s

बढ्यो बालिका असुरक्षा

बाराको कलैयामा बलात्कृत ६ वर्षीया बालिकाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । नजिकैको हाट मदरसा टोलबाट शनिबार बिहान घर फर्किंदै गरेकी उनी बाटामै हराइन् । आइतबार बिहान अर्धचेत अवस्थामा भेटिइन् । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई बलात्कार गर्ने स्थानीय कन्हैया गुप्ता पक्राउ परिसके । गाँजाको सुरमा बलात्कार गरेको उनले स्विकारेका छन् ।

दोलखा जिरीकी ११ वषर्ीया बालिकाले आफ्नै काकाले बलात्कार प्रयास गरेको सुरुमा आमालाई सुनाइन् । आमाले पत्याइनन् । उल्टै बुबा समानको मान्छेले पनि त्यसो गर्छ भन्दै गाली गरिन् । काकाले पटकौं पटक बलात्कार गरे । ती बालिकाले १७ वर्ष पुगेपछि गत वर्षमात्र आफैं प्रहरी कार्यालय गई उजुरी दिइन् । अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।

१४ वर्षीया किशोरीलाई जबर्जस्ती यौनसम्पर्क गर्न लगाएको र बिक्री गरेको आरोपमा डान्सर सुरेश मग्रान्ती हालै पक्राउ परेका छन् । काठमाडौंका विभिन्न डान्सबारमा आउने ग्राहकसँग जबर्जस्ती यौनसम्पर्क गर्न बाध्य बनाएका उनले ती किशोरीलाई धनगढीका डान्सबारमा बिक्री गर्न लगेका थिए । त्यही बेला माइती नेपालले बालिकाको उद्धार गरेको थियो । मग्रान्तीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

बाराको कलैयामै गत वर्ष चैतमा ६ वर्षीया बालिकालाई चकलेट किनिदिने भन्दै एक युवकले स्थानीय पुरानो दरबारभित्र लगेर बलात्कारपछि हत्या गरे । मृतक बालिकाकी हजुरआमाको पसलमा चिया खान आउने अभियुक्त सञ्जीवविक्रम शाह पक्राउ परे । उनले पछि सफाइ पाए ।

गएको आइतबार एकाबिहानै काठमाडौं जिल्ला प्रहरीको आँगन छेउमै ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड प्रहार भयो । एसएलसी तयारी गरिरहेका सीमा बस्नेत र संगीता मगरलाई कक्षाकोठाभित्रै पसेर एक व्यक्तिले एसिडको बोतलले हिर्कायो । दुवै किशोरीको उपचार भइरहेको छ, अभियुक्त पक्राउ पर्न सकेको छैन ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा १६ वर्षभन्दा साना १ हजार १४ बालिका बलात्कारमा परेका छन् । २०६९/०७० मा २ सय ५२ बालिका बलात्कृत भए । २०७०/०७१ मा त्यो संख्या तेब्बरभन्दा बढेर ७ सय ६२ पुग्यो । घटनाहरू हेर्दा टोलछिमेक, आफन्त, घनिष्ठ र पेसेवर व्यक्तिहरूबाट बालिका बढ्ता असुरक्षित रहेको पाइएको छ ।

अमेरिका बस्दै आएकी एक भारतीय महिलाले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीलाई हालै पत्र लेख्दै देशभित्र असुरक्षित भएको पुरानो व्यथा खुलाएकी छन् । १५ वर्षको उमेरमा आमाको पछ्यौराको फेर समातेर बजार जाँदा भीडमा एक युवकले कसरी आफ्नो संवेदनशील अंगमा हात लगायो, १२ वषर्ीया बहिनी मेट्रोमा यात्रा गर्दा कसरी यौन दुव्र्यवहारको सिकार भइन् भन्ने वृत्तान्त उनले लेखेकी छन् । 'अमेरिकामा मध्यराति पार्टीबाट एक्लै सुनसान र अँध्यारोमा हिँड्दासमेत कहिल्यै असुरक्षित ठान्नुपरेको छैन,' उनले लेखेकी छन्, 'तर दिल्लीमा दिउँसो र भीडमा समेत असुरक्षित हुनुपरेको छ ।'

घटनाहरू हेर्दा हाम्रो देश बालिकाहरूका लागि त्यसभन्दा असुरक्षित हुँदै गएको छ ।

कारण-के के ?

खराब व्यक्तिहरूका लागि बालिका सहज पहुँच हुन् । चकलेट, आइसक्रिमलगायत सानातिना कुरामा उनीहरू फकिन्छन् । घरमा पहुँच भएको वा चिनजानको वा शंकासमेत गर्न नसकिने आफन्त पर्नेले नै बालिकाहरूलाई एकान्तमा लगेर वा प्रलोभन देखाएर यस्ता घटना गराएको पाइन्छ ।

'आफूलाई जबर्जस्ती गर्न खोज्दा साना उमेरकाले विरोध गर्न सक्तैनन्,' मनोविद् करुणा कुँवरले भनिन्, 'डर, धम्कीले समेत उनीहरूलाई चुप लगाउन सक्छन् ।' प्रहरीका अनुसार कम उमेरका बालिकाहरूमाथि त्यस्ता घटना आफन्तबाटै बढी हुने गरेका छन् । छिमेकीमात्र नभएर मामा, काका, बुवा, हजुरबुवालगायतबाट घटना भएका पाइन्छन् ।

समाजशास्त्री चैतन्य मिश्र बलात्कारजस्ता अपराधमा गाउँ र सहरका कारणहरू फरक हुने बताउँछन् । गाउँमा पिछडिएको वर्ग वा समुदायका व्यक्तिलाई ठूला र जमिनदारले हेप्ने गर्छन् । त्यही हेपाइको विस्तारित रूप बलात्कार हुने उनको ठम्याइ छ । त्यस्तै ठूलो उमेरका व्यक्तिले सानालाई हेप्ने प्रवृत्तिले समेत यस्ता घटना भएको उनले पाएका छन् ।

सहरमा डेरा सरेर आउने परिवारका छोरीहरू पनि असुरक्षित हुने उनको भनाइ छ । 'वरपरका

छिमेकी कसैसँग चिनजान हुँदैन, सबैलाई गाउँकै जसरी दाजु, बुवा, काका भन्छन्,' उनले भने,

'त्यसैलाई तेस्रो व्यक्तिले दुरुपयोग गर्छ ।' ग्रामीण क्षेत्रबाट सहर वा सहरोन्मुख स्थानमा छिर्नेहरूलाई गलत काम गर्नबाट रोक्ने अभिभावक नहुँदासमेत यस्ता घटनाहरू हुने गर्छन् । 'उनीहरूलाई अनुशासनमा बाँध्ने कोही हुँदैन,' उनले भने, 'संगतका कारण नराम्रो काम गर्न पुग्छन् ।'

सुदूरपश्चिमतिर छाउपडीका कारण पनि बालिकाहरूमाथि यस्ता दुव्र्यवहारका घटना हुने गर्छन् । त्यहाँका किशोरीलाई मासिकस्राव भएका बेला घरभन्दा धेरै टाढा गोठमा राख्ने गरिन्छ । त्यस्तो अवस्थामा उनीहरू बलात्कारका सिकार हुन्छन् ।

तर, आफ्नै बेइज्जती हुने डर, बलात्कारीको त्रास, प्रहरीसँगको पहुँचको अभाव आदि कारण घटना बाहिर आउँदैनन् । तराईमा खुला शौचालयका कारणसमेत बालिकाहरू बलात्कृत भइरहेका छन् । उनीहरू शौच गर्न गएका बेला खराब मनोवृत्ति बोकेका व्यक्तिका कारण घटना हुने गरेका छन् ।

प्रहरी घटना बढ्नुमा उजुरी गर्ने चलनलाई मुख्य रूपमा अघि सार्छ । 'पहिला गाउँ समाजमा हुने घटना बाहिर कमै आउँथे,' प्रहरी प्रधान कार्यालय महिला बालबालिका सेवा निर्देशनालयकी डीएसपी रञ्जु सिग्देलले भनिन्, 'तर पछिल्ला एक/दुई वर्षमा प्रहरीमा आउने क्रम बढेको छ ।' तर उनी यसलाई मात्र पर्याप्त कारण ठान्दिनन् ।

'व्यक्तिमा नैतिक शिक्षाको कमी भयो,' उनले थपिन्, 'यसले सही र गलत छुट्याउन कठिन भयो ।' इन्टरनेटको सहज पहुँच र त्यहाँ देखिने/भेटिने दृश्यहरूले पनि व्यक्तिको कौतुहल बढाएर अपराध उन्मुख गराएको उनको मूल्यांकन छ ।

समस्या मानसिक

बलात्कारमा संलग्न हुनेहरू कुनै न कुनै मानसिक समस्याबाट गुजि्रने कुँवर बताउँछिन् । 'सानैमा कुनै न कुनै मानसिक पीडाबाट गुजि्रएका व्यक्तिले यस्तो घटना गराएको देखिन्छ,' उनले भनिन्, 'मानसिक रूपमा असर पर्ने त्यस्ता केही घटना आफ्ना बच्चासँग भए तुरुन्तै मनोचिकित्सकसँग सल्लाह गरौं ।'

विभिन्न समस्याबाट गुजि्ररहेकाहरूलाई मनोवैज्ञानिक रूपमा परामर्श दिँदै आएकी उनले बलात्कार गर्ने वा प्रयास गर्नेहरूको मनमा सानैदेखि महिलाप्रति घृणा पैदा हुनुले यस्तो घटना हुने बताइन् । 'सानैमा आमाले छाडेर बेसहारा बनाएका, बाबुले ल्याएकी सौतेनी आमाले कुटपिट गरेका व्यक्तिबाट यस्ता घटना बढी भएको पाइन्छ,' उनले भनिन् ।

त्यसबाहेक कतिपय व्यक्तिहरू सानैमा अरूबाट यौन दुव्र्यवहारको सिकार हँँदासमेत भविष्यमा उनीहरूले पनि यस्तै घटना गर्छन् ।

बलात्कार को-कोबाट ?

१. छरछिमेकी

२. घनिष्ठ व्यक्ति

३. पेसेवर

४. आफन्त

(प्रहरीमा परेका उजुरी र सार्वजनिक भएका घटनाका आधारमा)

कानुनमा के छ ?

१. १० वर्षभन्दा कम उमेरका बालिकालाई करण्ाी गर्नेलाई १० देखि १५ वर्ष जेल

२. १० देखि १४ वर्षसम्मका बालिकालाई करण्ाी गरेमा ८ देखि १२ वर्ष जेल

३. १४ देखि १६ वर्षका बालिका करण्ाीमा ६ देखि १० वर्षसम्म जेल

४. सामूहिक बलात्कारी, अशक्त वा अपांगलाई बलात्कार गर्नेलाई थप ५ वर्ष जेल

(मुलुकी ऐन जबर्जस्ती करणी महल)

कानुनमन्त्रीले प्रस्ताव गरेको 'फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण्ा गर्न बनेको विधेयक' मा बालिकाको दायरा १८ वर्ष पुर्‍याइएको छ । त्यसभन्दा कम उमेरकासँग राजीखुसी यौनसम्बन्ध भए पनि त्यसलाई जबर्जस्ती करणी मानिने प्रस्ताव छ । उनले १६ देखि १८ वर्षकीसँग यौनसम्बन्ध राख्नेलाई ५ देखि ८ वर्षसम्म कैद सजाय राखेका छन् । तर, त्यसमाथिका उमेरकालाई बलात्कार गर्नेलाई ५ देखि ७ वर्ष जेल हुने प्रावधानलाई ४ देखि ७ मा झार्न प्रस्ताव गरेका छन् । सामूहिक बलात्कारी, अशक्त वा अपांगलाई बलात्कार गर्नेलाई थप ५ वर्ष घटाएर ३ बनाउन चाहेका छन् । सजाय बढाउनुपर्नेमा घटाउने प्रस्तावको सर्वत्र विरोध हुँदै आएको छ ।

जोगिने कसरी ?

- मनोविद् करुणा कुँवर

साना बालबालिकालाई अभिभावकले नै यस्ता दुव्र्यवहारबाट बचाउने हो । सानामा हामीलाई हाम्रा अभिभावकले सधैं नचिनेको मान्छेसँग नबोल्नु, दिएको केही नखानु भनेर सिकाए । तर कहिल्यै पनि चिनेको मान्छेसँग कसरी जोगिने भनेर सिकाएनन् । खासमा त्यो सिकाइको अभावमा अहिले बालबालिकामाथि यौन दुव्र्यवहार भइरहेका छन् । आफ्ना बच्चालाई आफन्त बनेर आउनेहरूले कस्तो व्यवहार गर्न सक्छन्, जानकारी गराउनुपर्छ । कसैले माया गर्ने बहानामा संवेदनशील अंग छोयो भने आएर सुनाउन सिकाउनुपर्छ । संवेदनशील अंग भनेको के हो भनेर सजिलो र उनीहरूले बुझ्ने भाषामा बुझाउनुपर्छ । यौन दुव्र्यवहार बालिकामाथि मात्र हुन्छ भन्ने छैन, बालकमाथि समेत हुने गर्छ ।

साना छोरा/छोरी छिमेकीका घरमा खेल्न गएको छ वा छे भन्दैमा ढुक्कसँग बस्नु हुँदैन । ऊ छिमेकीसँग हुँदा नलड्नु वा नहराउनु मात्र ठूलो कुरा होइन, सुरक्षित हुनु जरुरी छ । बेलाबेला के गर्दै छ/छे जस्ता कुराहरू विचार पुर्‍याउनुपर्छ । धेरै समय आफ्नो आँखाबाट टाढा राख्न हुँदैन । प्रहरीको दुईवर्षे तथ्यांकअनुसार १४ बालक पनि यौन दुराचारको सिकार भएका छन् । बालिकाको तुलनामा बालकमाथि भएको दुराचारको उजुरी कमै पर्छन् । यस्ताबाट जोगाउने जिम्मेवारी हाम्रै हो ।

(कुराकानीमा आधारित)

 Published on: 1 March 2015 | Kantipur

Back to list

;