s

वैदेशिक रोजगार विभागका प्रमुख फेरिए

सरकारले विभिन्न मन्त्रालय मातहतका एक दर्जनभन्दा बढी विभाग र निकायका प्रमुख हेरफेर गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको जगेडामा सरुवा गरिएको छ । यही महिना विदेशमा अध्ययन गर्न जान लागेकाले पुष्करलाई जगेडामा सरुवा गरिएको स्रोतले जनायो ।
 
श्रम तथा रोजगार मन्त्रालयले सहसचिव जगन्नाथ देवकोटालाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएको छ । मन्त्रालयले अर्का सहसचिव विश्वनाथ ढकाललाई सीप विकास तालिम केन्द्रको महानिर्देशकमा सरुवा गरेको छ । श्रम मन्त्रालयमा सरुवा र पदस्थापना भएर आएका दुई सहसचिवमध्ये कनिष्ठ देवकोटालाई महत्त्वपूर्ण विभाग र वरिष्ठ ढकाललाई सामान्य कार्यालय मानिने केन्द्रमा सरुवा गरिएको हो । देवकोटा हालै सहसचिव बढुवा भएका हुन् ।
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव काशीराज दाहाललाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । स्थानीय विकास मन्त्रालयले सहसचिव धनबहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा गरेको
छ । कार्यकारी अधिकृत लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएपछि रिक्त पदमा श्रमबाट सरुवा भएका श्रेष्ठलाई लगिएको हो ।
 
Published on: 18 May 2014 | Kantipur

Back to list

;