s

बढेको चिया ज्याला कार्यान्वयन हुन सकेन

पर्वत पोर्तेल

चिया उत्पादक र मजदुरबीच विवाद बढेपछि बढेको ज्याला कार्यान्वयनमा आउन सकेको छैन । कामदारको ज्याला दैनिक २ सय १ रुपैयाँ पुगेपछि उत्पादक उक्त रकम दिन तयार छैनन् भने मजदुर संगठन कार्यान्वयन गराइछाडने बताइरहेका छन् । उद्यमीहरू चिया उत्पादक संघसँग समन्वय नगरी बढाइएको ज्याला दिन नसकिने जिकिर गरिरहेका छन् । ज्याला वृद्धिको विरोधमा संघ झापाले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले असोज ४ गते १५ दिनभित्र महान्यायाधिवक्ता मार्फत् लिखित जवाफ पेस गर्न विपक्ष्ाीका नाममा आदेश जारी गरेको संघका अध्यक्ष्ा रमेशप्रसाद पौडेलले जानकारी दिए ।

'यदि हाम्रो समन्वयनबेगर ज्याला वृद्धि हुन्छ भने त्यो मान्य हुनेछैन,' पौडेलले भने । संघ र मजदुर संगठनबीच ज्याला वृद्धिलाई लिएर गत साउनमा ११ पटकसम्म वार्ता भएको थियो । मजदुर संगठनले सामाजिक सुरक्षा कर कट्टी, मूल्य नतोकी ज्याला वृद्धिलगायतका २२ बुँदे माग राखेका थिए ।  चिया उत्पादक मनोज श्रेष्ठले हालको १५८ रुपैयाँमा १३ प्रतिशत ज्याला बढाउनसमेत उद्यमी सहमत नभइरहेको अवस्थामा अचानक ४३ रुपैयाँ वृद्धि गरिनु आपत्तिजनक रहेको बताए ।

श्रम ऐन, २०४८ ले चिया उद्याेगको विशिष्टतालाई मध्यनजर गर्दै श्रम नियमावली समेत बेग्लै बनाएको र ज्याला दर निर्धारण गर्ने व्यवस्था पनि बेग्लै गरेको छ । अध्यक्ष पौडेलका अनुसार चिया बगानसम्बन्धी नियमावलीमा न्यूनतम ज्याला निर्धारण गर्दा उद्याेगले थेग्न सक्ने गरी निर्णय गरिनुपर्ने व्यवस्था छ । उनी भन्छन्, 'वृद्धि भएको २०१ रुपैयाँ थेग्न सक्ने अवस्था उद्योगको छैन ।'

कांग्रेस, एमाले र माओवादी निकट मजदुर संगठनको बिहीबार सम्पन्न बैठकले बढेको ज्याला वृृद्धिको माग गर्दै आन्दोलन घोषणा गरेका छन् ।

एमाले निकट मजदुर संगठन जिफन्टका मेची अध्यक्ष सन्तकुमार राईका अनुसार प्रारम्भिक चरणमा दुईवटा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जसअनुसार असोज १३ गते जिल्लाका विभिन्न बगानका प्रबन्धकलाई कार्यक्ष्ाेत्र प्रवेशमा रोक लगाउने र आदेश अवज्ञा गरिनेछ भने १९ गते सम्बद्ध चिया मालिकको घर घरमा भाँडाकुँडा बोकेर धर्ना दिइनेछ ।

चिया क्ष्ाेत्रमा करिब ४५ हजार श्रमिक कार्यरत रहेको तथ्यांक छ । जसमध्ये निकै न्यूनमात्रै स्थायी छन् । २०४८ मा श्रम ऐन लागू भएदेखि मजदुरको ज्याला वृद्धिबारेको यो पहिलो सरकारी निर्णय हो । सरकारले मजदुरलाई दैनिक ज्यालाका अलावा दैनिक २० रुपैयाँका दरले खाजा खर्चसमेत उपलब्ध गराउन रोजगारदातालाई आह्वान गरेको मजदुर नेता राईले जनाए ।

चिया तथा कफी विकास बोर्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विर्तामोडका अनुसार झापाको १६ हजार ७ सय १८ हेक्टरभन्दा बढी  क्षेत्रफलमा चिया खेती लगाइएको छ । जसमा वाषिर्क झन्डै साढे ६ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ ।

Published on: 30 September 2013 | Kantipur

Back to list

;