ने पैसा हुँदैन । कापी किन्ने पैसा पाइँदैन । युनिर्फम भएन भनेर स्कुलमा दैनिक उठबस गर्नुपर्छ, मालिकका कानको तेल कहिल्यै हट्दैन । घर जाने बिदा मिल्दैन । सपनामा आमा आउँछिन् । उनैसँग विलौना गर्छु । काखमा लुटपुटिएर रुँदै भन्छु, 'अर्को जन्ममा त जति दुःख भए पनि मलाई तिमीसँगै राख है आमा !' आमाको आँसुले मेरो कपाल लपक्कै भिज्छ । ब्युँझँदा आमा हुन्नन्, सिरानीमात्र चिसो हुन्छ ।  

म पढ्ने सरकारी स्कुलमा अधिकांश मजस्तै घरेलु श्रमिक छन् । उनीहरूका समस्या सुन्दा म पो भाग्यमानी रहेछु जस्तो लाग्छ । एउटा साथीले एकदिन गालामा पोलेको दाग लिएर आयो । ऊ एक उच्च प्रहरीको घरमा बस्छ । हामीले सोध्यौं, 'के भो तलाईं ?' भएछ— गतिलै घटना । पैसा चोरेको आरोप लाउँदै मालिक्नीले थर्काइछिन् । उसले 'मैले होइन' मात्र के भनेको थियो, उनले लुगामा लाउँदै गरेको आइरन उसकै गालामा लाइदिछिन् । दूध उम्लिएर गयो भन्ने नाममा कतिका ढाडमा लौरा भाँच्चिन्छन् । ग्लास फुटेको निहुँमा कतिका कलिला गालामा अररिएका हातका औंलाका छाप बस्छन् । समयमा काम भएन भनेर कतिका कानका जाली फुट्नेगरी कर्कश गाली बजि्रन्छन् । 

म पनि सुरुमा चुलो अग्लामा भएकाले मुडामा उभिएर खाना बनाउँथेँ । एकदिन तरकारी चलाउँदा-चलाउँदै मुडा लड्यो । सँगै म लडेँ । तरकारीको कराही पनि लड्यो । ठूलो आवाज आएर भुइँमा खस्यो । त्यसभन्दा ठूलो आवाज निकाल्दै मालिक्नी आइपुगिन् । तरकारी बर्बाद भएकै थियो । कराही बजि्रएर भुइँको टायल अलिकति चोइटिएछ । टायल हेरिन् । वल्टाइ-पल्टाइ कराही हेरिन् । त्यत्तिकै थेचार्रिएको मलाई हेर्नु त परै जाओस्, 'अलच्छिनी' भन्दै दुई थप्पड लाइन् । उनको छोरो लड्दा गाडी छैन भने एम्बुलेन्स बोलाएर अस्पताल कुदाउँछिन्, म लड्दा उल्टै थप्पड ? मालिक/मालिक्नी भनेको मानवीयता नहुने जात हो कि क्या हो ? 

हाम्रा साथीहरू न्यायाधीश, मानवअधिकारीवादी, नेता हुँदै सेना/प्रहरी र सरकारी सेवाका प्रतिष्ठित व्यक्तिका घरमा बस्ने पनि छन् । तीमध्ये कतिपय कक्षामै निदाउँछन् । कारण सोध्दा भन्छन्, 'हिजो राति अबेलासम्म घरमा पार्टी चल्यो । सेवा गर्दागर्दै सुत्नै पाइन ।' कतिले अघिल्लो दिन झोलामा हालेका किताब-कापी जस्ताको तस्तै लिएर आएका हुन्छन् । होमवर्कको 'ह' पनि गरेको हुँदैन । कारण उही हो— घरमा पाहुनाको हुल लाग्छ । रक्सीको खोलो बग्छ । तिनलाई अघाउन बाहानका बाहान थरी-थरी परिकार पकाइदिने उही कलिला दुई हात हुन् । 

मलाई पनि कहिलेकाहीँ त काम गर्दागर्दै जीउ करकरी दुख्छ । खुट्टा कटकटी खान्छ । चल्नी चड्किएर फुट्न खोज्छ । निद्राले छोपेर ठाडै आँखा चिम्लिइन्छ । तर पनि बाध्यता छ । खाने जतिजना आउन्— अघाउनु मात्र होइन, कहिलेकाहीँ छदाउनु पनि पर्छ । जब सबै ढल्छन्, अनि आफ्नो सुत्ने पालो आउँछ । घाम एक कोस माथि आउन्जेल उनीहरू घुरिरहेका हुन्छन्, आफूले त भालेको डाकसँगै कुचो लाउन थाल्नुपर्छ । 

त्यत्रा मान्छेले खाएका जुठा भाँडाको चाङ मभन्दा तीन गुणा अग्लो हुन्छ । देख्दै सातो जान्छ । तिनलाई माझिसक्नु पर्छ । मालिक्नीले चेक गर्दा साबुनको दागमात्र छुटेको पाइए कति सुम्ला बस्ने हुन्, गन्नै हम्मे पर्छ । हात सुन्निएर भुकभुकी हुन्छन् । मायाले 'विचरा' भन्ने कोही हुँदैनन् । 'हन्ड्रेड स्पिड'मा काम गरिरहनुपर्छ । मालिक-मालिक्नीलाई ओछ्यानमै चिया टक्र्याउन पुग्नुपर्छ । उनीहरूका छोराछोरी उठ्दा खाजा तयार पारिसक्नुपर्छ । एकछिनमा स्कुल जानुपर्ने हुन्छ— सँगसँगै खाना पनि बनाइहाल्नुपर्छ । कहिलेकाहीँ त लाग्छ— बरु दुई जीउ र चार हात हुनु नि !

कानुनले बालश्रम निषेध गरेको छ रे । त्यसका लागि राष्ट्रसंघको अभिसन्धि पनि छ रे । नेपालले हस्ताक्षर गरेको छ रे । तर मैले एउटा प्रश्नको उत्तर पाउन सकिन— हस्ताक्षर गर्ने र कानुन कार्यान्वयन गराउनेहरू नै किन हाम्रो शरीरको स्वाद लिइरहेका छन् ?

 

Published on: 20 January 2014 | Kantipur

Back to list

;